घडीको सुईले लगभग साढे सात बजाइसकेको थियो। भीमफेदी गाउँपालिका–८ गंगटे गाउँका प्रमेबहादुर ब्लोन हतारमा थिए।
बिहान सबेरै घट्ट पुगेर फर्किएका उनी हातमा एउटा झोला बोकेर सडकमा हिँडिरहेका थिए।
घट्टको भारी बिसाएर श्रीमतिले बनाएको खुवा पुर्याउन पसल हिँडेका थिए, ब्लोन।
आफन्तहरूले बताए अनुसार, अघिपछि कहिल्यै उनी सवारी चढ्न उति चासो गर्दैन थिए।
तर, शनिबार बिहानै ‘हुने हार दैव नटार’ भनेझैँ भयो ब्लोनलाई।
६५ वर्षीय बुढो शरिर बिहानै घट्ट पुगेर फर्कंदा थकित थियो। त्यही बेलामा परबाट ग ३ च ९४७५ नम्बरको कार आइरहेको देखे।
छिटोभन्दा छिटो खुवा पसलमा पुर्याउने ध्याउन्नमा रहेका उनले छिटो पुग्ने सोच बनाए। आफू जानुपर्ने दिशातिरै आइरहेको सो कारलाई रोक्न इसारा गरे।
गाडी रोकियो। गाडीमा दुई युवा सवार थिए।
प्रहरीले दिएको जानकारी अनुसार, उनीहरू काठमाडौँ एयरपोर्टमा आफन्तलाई वैदेशिक रोजगारीका लागि बिदाइ गरेर फर्किएका रहेछन्।
गाडीमा रौतहटको मौलापुर नगरपालिकाका–१७ का विवश साह र सन्दीप साह थिए।
सन्दीपले गाडी चलाइरहेका थिए भने विवश छेवैको सिटमा बसेका थिए।
खुवा पुर्याएर घर फर्कने सोच बनाएका ब्लोन चढेको गाडी बकैया–१२ स्थित कालोपहिरोमा दुर्घटनामा पर्यो।
कारमा सवार तीनमध्ये विवश र प्रेमबहादुरले भने धर्ती छाडिसकेका छन्।
सन्दीपको अहिले हेटौँडास्थित सहकारी अस्पतालमा उपचार भइरहेको छ। प्रहरीका अनुसार, सन्दीपको पनि अवस्था चिन्ताजनक छ।
प्रहरीले उद्धार गरेर ठिंगन स्वास्थ्य चौकीसम्म पुर्याउँदा उनीहरू तीनै जना अचेत थिए।
थप उपचारका लागि हेटौँडा अस्पताल ल्याइयो। तर, विवश र प्रेमबहादुरको ज्यान बच्न सकेन।
उनीहरू दुवैको शव अहिले हेटौँडा अस्पतालमा छ।
अस्पतालमा भेटिएका उनका आफन्त जीतबहादुर ब्लोन भन्छन्, ‘अरु बेला गाडि चढ्नै नमान्ने मान्छे आज दसा लागेरै चढ्नुभएछ!’
यो बाटोमा उति धेरै स्थानीय सार्वजनिक सवारी चल्दैनन्। गंगटेबाट केही मिनेट हिँडेर आइसकेका प्रेमबहादुर विगत ३/४ वर्षदेखि त्यही बाटोमा खुवा बेच्न ओहोरदोहोर गर्थे।
आधा घन्टाको पैदल यात्रामा प्रेमबहादुर खुवा बेच्ने पसल पुग्थे।
‘बिहान घट्ट गएर आएको थकाईले होला, आजै उहाँले हिँड्न अल्छि गर्नुभएछ,’ भतिज नाता पर्ने जीतबहादुर दुःखी हुँदै सुनाउँछन्।
प्रेमबहादुरकी श्रीमती कान्छिमायाले निकै बेरपछि मात्रै खबर पाइन्।
कार भिरबाट खसेको हल्ला त गाउँमा चलेको थियो। तर, आफ्नै कामको सुरुमा रहेकी कान्छिमायाले धेरै सोधीखोजी गरिनन्।
सधैँ पैदलमै पसल जाने श्रीमान् कारमा चढे होलान् भन्ने उनको कल्पनामा समेत थिएन। ‘हेटौंडा जाँदै गरेको कार रैछ, कसलाई के भयो होला?,’ उनको मनमा यत्ति मात्रै थियो।
तर, केहीबेरमा उनले आफ्नै श्रीमान् समेत सोही कारमा रहेको सुनेपछि पत्याउनै सकिनन्।
‘बल्लतल्ल हामीले काका नै हो भन्नेमा काकीलाई विश्वास गरायौँ,’ जीतबहादुरले सुनाए, ‘पहिले त हामीले पनि त्यति ख्याल गरेनौँ।’
घरमा प्रेमबहादुर र कान्छिमाया मात्रै बस्दै आएका थिए।
उनीहरूका तीन छोरी र दुई छोरा छन्। छोराहरू पनि रोजगारीको सिलसिलामा घरबाहिरै छन्।
उनीहरू सबैको बिहे भइसक्यो।
अहिले प्रेमबहादुर र विवशको शव पोस्टमार्टमको प्रक्रियामा छ। आफन्तहरू सोच्दै नसोचेको घटनाको सामना गरिरहेका छन्।
Shares
प्रतिक्रिया