हुन्डीको गिरोहले एकै वर्षमा साढे २ खर्बको कारोबार गरेको भेटिएको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले ५ जनालाई पक्राउ गरेर अनुसन्धान गर्दा गिरोहमा १७ जना रहेको खुलेको हो। जसमा भारतीय व्यापारीदेखि अमेरिकामा बस्ने नेपालीसम्म संलग्न रहेको पाइएको छ।
उनीहरुले सन् २०२२ देखि २०२३ सम्ममा २ खर्ब ४६ अर्ब ४ करोड २५ लाख ८ हजार ७५४ रुपैयाँको कारोबार गरेको प्रमाण सीआईबीले फेला पारेको हो।
सीआईबीको अनुसन्धानपछि १७ जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर भएको छ। आइतबार दायर भएको मुद्दामा जिल्ला अदालत काठमाडौंका न्यायाधीश दुर्गाप्रसाद खनालको इजलासमा थुनछेक आदेशका लागि सुनुवाइ भइरहेको छ।
यो गिरोहमा मुख्य व्यक्ति रुपेश श्रेष्ठ रहेको खुलेको छ। उनकै घरबाट हुन्डी कारोबार हुने गरेको पाइएको छ। उनको घरबाट सीआईबीले ८९ लाख ६९ हजार नेपाली रुपैयाँ बरामद गरेको थियो। यस्तै अमेरिकी डलर ७ हजार २६ र पैसा गन्ने मेसिन पनि फेला परेको थियो।
यस मुद्दामा काठमाडौँ बागबजारका ४८ वर्षीय श्रेष्ठका साथै व्यवसायी पवनकुमार अग्रवालका छोरा थापाथलीका ३५ वर्षीय आशिष अग्रवाललाई पनि अभियुक्त बनाइएको छ।
बाग्लुङ घर भई हाल काठमाडौंको सामाखुसी बस्ने ४८ वर्षीय मीनबहादुर जीसी, हेटौंडा घर भई काठमाडौंको नयाँबजार बस्ने ४९ वर्षीय कुमार परियार र झापाको गौरादह घर भई हाल काठमाडौंको जडीबुटी बस्ने ४५ वर्षीय झनिन्द्रप्रसाद खतिवडालाई पक्राउ गरी अदालतमा पेस गरिएको छ।
सोमबारदेखि नै उनीहरुको जिल्ला अदालतमा बकपत्र गराई थुनछेक बहस भइरहेको छ।
यही मुद्दाका १२ जना भने फरार छन्। रुपेशका भाइ हाल अमेरिका बस्ने ४४ वर्षीय दिपेश श्रेष्ठ, अमेरिका राहदानी बाहक ४२ वर्षीय अंशुल श्रेष्ठविरुद्ध पनि मुद्दा दायर भएको छ।
यस्तै बागबजारकी ४५ वर्षीया रचना शर्मा, काठमाडौंको तार्केश्वर बस्ने २७ वर्षीय शरद भट्टराई, धादिङको गल्छीका २५ वर्षीय वीरेन्द्र मगर, काठमाडौंकै सिल्भर सिटी अपार्टमेन्टमा बस्ने एएमडी इन्टरनेसनलका सञ्चालक विमल पोदार भने फरार छन्।
सिन्धुलीको कमलामाई नगरपालिका घर भई काठमाडौं बस्ने ४६ वर्षीय ओमकुमार श्रेष्ठ, स्याङ्जाको पुतलीबजार घर भई हाल सामाखुसी बस्ने ४० वर्षीय लिपक शर्मा, रामेछाप घर भई हाल काठमाडौं बस्ने वङदेन फुन्सोक लामा, नवलपुरको देवचुली घर भई हाल काठमाडौं गुर्जुधारा बस्ने ६९ वर्षीय गोबिन्दप्रसाद श्रेष्ठ र रामेछाप घर भई हाल कीर्तिपुर बस्ने ५३ वर्षीय रुदे तामाङविरुद्ध पनि मुद्दा दायर भएको छ। तर उनीहरु १२ जना फरार छन्।
