आज (आइतबार) राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित बागमती र कोसी प्रदेशका पहाडी भेगमा आंशिक बदली रही देशका बाँकी स्थानमा मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
मौसमविद्का अनुसार आंशिक बदली भनेको सम्बन्धित क्षेत्रको आकाशको २६ देखि ५० प्रतिशतसम्म भागमा बादल लाग्नु र बाँकी भाग सफा रहनु हो भने मुख्यतया सफा भनेको सम्बन्धित क्षेत्रको आकाशको २५ प्रतिशत भागमा मात्र बादल देखिनु बाँकी भाग सफा रहनु हो।
मौसम महाशाखाका अनुसार राति कोसी र गण्डकी प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ। कोसी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपात हुने सम्भावना पनि छ।
साथै कोसी, बागमती, लुम्बिनी, मधेस र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हावाहुरीको सम्भावना पनि छ।
मौसम महाशाखाले आइतबार साँझ ६ बजे आगामी २४ घण्टा (सोमबार साँझ ६ बजेसम्म) का लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ।
जसमा भनिएको छ : कोसी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ। देशको उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना छ। लुम्बिनी, मधेस र कोसी प्रदेशका केही र बाँकी भूभागका थोरै स्थानमा हावाहुरीको सम्भावना रहेकाले त्यस क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।
Shares
प्रतिक्रिया