उनी १० वर्षको बालक छँदा हराएका बुवा २३ वर्षको हुँदा भेटे। आफैँ जन्मिएको देशमा अनागरिक भएर बाँचिरहेका विशाल त्यसपछि नागरिक भए। अर्थात् उनले नागरिकता पाए।
२३ वर्षे जीवनले विशालले थुप्रै हन्डर खेपेका छन्।
‘आमाले छोडेपछि खोसिएको ममताको काख, बाबु हराएपछि गुमेको सहारा, त्यसपछि सडक बालक बनेका विशालले विमल पन्तलाई नभेटेको भए उ कस्तो हुन्थ्यो होला आज?’ सोमबार भएको भेटमा बुवा कुमार मगर निकैबेर भक्किानिइरहे।
यी बाबुछोरा गत साता खोटाङ सदरमुकाम, दिक्तेलमा पनि यसैगरी भक्कानिएर रोएका थिए। छोराको नागरिकता बनाइदिन खोटाङ फर्किंदा कुमारले आफ्नो गाउँ खार्पा बदलिएको पाए। झण्डै २ दशकअघि गाउँ छोडेका उनले आफ्ना दौतरी भेटेनन्। बुवा–आमाको मृत्युपछि रित्तो भएको र स्याहार नपुगेर भत्केको घर निकैबेर नियाले।
‘बोली हुन्थ्यो होला त घरसँगको विछोडको पीडा बलेसीमा बसेर दलिनलाई सुनाउँदो हुँ। त्यसो गर्न मिलेन। मजस्तै एक्लो भएछ घर पनि,’ कुमारले गाउँको सम्झना सुनाए।
खार्पा २ का वडा सचिवले कुमारलाई काठमाडौँको बुढानीलकण्ठमै भेटेका थिए। गाउँमा उनले सहजीकरण गरिदिए। गाउँका मानिस बोलाए। कुमारलाई देखाउँदै गाउँलेलाई प्रश्न गरे, ‘उहाँलाई चिन्नु हुन्छ?’
गाउँलेले भने, ‘किन नचिन्नु यो त लाय मगरको छोरा हो नि।’
लाय मगर कुमारका बुवा। उनी गाउँमा प्रख्यात थिए। उनले गाउँका प्रायःको भारी बोकिदिए। धेरैका खेत जोतिदिए। सकेको सहयोग सबैलाई गरे। केही वर्षअघि उनको पनि पहिरोमा परेर मृत्यु भयो। गाउँले आज पनि उनले लगाएको गुन सम्झिरहन्छन्। गाउँलेको यही सम्झना कुमारका छोराहरूको जन्मदर्ता बनाउन सहयोगी बनिदियो।
खार्पा २ मा पुगेर कुमारले आफ्ना ३ छोराको जन्मदर्ता बनाए। त्यसपछि जिल्ला प्रशासन कार्यालय दिक्तेल झरेका कुमारका बाबुछोराका हृदयमा नमिठा यादहरू पुनः संग्रहित भए। त्यहाँ उनीहरूले हेपिनु पर्यो।
‘यो राज्यले हामीजस्ता निमुखालाई हेर्ने नजर फरक रहेछ। कर्मचारीले गर्ने व्यवहार फरक रहेछ,’ विशाल भन्छन्, ‘हुने खानेहरूलाई नमस्कार गरेर भित्रै लैजान्थे। कर्मचारी नै उनीहरूका फाइल बोकेर दौडन्थे। १ घण्टामा काम सकेर उनीहरू गैहाल्थे। हामी त झ्याल बाहिरबाट पालो कुरेर बस्यो। जवाफ पाउन पनि मुस्किल।’
प्रशासनका कर्मचारीले यी बाबु छोराको बिछोडको कथा पढेका थिए। रिपोर्ट लिन प्रहरी चौकी पस्दै गर्दा विशाललाई प्रहरीले सोधे, ‘तिमी त १३ वर्षपछि बाबुसँग भेट भएको बाबु होइनौ?’
विशालले मुस्कानले जवाफ फर्काए।
तर, कुमारलाई त्यहाँका कर्मचारीले वचन लाए, ‘कसको बच्चा उठाएर ल्यायौ?’
