विभेदका सबै रूप ठूला हुँदैनन्। कुनै–कुनै विभेद त यति साना र सामान्य हुन्छन् कि ती विभेदजस्तै लाग्दैनन्। तर, देखिने ठुल्ठूला विभेदले भन्दा नदेखिने स–साना विभेदले झन् धेरै तरंगित बनाइदिन्छ सहनेको हृदय। त्यही तरंग केही आँसु बनेर झर्छन्, केही गीत–कविता बनेर पोखिन्छन्। यसैगरी पोखिएको कविता हो– डा. रजनी ढकालको ‘सारी लगाउँदैमा पढाउन आउँछ?’
रजनीले हुर्किंदै गर्दा परिवारबाट भेदभाव खेप्नु परेन। उनका बुवाले छोरा र छोरीमा कहिले फरक गरेनन्। उनी आफ्ना सबै सन्तान सक्षम भएको सपना देख्थे। ‘छोरीलाई धेरै पढाएर के गर्छस्?’ भन्ने समाजमा मानिहरूका प्रश्नको सामना गरे। छोरीको शैक्षिक यात्राको बाधक बनेनन्, कसैलाई बन्न दिएनन्।
उच्च शिक्षाका लागि २०४५ सालमै रजनीका बुवाले स्याङ्जाबाट काठमाडौँ पठाए। रजनी आज पनि सम्झना गर्छिन्, ‘त्यो समय जवान छोरीलाई पढ्नकै लागि घरबाट बिदाइ गरेर पठाउने परिवार मुस्किलले भेटिन्थे। म त्यही मुस्किलले भेटिने परिवारको सदस्य हुँ।’
आमाको हृदयमा प्रेमको रुप धारण गरेर बसेको विभेद रजनी सुनिरहन्थिन्। आमा भन्थिन्, ‘तिमी छोरी हौ, यो गर, त्यो नगर।’ आमाको यो, त्यो नगरमा रजनीले पनि निकै वर्ष प्रेम नै देखिन्। तर, यो उनकी आमाको होइन, उनले बाँचेको समयको सोच थियो। यो बुझ्न रजनीलाई थुप्रै वर्ष लाग्यो। जब घर छोडेर काठमाडौँ आइन्, विभेद भोग्नेहरूका कथा देख्थिन्। ती कथाले कताकता घोचिरहेकै हुन्थ्यो रजनीको मन।
गएको पुस १३ गते रजनी त्रिभुवन विश्वविद्यालय, नेपाली केन्द्रीय विभागको चौरमा बसिरहेकी थिइन्। त्यतिबेला रजनी लगायत महिला प्राध्यापकहरू शान्तिपूर्ण आन्दोलनमा थिए। विभागमा रहेका पुरुष सहकर्मीबाट महिला सहकर्मीले खेप्नु परेको विभेद र हिंसा विरुद्ध आन्दोलन गरिरहेकी रजनीलाई पीएचडी गर्दै गरेकी विद्यार्थीले आएर भनिन्, ‘म्याम तपाईंलाई चिटिक्क पारेर सारी लगाउँदैमा पढाउन जान्ने हुँदैन भनेर टिप्पणी गर्छन्।’ त्यसपछि रजनीका आँखाअगाडि आए समाजमा उनले देखेका हरेक महिलाको चित्र।
‘म सचेत थिएँ। मेरो परिवार सचेत छ। तर विभेद यसरी आन्तरिककरण भएको हुने रहेछ कमजोरलाई दमन नै गर्नुपर्छ भन्ने खालको भाष्य निर्माण भएको छ। त्रिविजस्तो प्राज्ञिक थलोमा त यस्तो छ, अन्त झन् कस्तो होला?’ उनी भन्छिन्, ‘त्यो टिप्पणी मेरै विभागका सरले गर्नु भएको थियो। हामी एउटै विषयका प्राध्यापक हौँ। म क्षमतामा उहाँभन्दा कहीँ कमजोर छु भन्ने लाग्दैन। त्यसपछि मलाई बोल्नु पर्छ भन्ने लाग्यो।’
त्यो दिन रजनी आमाको सारी लगाएर गएकी थिइन्। सहकर्मी प्राध्यापकको टिप्पणी सुनेपछि आफैँले लगाएको सारी हेरिन्। सबै हिसाबले अब्बल आफ्नो क्षमताको त्यो नजरअन्दाजलाई सानो मान्नै सकिनन्। त्यही सारीमा अनपढ आमाले कति विभेद भोगिन् होला? यो प्रश्नले उनको छाती चिमोट्यो।
रजनीले आफ्ना विद्यार्थीलाई कक्षा कोठामै सुनाइन् आफ्नो क्षमतामाथिको प्रश्न। थुप्रै विद्यार्थीले आक्रोश र आँसुसहित आफूहरूले उनै शिक्षकबाट सुनेको यस्तै दुर्वचन सुनाए। ती टिप्पणी अझ ज्यादा भद्दा थिए। आफूमाथिको प्रश्नले भन्दा झन् गहिरोसँग समात्यो विद्यार्थीको संवेदनाले रजनीलाई। त्यसपछि जन्मिएको कविता हो यो।
भिडिओमा हेर्नुहोस्:
