पानीसँगको उनको नाता नयाँ होइन। खोलानाला त के कुरा? उनी समुद्रमा काम गर्थे। अरब सागरमा पानीजहाजका यात्रामा सायद उनले कयौँको ज्यान जोगाए।
तर, सोमबार कर्णाली नदीसँग उनी हारे। हारे पनि के भन्नु? सुरक्षाका उपाय नअपनाई नदीमा हामफाल्दा त्यहीँ बिलाए।
प्रसंग हो, कैलालीको लम्कीचुहा नगरपालिका–३, चिसापानीका ३० वर्षीय लोकेन्द्र शाहीको।
सम्बन्धित समाचार
लोकेन्द्र सोमबार दिउँसो परिवारसँगै होली मनाइरहेका थिए। त्यहीबेला नजिकै रहेका साथीहरूले होली खेल्न बोलाए। साथीहरूको आग्रह नकार्न नसकेर हुलमा मिसिए।
उनीहरूले गीत बजाएर नाच्दै पानी र गोबर छ्यापाछ्याप गरे। पानीले निर्थुक्क भइसकेका उनीहरू सामूहिक तस्बिर खिच्ने भन्दै कर्णाली पुलतिर गए।
क्षणभरमै एकपछि अर्को गर्दै १७ जना युवक कर्णाली पुलबाट धमाधम नदीमा हाम फाले।
तीमध्ये कतिपयले मदिरा पनि पिएका थिए। चिसापानीस्थित कर्णाली पुलमा तस्बिर खिच्न गएकाहरू पालैपालो नदीमा हाम फालेपछिको भिडिओ भाइरल भइसकेको छ।
यस्तोमा पुलबाट हाम फाल्ने कुनै योजना नरहेको बयान घटनाको पर्सिपल्ट प्रहरीको सम्पर्कमा आएका युवकहरूले दिएका छन्।
हाम फाल्ने १७ जनामध्ये लोकेन्द्र शाही बेपत्ता भएपछि ६ जनालाई सम्पर्कमा ल्याएर प्रहरीले सोधपुछ गरेको थियो।
उनीहरूले कुनै योजनामा नभई लहैलहैमा कर्णालीमा हाम फालेको प्रहरीसमक्ष भनेका छन्।
कर्णालीमा सुरुमा हाम फालेका १५ जना पौडी खेल्दै तैरिएर किनारमा आए। १६ औँ नम्बरमा कर्णालीमा हेलिएका लोकेन्द्र पौडिन नसक्दा डुबे। त्यसपछि हाम फालेका अर्का युवक पनि तैरिएर किनारमा पुग्न सफल भए।
लोकेन्द्र डुबेलगत्तै उद्धारका लागि नजिकैका दुई डुंगामार्फत खोजी गरियो। तर उनी भेटिएनन्। उनको अवस्था अझै अज्ञात छ।
खोजीमा जुटेका स्थानीय र सुरक्षाकर्मीले उनलाई भेटाउन सकेका छैनन्। शाहीको खोजीमा सशस्त्र प्रहरीको गोताखोर टोलीसमेत परिचालन गरिएको छ।
‘हामी खोजीमै लागेका छौँ। तर अहिलेसम्म केही अत्तोपत्तो छैन,’ लम्कीचुहा नगरपालिका–३ का अध्यक्ष लव शाहीले नेपालखबरलाई भने।
लोकेन्द्र कर्णालीमा बिलाएपछि उनको परिवार यतिबेला शोकाकुल छ। लोकेन्द्रको घरमा आमा, श्रीमती र दुई साना छोराछोरी छन्।
लोकेन्द्र चिसापानीमा तरकारी पसल थापेर व्यवसाय गर्दै आएका थिए। त्यसअघि उनी कामको लागि विदेश पनि गएका थिए।
करिब ३ वर्ष दुबई बसेका उनी स्वदेशमै व्यवसाय गर्ने भन्दै फर्केपछि यतै बसेका थिए।
उनी विदेशमा रहँदा ‘सिप लाइफगार्ड’ अर्थात् पानीजहाजमा काम गर्थे। अरब सागरमा काम गरेर फर्किएका लोकेन्द्र रमाइलो गर्दै लहलहैमा साथीसँगै कर्णालीबाट हाम फाल्दा त्यहीँ बिलाए।
छिमेकीका अनुसार लोकेन्द्र पौडी खेल्न सिपालु नै थिए। कर्णाली पुलबाट हाम फाल्दा शरीरमा पानीले चोट लागेपछि पौडिन नसकेर डुबेको अनुमान प्रत्यक्षदर्शीले गरेका छन्।
भिडिओ
Shares
प्रतिक्रिया