विशाल २ पटक दिक्तेल बजारबाट खार्पा गाउँ धाए। गाउँलेको सिफारिस, नाता प्रमाणित प्रहरीको रिपोर्ट र वडाको सिफारिस बनाए। जिल्ला प्रशासन कार्यालयमा बुझाए। तर, त्यहाँका कर्मचारीले उनको फाइल नै खोलेनन्।
‘कागज पुगेन भन्ने ठाडो जवाफ दिन्थे, हाम्रो फाइल फालिदिन्थे,’ विशालले सम्झिए।
साथमा लिएर गएको पैसा सकियो। विमलले २ पटक काठमाडौँबाट पैसा मगाए। त्यो पनि सकियो। विशालले हरेस खाए। उनले रुँदै बुवालाई भने, ‘हिँड्नु जाऊँ। मेरो नागरिकता नबन्ने भयो। अब जहिले पैसा जम्मा हुन्छ त्यसपछि आउँला।’
कुमार पनि छोरासँगै रोए। पर बसेर हेरिरहेका विमलले सम्झाए, ‘यति लामो बाटो आइयो, यतिका हन्डर खाइसकियो। केही हन्डर अझै खेपौँला, तर नागरिकता बनाएरै जाने हो। पैसाको चिन्ता नगर्नू।’
प्रशासन कर्मचारीसँग विमलको थुप्रै पटक चर्काचर्की पर्यो।
जिल्ला प्रशासन कार्यालयलाई पुग्नेगरी वडाबाट सिफारिस पठाएका वडा सचिव दिपेश पोखरेल, र वडाअध्यक्ष डोलराज बस्नेत तेस्रो पटक वडा कार्यालय पुगेका विशाललाई देखेर छक्क परे। उनीहरूले अब पनि बनाइदिएनन् भने फोन गर्नु भनेर आफ्नो नम्बर दिए। विशालका बाबुछोरा दिक्तेल फर्किए। तर, फेरी ‘कागज पुगेन’ भन्ने वाक्य दोहोरियो। विशालले वडा सचिव पोखरेललाई फोन गरे। पोखरेलले प्रशासन कर्मचारीसँग कुरा गरे। त्यो दिन कार्यालय बन्द हुने बेलामा बल्ल विशालको हातमा नागरिकता पर्यो।
१० वर्षको कलिलो उमेर। आमाको काख र बाबुको साथ एकै पटक गुम्नुको पीडा। मागेर पेट पाल्ने अवस्थामा पुगे विशाल। माग्दामाग्दै बाटोमै भेटिएका हुन् समाजसेवी विमल पन्त। उनी विमलकै छत्रछायामा हुर्किए। उनको परिवारलाई नै आफ्नो परिवार ठाने। सकेको काम गरे। खोटाङ खार्पाका विशाल मगर विमलका सबैभन्दा विश्वासिला पात्र भए। तर, हुर्किएपछि विशालको मन स्वतन्त्र पन्छी जस्तै खुल्ला आकाशमा उड्न चाहन्थ्यो। उनी आफैँ इलम गर्न चाहन्थे। बेपत्ता बाबु र भाइहरूलाई भेट्न चाहन्थे र सँगै बस्न चाहन्थे। उनले उडान भर्न ठिक्क पारेका पखेटा तब काटिन्थे, जब उनको नागरिकता खोजिन्थ्यो।
गत चैतमा उनका बुवा फेला परे। बाटोबाट बिछोडिएका यी बाबु छोराको १३ वर्षपछि बाटोमै मिलन भयो। बाबुसँग भेट भएको १५ दिनपछि नागरिकता बनाउन गाउँ गएका विशालले खानुसम्मको हन्डर खाए। अन्ततः उनको नागरिकता बन्यो।
भन्छन्, ‘अब गाडीको लाइसेन्स बनाउँछु। अंकललाई ट्याक्सी किनिदिन भन्छु। ट्याक्सी चलाउँछु र पैसा कमाउँछु।’
उनलाई त नेपाली फिल्म ‘हामी ३ भाइ’को राजेश हमाल बन्नु छ। भन्छन्, ‘त्यो फिल्ममा राजेश हमालले आफू नपढेर आफ्ना भाइ पढाएको छ। म पनि अब भाइहरूका लागि काम गर्छु। बुवाको लागि काम गर्छु।’
उनका २ भाइ बुढानीलकण्ठस्थित एक आश्रममा बसेर ७ र ८ कक्षामा अध्ययन गरिरहेका छन्।
‘उनीहरू एसएलसीसम्म त्यहीँ बसेर पढून्। त्यतिबेलासम्म म पनि कमाउँछु,’ विशाल भन्छन्, ‘उनीहरूसँग शिक्षा हुन्छ, म सँग सिप छ। त्यसपछि उनीहरूको शिक्षा र मेरो सिप मिसाएर मज्जाको जीवन बाँच्ने हो।’
Shares
प्रतिक्रिया