‘ठूलो भएपछि के बन्छौ बाबु?’
सानो छँदा उनलाई आफन्त प्रश्न गर्थे। उनी केही नसोची जवाफ दिन्थे, ‘पाइलट बन्छु, जहाज उडाउँछु।’
अहिले उनी जीवनको मध्यतिर आइपुगेका छन्। घरीघरी आफ्नै सपना सम्झिन्छन। आफूले बिराएको बाटो सम्झिन्छन्। बिराएको बाटोले बिगारेको जीवनको लय सम्झिएर सुस्केरा हाल्छन्।
यसैसाता काठमाडौँको बुद्धनगरमा भेटिएका कृष्ण गुरुङले भने, ‘सपना थियो जहाज उडाउने तर बुबाको सम्पत्ति उडाएँ, आमाको सपना उडाएँ, श्रीमतीको विश्वास र आफ्नै जीवनको सहज बाटो उडाएँ। हिजोआज ती यावत कुरा फेरि जोड्ने संघर्षमा छु।’
उनका बुवा नेपाली सेनाका जागिरे। घरमा नियम कडा थियो। घरगृहस्थी सम्हालेर बसे पनि आमा छोराको सपनाका लागि श्रीमानलाई मनाइरहन्थिन्। काठमाडौँका रैथाने कृष्णको परिवारलाई छोराको सपनामा सम्झौता गर्नु पर्ने ठाउँ पनि थिए। स्कुल तहको पढाइमा कृष्ण अब्बल थिए। काठमाडौँकै ज्ञानकुञ्ज स्कुलमा पढेका उनी अधिकांश कक्षामा दोस्रो हुन्थे।
आफ्नो स्कुल जीवन सम्झँदै उनी भन्छन्, ‘रिजल्टको दिन सरलाई पास–फेल होइन, म प्रथम भएँ कि भइनँ भनेर प्रश्न गर्थेँ। सरले ‘अलिकति मेहनत पुगेनछ केटा’ भन्नुहुन्थ्यो। म रिजल्ट नबोकी घर जान्थेँ र बुवालाई माथिल्लो क्लासको किताब किनिदिन भन्थेँ।’
उनको यो आत्मविश्वास १२ कक्षा पास गर्दासम्म कायम थियो।
घरमा सैनिक अफिसर बुवाको रवाफ हेर्दै हुर्किएका कृष्णको सपना पनि फेरियो। उनी बुवाकै बाटोमा हिँड्न चाहन्थे। छोराले आफ्नै बाटो पछ्याएकोमा उनका बुवा पनि खुसी थिए। २०५७ सालमा कृष्ण सेकेन्ड लेफ्टिनेन्टमा भिडे। अन्तिम अन्तर्वार्तामा असफल भए।
त्यबेलासम्म उनलाई कुनै पनि लत थिएन। उनीसँग असफल हुनुको अनुभव पनि थिएन। जीवनको एउटै असफलताले उनलाई कुलतको बाटोमा हिँडायो। सुरुमा उनले घरेलु मदिरा (छ्याङ्) खाएका थिए। त्यसबेला उनलाई कसैले केही भनेन। बीए पढ्दा–पढ्दै प्रेम विवाह गरे। श्रीमती बी एन्ड बी अस्पतालकी जागिरे। कृष्णलाई उनका बुवाले किराना पसल थापिदिए। तर, कृष्ण रक्सीको लतमा फसे।
अन्तिम समयमा सेकन्ड लेफ्टिनेन्टमा पाएको असफलताले कृष्णलाई कुलततिर धकेलिरह्यो। उनको संगत पनि त्यस्तै साथीसँग भयो। ‘हुन त मान्छे आफ्नै सोचले बिग्रन्छ। तैपनि अरुलाई दोष लगाएर उम्कने चलन छ। म पनि गलत संगतमा फसेँ। सुरुमा साथीहरुले सित्तैमा रक्सी ख्वाउँथे। लतमा फसेपछि निस्कन गाह्रो हुनेरहेछ,’ कृष्णले सुनाए।
रक्सी खानुलाई सुरुमा उनको परिवार र छिमेकले पनि ठूलो समस्या ठानेन। हातमा पैसा भएपछि रक्सी किन्न सहजै पाइने। यो सहजताले उनको रक्सी सेवनलाई लतमा बदल्यो। उनी पसलमा पस्थे, रक्सी खान्थे र दिनभरि पसल बन्द गरेर सुतिदिन्थे। पसलमा आउनेलाई उधारो दिन्थे, मान्छे बिर्सिन्थे। राति अबेर कसैले सम्हाल्न नसक्नेगरी घर फर्किन्थे। आमा बुवाले सम्झाउन खोज्दा पनि उनी जवाफ दिन्थे, ‘रक्सी खाएको त हो, ड्रग्स खाएको होइन नि!’
