बाजुराका पर्वराज पाण्डेलाई चैत १६ गते एउटा फोन आयो। फोन काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट आएको थियो। ‘तपाईंसँग केही विषयमा सोधपुछ गर्नुछ, झट्ट आउनुस्,’ प्रहरीले भन्यो।
उनी अत्तालिँदै अपराध अनुसन्धान कार्यालय, मीनभवन पुगे।
जब प्रहरीले उनीविरुद्धको आरोप सुनायो, पाण्डे चकित भए। जापानमा अध्ययन र रोजगारीका लागि पठाउने भन्दै करोडौँ ठगी गरेको आरोपमा उनीविरुद्ध उजुरी परेको प्रहरीले बतायो। वैदेशिक रोजगार विभागले पक्राउ गरेर उपस्थित गराउनू भनी दिएको अनुमति पनि देखायो।
पर्वराजले प्रहरी सामु आफ्ना कुरा राख्नै पाएनन्। उनले कुरा राख्न खोज्दा पनि प्रहरीले भन्यो, ‘जे भन्नु छ वैदेशिक रोजगार विभागमै गएर भन्नुस्। हामीलाई पक्राउ गरेर पठाइदिनु भनेको छ हामी त्यहाँ बुझाइदिन्छौँ।’
चैत १६ गते उनलाई वैदेशिक रोजगार विभागमा बुझाइयो। विभागले भोलि उपस्थित गराउनू भन्दै सिधै हिरासतमा पठाइदियो। कलाकार पाण्डे त्यो रात हिरासतमै बसे। भोलिपल्ट सोधखोज हुँदा उनले आफूले कसैलाई ठगी नगरेको बताए।
आफ्नो कन्सल्टेन्सी पनि नरहेको बताएपछि विभागका कर्मचारीले पीडितलाई बोलाएर सोधे। उनीहरूले पनि आफूलाई ठगी गर्ने व्यक्ति अर्कै भएको बताएपछि पर्वराज छुटे।
***
उदयपुरका नारायणबहादुर राई काठमाडौंमा पठाओ मोटरसाइकल चलाउँछन्। पछिल्लो तीन वर्षदेखि उनले यसैगरी गुजारा गर्दै आएका छन्। तर वैदेशिक रोजगार विभागले उनीविरुद्ध करोडौँ ठगी गरेको आरोपमा पक्राउ पुर्जी जारी गर्यो।
प्रहरीले सोधपुछका लागि बोलाएपछि उनी पनि हाजिर भए। उनीविरुद्धको आरोप पनि उही थियो।
पर्वराज र नारायणबहादुरविरुद्ध जापान पठाउने भन्दै २१९ जनालाई ठगी गरेको आरोप थियो। वैदेशिक रोजगार विभाग र काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयमा उजुरी परेपछि उनीहरू प्रहरीको खोजी सूचीमा थिए।
आफ्नो नाममा त्यत्रो कम्पनी अनि यति धेरै मान्छेबाट करोडौँ ठगी गरेको कुरा सुनेर उनीहरू छक्क परे।
प्रहरी कार्यालयमा नारायणबहादुर राई र पर्वतराज पाण्डेले नै ठगी गरेको आरोप थियो। कम्पनी रजिस्टारको कार्यालयमा पनि कन्सल्टेन्सी उनै नारायणबहादुर राईको नाममा दर्ता थियो। त्यति मात्रै होइन, प्रहरीलाई पीडितले उनीहरूकै नामको बैंक खातामा रकम जम्मा गरेको भौचर पनि देखाए।
पीडितले भनेका व्यक्ति र तथ्यांकमा देखिएका नारायणबहादुर उनै थिए। तर आफूले करोडौँ ठगीको आरोप लगाएका नारायणबहादुर पठाओ चलाएको भेट्दा प्रहरी पनि चकित पर्यो।
उनले प्रहरीलाई आफ्नो नागरिकता १५/१६ वर्षपहिले नै हराएको बताए। पठाओ मोटरसाइकल चलाउन थालेको ३ वर्ष भएको र यसैबाट गुजारा गरिरहेको जवाफ दिए। आफ्नो नाममा कुनै पनि कम्पनी नरहेको समेत उनले बताएपछि प्रहरी अनुसन्धान मोडियो।