पक्राउ परेका रुपेशले आफूले अमेरिकामा बस्ने भाइ दीपेश श्रेष्ठ र भान्जा आयुष श्रेष्ठको ग्यास स्टेसनमा काम गर्ने नेपालीको तलबवापतको रकम नेपालमा रहेका आफन्तलाई भुक्तानी गर्ने गरेको बताएका छन्।
एक वर्ष अगाडिदेखि यो कारोबार गर्न थालेको र पैसा गन्ने टेलर मेसिन कन्सल्टेन्सी सञ्चालन गर्दा किनेको बताएका छन्। रुपेशले हुन्डीमार्फत् भुक्तानी दिएको रेकर्ड भएको स्वीकार गरेका छन्।
उनीहरुले अमेरिकामा रहेका नेपालीलाई लक्षित गरेर अमेरिकीसँग मिलेर त्यहाँ रहेका नेपालीलाई डलर दिने र नेपालमा नेपाली रुपैयाँ कारोबार गर्ने गरेको पाइएको छ।
उनीहरुले हुन्डी तथा क्रिप्टो करेन्सीको कारोबार गरी आपराधिक कार्यमार्फत् आर्थिक लाभ प्राप्त गर्न संगठित रुपमा अपराध गरेको आरोप छ। उनीहरुले अपराध गर्नका लागि गोप्य रुपमा पेसेवर आपराधिक समूहका सदस्यलाई समेत परिचालन गरेको सीआईबीको निष्कर्ष छ।
अमेरिकामा रहेका दीपेश श्रेष्ठ, अंशुल श्रेष्ठ समेतले अमेरिकामा रहेका नेपालीहरुबाट नेपालमा रकम पठाउनका लागि अमेरिकी डलरमा क्यास एपमार्फत रकम संकलन गरेको खुलेको छ।
यसरी संकलन भएको रकम नेपालको बैंकिङ प्रणालीभन्दा बाहिरबाट अवैध रुपमा हुन्डीमार्फत् भुक्तानी दिई नेपालमा विदेशी मुद्राको आम्दानीलाई रोक लगाएको, विदेशी मुद्राको सञ्चितिमा प्रभाव पारी देशको अर्थ व्यवस्थालाई प्रतिकूल प्रभाव पार्ने कार्य गरेको आरोप छ।
अमेरिकादेखि नेपाल र नेपालबाट भारतसम्म सञ्जाल तथा संगठन विस्तार गरी विदेशी विनिमयको कारोबार गरेको आरोप उनीहरुमाथि छ।
उनीहरुविरुद्ध राजस्वमा हानी पुर्याई राष्ट्र बैंक ऐन, २०५८ को दफा ९५ सम्बन्धी कसुर तथा संगठित अपराध निवारण ऐन, २०७० मा परिभाषित कसुरमा मुद्दा चलाइएको छ।
रुपेश श्रेष्ठको घरबाट विभिन्न व्यक्तिको नामका ६६ वटा चेकसमेत बरामद भएका थिए। रुपेशको घरबाट बरामद भएको एउटा फाइलमा १ अर्व ९८ करोड ५५ लाख ९५ हजार ९२७ रुपैयाको कारोबार भएको देखिएको थियो।
फाइलमा विभिन्न व्यक्तिसँग ९ सय ८९ पटक कारोबार गरेको उल्लेख छ।
यस्तै एक वर्षमा २७ करोड ५५ लाख ६० हजार रुपैयाँको कारोबार भएको अर्को अभिलेख पनि बरामद भएको छ। जस सय मा २६५ पटक कारोबार गरेको देखिएको छ।
श्रेष्ठको घरबाट बरामद एक रजिस्टरमा २ अर्ब २६ करोड ११ लाख ५६ हजार ८८३ अवैध हुन्डीको कारोबार भएको देखिएको छ।
मोबाइल तथा ल्यापटप परीक्षणमा पनि क्रिप्टो तथा हुन्डीको कारोबार गरेको फेला परेको छ।
प्रहरीले मुद्दासँगै क्रिप्टो र हुन्डीको कारोबार गरेका प्रमाण पनि अदालतमा पेस गरेको छ। अब थुनछेक बहसपछि ५ जनालाई पुर्पक्षका लागि थुनामा राख्ने वा थुनाबाहिरै रहेर मुद्दा लड्न पाउने भन्ने टुंगो लाग्नेछ।
Shares
प्रतिक्रिया