उनको यही लतका कारण पसल डुब्यो। सामान बेचेर मुनाफा निकाल्नु पर्ने, उल्टो ऋण लाग्यो। उनी सुध्रने छाँट नदेखेपछि दाजुले साथ छोडे। भएको घर अंश लगाउँदा टुक्रियो। टुक्रिएको घर पनि ऋण तिर्दा सकियो। काठमाडौँका खानदानी उनको परिवार एकाएक डेरामा पुग्यो।
श्रीमतीले उनलाई रक्सीको लतबाट निकाल्ने थुप्रै प्रयत्न गरिन्। भनिएका र गर्दा हुने सबै घरेलु उपचार गरिन्। श्रीमानलाई समय दिन भन्दै जागिर छोडिन्। उनको केही लागेन। अन्ततः काखे छोरो च्यापेर श्रीमतीले डिभोर्स गरिन्।
कृष्ण बेलाबेला रक्सी छोड्ने अठोट त गर्थे। तर, नखाएको दिन छारेरोग लागेजस्तै गरी काम्थे। उनलाई पाँच जनाले पनि सम्हाल्न सक्दैनथ्यो। उनकी आमा बिगार परेको आशंकामा रक्सी फुकेर ख्वाउँथिन्। कृष्णलाई झन् रमाइलो लाग्थ्यो। कृष्णको अवस्थाले बिस्तारै उनका आफन्त घर आउन छाडे। उनकी आमा आफ्नाका अगाडि शिर झुकाएर हिँड्थिन। तर, कृष्णलाई यी सब कुराले छुँदैनथ्यो। उनी ब्युँझिएदेखि ननिदाएसम्म रक्सीको नसामा डुबेरै बस्थे।
उनी एकदिन बिहानै रक्सी खाएर पसलमा लडिरहेका थिए। आमाले बुवा बिरामी हुनु भयो भन्दै कपडा लगाउन भनिन्। त्यसपछि सुधारकेन्द्रका ५/६ जनाले समातेर धुलिखेल पुर्याए। सुरुका केही दिन त त्यहाँ उनले अलिअलि रक्सी खान पाए। पछि रक्सीको मात्रा कम गरियो। उनले धुलिखेलको होप फाउन्डेसनमा ३ महिना बिताए।
उनको जीवनको सबैभन्दा कष्टकर समय नै यही थियो। तर, उनलाई थाहा थियो त्यहाँबाट भाग्ने सम्भावना छैन। त्यसैले सकेसम्म सुधो बनेर बसे।
‘मनमा भने इगो लिएर बसेको थिएँ। यहाँबाट बाहिर निस्कन त पाउँ, यिनीहरुलाई देखाउँछु भन्ने मात्रै लाग्थ्यो,’ कृष्ण नोस्टाल्जिक बने।
३ महिनाको कोर्स पुरा गरेपछि आमा रिह्याब सेन्टरमा पुगिन्। घर लिएर आइन्। घर आइपुग्नासाथ कृष्णको उही दैनिकी सुरु भयो। आमाले फेरि समातेर रिह्याब सेन्टर पठाइन्। यसपटक उनी १८ महिना सुधार केन्द्रमा बसे। श्रीमती सम्झिए, छोरा सम्झिए, आमाबुवाको गिरेको साख सम्झिए। त्यसपछि बल्ल उनी आफैँले अठोट गरे, ‘म यो लतबाट बाहिर निस्कन्छु।’
आफैँ बसेको सुधार केन्द्रमा काम गर्न थाले। सुधार केन्द्रमा आउने अरुलाई काउन्सिलिङ दिन सुरु गरे।
रक्सीको लतमा फसेर सुधार केन्द्र पुगेका कृष्णले त्यहीँ जागिर सुरु गरे। झण्डै १४ वर्ष काठमाडौँका सुधारकेन्द्रमा काउन्सिलरका रुपमा बिताए। यी वर्षहरुमा उनले थुप्रै खाले मानिसलाई भेटे। देशका मन्त्री तथा धनाढ्यका छोराछोरीको अवस्था देखे। उनलाई लाग्यो, ‘गरिखानेका छोराछोरी भन्दा हुनेखानेका छोराछोरी धेरैखाले लतमा फस्दा रहेछन्।’
त्यसपछि बल्ल कृष्णले थाहा पाए घरमा बुवाको कडा अनुशासन। असफलतामा गर्न सकिनस् भन्ने प्रश्न, चाहेर पनि नजिक हुन नसकेका बुवासँगको साथले उनलाई दुर्व्यसनमा पुर्याएको रहेछ। यति बुझेपछि कृष्णले सुधार केन्द्रको जागिर छोड्ने र परिवारलाई समय दिने योजना बुने।
छोरो रक्सीको लतबाट फर्किएर घर पुग्दा उनका बुवाको मृत्यु भैसकेको थियो। आमा मात्रै उनको साथमा थिइन््। बाबु सुध्रिएपछि कृष्णका छोराले पनि ‘म बुवासँग बस्छु’ भने। कृष्णले क्याफे खोले। क्याफेका भित्ताभरि प्रेरक भनाइ लेखेका छन्। आफ्नो क्याफेमा आउने नयाँ मानिसलाई रक्सीको लत र परिवारको बिचल्लीको कथा सुनाउँछन्। युवा पुस्तालाई अझै बढी सम्झाउँछन्।
सुधारकेन्द्र छोडे पनि कृष्णले काउन्सिलिङ गर्न भने छोडेका छैनन्।
Shares
प्रतिक्रिया