‘पर्वराज पाण्डे र नारायणबहादुर राईले ठगेको होइन भन्ने पुष्टि भएपछि उनीहरूको नाममा कसैले ठगेको हुनुपर्छ भन्ने निचोडमा पुग्यौँ। पीडितसँग मोबाइल नम्बर मागेर अनुसन्धान गर्दा दुवै व्यक्ति अर्कै रहेको खुल्यो,’ अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीले भने।
अनुसन्धानका क्रममा खुल्यो, नारायणबहादुर राई बनेर ठग्ने व्यक्ति त रामेछापको लिखु तामाकोसी गाउँपालिका ७ का राजन श्रेष्ठ रहेछन्। हाल काठमाडौँको कागेश्वरी मनहरा नगरपालिका ७ बस्ने ३५ वर्षका राजन श्रेष्ठले उदयपुरका नारायणबहादुर राईको नागरिकता भेटेर दुरुपयोग गरेको खुलेको हो। नारायणबहादुरकै नाममा कम्पनी दर्ता गरेको र बैंक खाता पनि त्यही नागरिकताका आधारमा खोलेर ठगी रहेको खुलेको छ।
राजन सञ्चालक रहेको कन्सल्टेन्सीकै कर्मचारी ईश्वरी पाण्डेले पनि पर्वराज पाण्डेको नागरिकता दुरुपयोग गरेर ठगी गरेको खुलेको छ।
झापाको गौरादह नगरपालिका १ घर भई ललितपुरको भैँसेपाटी बस्ने ४६ वर्षका ईश्वरी पाण्डेले पर्वराजको नाममा बैंक खाता खोलेर ठगी गरेको खुलेको छ। राजन श्रेष्ठ नियोनी एजुकेसन कन्सल्टेन्सीका सञ्चालक र पाण्डे कर्मचारी हुन्। उनीहरूलाई पक्राउ गरेर प्रहरीले शुक्रबार सार्वजनिक गरेको छ।
वैदेशिक रोजगार विभागले पक्राउ पुर्जी पठाउनु पहिले नै अपराध अनुसन्धान कार्यालयमा केही पीडितले उजुरी गरिसकेका थिए। निम एजुकेसन कन्सल्टेन्सीका सञ्चालकले नियोनी एजुकेसन कन्सल्टेन्सीविरुद्ध उजुरी दिएका थिए।
उनीहरूले कम्पनी र बैंक खाता अर्कैको नाममा सञ्चालन गरे पनि सबै कारोबार भने आफूले गर्ने गरेका थिए। यसरी उनीहरूले २ सयभन्दा बढी व्यक्तिहरूलाई अर्कै व्यक्तिको नामको खातामा रकम जम्मा गर्न लगाइसकेका थिए। जम्मा भएको रकम एटीएम कार्ड, मोबाइल बैंकिङ र चेकमार्फत निकालेको पाइएको छ।
बैंकले पनि केवाईसी फर्म र नागरिकतामा अलकअलग फोटो भएपनि निश्चित नगरी खाता खोलिदिँदा समस्या भएको प्रहरीको भनाइ छ। यी दुई जनाले दीपबहादुर तामाङ मार्फत १३ जनाबाट ३७ लाख रुपैयाँ लिएको पाइएको छ। सुनिलकुमार नेपाली मार्फत २० जनाको ३२ लाख लिइसकेको पाइएको र वैदेशिक रोजगार विभागमा १०० जनाबाट २ करोड ६८ लाख रुपैयाँ ठगी गरेको उजुरी परेको छ।
पछिल्लो समय राजन श्रेष्ठले आफ्नो खातामा धेरै कारोबार भइसकेको भन्दै ईश्वरी पाण्डेले पर्वराज पाण्डेको नाममा रहेको खातामा रकम जम्मा गर्न लगाएको खुलेको छ।
प्रहरीले राजन श्रेष्ठलाई कागेश्वरी मनहरा नगरपालिका ७ बाट र ईश्वरी पाण्डेलाई काठमाडौँ महानगरपालिका २९ बाट बिहीबार नियन्त्रणमा लिएको छ।
थप कारबाहीका लागि वैदेशिक रोजगार विभागमा पठाइएको अनुसन्धान कार्यालयका प्रवक्ता एसपी रेग्मीले बताए।
Shares
प्रतिक्रिया