छोराको उपचार गर्न हिँडेका रुकुमका रामबहादुर बोहोरा काठमाडौँमा लुटिएका छन्। उनी गत सोमबार मात्रै रुकुमबाट काठमाडौँ आएका हुन्। लामो समयदेखि बिरामी छोराको उपचारका लागि भनेर ल्याएको सबै रकम चोरी भएपछि अहिले काठमाडौँको गोंगबुमा अलपत्र परेका छन्।
मंगलबार बिहान गोंगबुबाट टिचिङ अस्पताल आउँदै गर्दा उनको पैसा चोरी भैसकेको थियो। तर रामबहादुरले चोरी भएको नै थाहा पाएनन्। भन्छन्, ‘अस्पतालमा टिकट काट्न लाइनमा बसेको थिएँ। आफ्नो पालो आएपछि टिकटको पैसा तिर्न खल्तीमा हात हाल्दा पर्स थिएन।’
त्यसपछि छोराको उपचारका लागि आएका रामबहादुर लाइन छोडेर बाहिर निस्किए। उनलाई सुरुमा त आफू बसेको होटलको कोठामै पो पैसा छुट्यो कि भन्ने लाग्यो। होटलमा फोन गरे। तर, पैसा थिएन। गोंगबुमा चिनेको एकजनाको होटल थियो। अहिले उनी त्यहीँ गएर बसेका छन्।
रामबहादुरका ४ वर्षे छोरा वर्षदिनको हुँदैदेखि बिरामी हुन थाले। उनको घाँटी, जिब्रो तथा ओठमा घाउ आएको छ। रामबहादुरले छोराको उपचारमा आफूले परदेश बसेर कमाएको सबै पैसा सकिसके। तर, रोग भने पत्ता लाग्न सकेको छैन।
भन्छन्, ‘सुरुमा त गाउँमै उपचार गरेँ। चितवन पनि लगेँ। अघिल्लो वर्ष सिकिस्तै भयो। इन्डिया लिएर गएको थिएँ। आफन्तले फेसबुकमा श्रद्धाञ्जली लेखेर हालिदिए। म झण्डै उतै मरेको थिएँ। अहिले मर्नु न बाँच्नु भएर बसेको छु।’
रुकुम पश्चिम चौरजहारी १२ का रामबहादुरको घर कात्तिक १७ गते गएको भूकम्पमा भत्कियो। त्यही घर बनाउन भनेर सरकारले राहतस्वरुप दिएको पैसा बोकेर रामबहादुर काठमाडौँ आएका थिए। त्यही पैसा पनि चोरी भएपछि उनी अहिले सहयोगको याचना गरिरहेका छन्। उनलाई थाहा छ, चोरी भएको पैसा चोेरले फिर्ता दिँदैन। तैपनि मान्छेमा मानवता छ कि भन्ने आश भने बाँकी रहेको बताउँछन्।
भनछन्, ‘म यो पल कहिल्यै बिर्सन सक्दिनँ। ओत लाग्ने छानो छैन। शिरको छानोभन्दा छोराको पीरले घर बनाउन आएको २० हजार रुपैयाँ लिएर मेरो बाबुको उपचारका लागि आएको थिएँ। छोराको अवस्था देखेर मेरो मन भक्कानिएर आउँछ। कतैबाट कसैले मेरो पैसा फिर्ता गर्न आउँछ कि भन्ने आश लागिरहन्छ।’
रामबहादुरका ३ छोरी छन्। ३ छोरीपछि जन्मिएका उनका छोरा सानैबाट रोगी भए। रामबहादुरले विदेश गएर केही पैसा कमाएका थिए। सानो घर पनि बनाएका थिए। भूकम्पले घर पनि भत्कायो। अलिअलि भएको पैसा छोराको उपचारमै सकियो। गाउँमा उनको मनग्य खेतीपाती पनि छैन। गाउँकै जनसेवा आधारभूत विद्यालय जुम्ली पोखरीमा कार्यालय सहायकको काम गरेर जीवन गुजारा गरिरहेका रामबहादुर यसै साता छोरालाई रोगले च्यापेपछि काठमाडौं आएका हुन्। उपचारका लागि ल्याएको सबै रकम हराएपछि उनी घर फर्किन पनि पाएका छैनन्।
उनलाई लामो बाटो काठमाडौँ आइसकेपछि सकेसम्म छोराको उपचार गरेर मात्रै रुकुम फर्किन मन छ। तर साथमा एक रुपैयाँ पनि छैन। उनको न कुनै पहुँच छ, न कसैलाई चिनेका छन्। काठमाडौंमा रामबहादुरका केही दिन आश्रय दिने आफन्त समेत छैनन्। छोराको उपचारमा हिँडेका रामबहादुर बाटोमै लुटिएको पोस्ट सामाजिक सञ्जालमा भेटेपछि नेपालखबरले उनलाई सम्पर्क गरेको थियो।
फोनमा उनले भक्कानिँदै भने, ‘म जस्तो गरिब बाबुको २० हजारले कसैको जिन्दगी बन्दैन। त्यो पैसा चोरी नभएको भए अहिलेसम्म मेरो छोरालाई अलिक सन्चो भैसक्थ्यो। छोराको मुखको घाउ निकै बढेकाले उसलाई क्यान्सर नै पो भेसक्यो कि भनेर आत्तिएर म राहतको पैसा लिएर काठमाडौँ आएको थिएँ। बाटोमै लुटिएँ। मसँग छोराको उपचार त के, उसलाई भोक लाग्दा खुवाउने रकम सकेत छैन। घर फर्किन बाटो खर्च छैन्। छोराको उपचार नगरी घर फर्किन मन छैन।’
उनले सहयोगी मनलाई सहयोग गर्न समेत अफिल गरेका छन्। उनले सहयोगका लागि आफ्नो ९८६८२७७०७० र ९७६५३६५११८ मोबाइल नम्बर दिएका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमा छोराको अवस्थालाई लिएर सहयोगको याचना गर्दै एक भिडिओ समेत अपलोड गरेका छन्।
यसै वर्ष वैशाखमा चौरजहारी नगरपालिका नगर कार्यपालिकाको कार्यालय रुकुम पश्चिमले उनका छोराको उपचारका लागि आर्थिक सहयोग गरिदिन भन्दै पत्र बनाइदिएको थियो। तर, आर्थिक अभावले उनका छोराको राम्रो उपचार हुन भने सकेको छैन।
Shares
प्रतिक्रिया