२०५७ सालमा पद्मकन्या कलेजबाट शिक्षण सुरु गरेकी रजनी २०६७ देखि त्रिभुवन विश्वविद्यालयमा प्राध्यापनरत छिन्। उनलाई कक्षाकोठामा शिक्षण गर्न पहिरनले भूमिका खेल्छ भन्ने कहिल्यै लागेन। नालापानीको युद्धमा लडेका महिलाको साहसको कथा पढाएर शिक्षक भएका आफ्नै सहकर्मीले पहिरनलाई लिएर क्षमतामाथि गरेको अविश्वास अरुलाई सामान्य लाग्थ्यो होला। रजनीलाई सामान्य लागेन। उनले सोचेकी पनि हुन्, सहेर पचाइदिऊँ। तर, सकिनन्।
भन्छिन्, ‘एकातिर मलाई आमा माथि गरिएको विभेद जस्तो लाग्यो। अर्कोतिर सारी लगाएर विश्वमा कीर्तिमान कायम गरेका थुप्रै महिलाका आकृतिहरूले लखेटिरहे। प्राज्ञिक थलोमा भएको यति ठूलो विभेदलाई सहेर अर्को पुस्ताका लागि पनि सहनशीलताको पाठ सिकाउने छु्ट मलाई छैन भन्ने भयो। त्यही रापले पोलिरहेपछि कविता लेखेकी हुँ।’
त्रिवि नेपाली केन्द्रीय विभागको बाहिर, जहाँ उनले त्यो विभेदपूर्ण शब्द सुन्नु परेको थियो, त्यहीँ बसेर रजनी सम्झना गरिरहेकी छिन् कविताको गर्भकथा।
‘हामी जत्तिको चेतनशील महिलाले यस्ता कुरा सहेर बस्ने हो भने समाजमा कमजोर महिलाहरूलाई के हिम्मत मिल्ला? उनीहरूलाई आफ्नो भोगाइ भनिदियो भने बुझ्न र बोल्न सजिलो होला भन्ने पनि लाग्यो,’ उनले सुनाइन्, ‘अर्को, सामान्य रुपमा गरिने त्यस्ता खालका टिकाटिप्पणीले महिलाको मनमा कतिसम्म चोट पुग्छ भन्ने कुरा पुरुषहरूलाई पनि बुझाउनु जरुरी थियो। महिलाको शरीर, पहिरनलाई लिएर सिधा टिप्पणी गर्नेहरूलाई सचेत गराउनु थियो। हामी त कहिल्यै पुरुषको पहिरन र शरीरलाई लिएर सीधा टिप्पणी गरिरहेका हुँदैनौँ। उनीहरूले चाहिँ हाम्रो पहिरनमाथिको स्वतन्त्रता किन खोस्नु प¥यो? पहिरनलाई लिएर किन क्षमता माथि प्रश्न गर्नु प¥यो?’
अहिले रजनीको उक्त कविता निकै लोकप्रिय भएको छ। कविताले महिलाको क्षमतामाथि बारम्बार गरिने प्रश्नबारे बहस समेत गराएको छ। सबैतिरबाट थुप्रो प्रतिक्रिया पाएको यो कविता उनै सहकर्मी शिक्षकले पढे वा पढेनन्, रजनीलाई थाहा छैन।
‘मैले विभेद गर्ने नाम त तोकेको छैन। तोक्न पनि चाहन्नँ। तर, उहाँलाई त थाहा हुन्छ त्यो मान्छे मै हुँ भनेर। उहाँबाट प्रतिक्रिया चाहिँ पाएकी छैन,’ उनले भनिन्।
नेपाली र मानवशास्त्रमा स्नातकोत्तर रजनीले नेपालीमै विद्यावारिधि गरेकी छिन्। हाल उनी त्रिभुवन विश्वविद्यालय, नेपाली केन्द्रीय विभागमा सह–प्राध्यापक छिन्।
यस्तो छ रजनीको उक्त कविता :
सारी लगाउँदैमा पढाउन आउँछ?
सारीकै फेरबाट खसेर
सारीकै आँचलमा हुर्केर
दम्भ र अभिमानको टोपी मिलाउँदै
कुशासनको कोट भिरेर
रुढ सत्ता कुर्लिन्छ
‘सारी लगाउँदैमा पढाउन आउँछ?’
तिमीझैँ कक्षाकोठाभित्र
दमनको पदचाप पड्काउँदै
अहङ्कारको औँलो ठड्याउँदै
वैयक्तिक रिसरागका पागलपन गाउँदैनौँ हामी
वर्चस्वको हतियारले काट्दैनौँ
विद्यार्थीका सिर्जनशीलता
र
भाषणमा बाल्दैनौँ हीनताको क्रोधाग्नि
हामी त बजाइरहन्छौँ
कर्मको सङ्गीत र चेतनाको महागान
अनि घन्काइरहन्छौँ ज्ञानको सारेगम
हो, महोदय
मजाले आउँछ हामीलाई
सारी लगाएरै पढाउन
सारी लगाएरै गाडी चलाउन
साइकल, स्कुटी र बाइक गुडाउन
अनि सारी लगाएरै प्लेन र हेली उडाउन
सारी लगाएरै प्रेम गर्न अनि सारी लगाएर नेतृत्व गर्न
सारी लगाएर रणभूमिमा उभिएका हौँ
सारी लगाएरै उच्च शिक्षा लिएका हौँ
सारी लगाएरै नासाको वैज्ञानिक पनि बनेका हौँ
मेरो शरीर मेरो चयन
मेरो पहिरन मेरै पहिचान
होसियार महोदय
नगर अभिमान
हामी सारी लगाएरै
लगाउन सक्छौँ तिमीलाई ठेगान!
Shares
प्रतिक्रिया