सामाजिक अभियन्ता एवं सञ्चारकर्मी रूपा सुनारले आफूविरुद्ध भएको जातीय छुवाछूतको घटनामा जिल्ला अदालत काठमाडौँले गरेको फैसलाविरुद्ध उच्च अदालतमा पुनरावेदन गर्ने बताएकी छन्।
अढाई वर्षअघि काठमाडौँ बबरमहलकी सरस्वती प्रधानविरुद्ध दायर छुवाछूत मुद्दामा काठमाडौँ जिल्ला अदालतले आज (पुस २० गते) सफाइ दिएको हो।
सुनारले प्रधानविरुद्ध लगाएको छुवाछूत आरोपमा दाबी नपुगेको भन्दै न्यायाधीश शकुन्तला कार्कीको एकल इजलासले उनलाई सफाइ दिने फैसला गरेको हो।
तर यो फैसलामा आफूलाई चित्त नबुझेको र बाँकी कानुनी बाटो अपनाउने सुनारले बताएकी छन्।
‘न्यायालयभित्र जात व्यवस्थाविरुद्ध लड्ने आँट भएका मान्छे पनि छन् कि भन्ने आश थियो’, नेपालखबरसँग कुरा गर्दै सुनारले भनिन्, ‘तर जात व्यवस्थामा आधारित न्यायालयले न्यायका पक्षमा फैसला गर्न सकेन।’
उनले थपिन्, ‘म कानुनी लडाइँका बाँकी बाटो सबै अपनाउँछु।’
२०७८ असार १ गते कोठा भाडामा दिने पक्कापक्की गरिसकेपछि घरबेटी प्रधानले आफ्नो जात बताउनासाथ कोठा नदिने भनी जातीय विभेद गरेको आरोप लगाउँदै सुनारले प्रहरीमा जाहेरी दिएकी थिइन्।
यसपछि प्रहरीले घरधनी श्रेष्ठलाई पक्राउ गरेर केही दिन हिरासतमा राखेको थियो। तर जिल्ला अदालत काठमाडौँले १ लाख १५ हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएपछि श्रेष्ठ धरौटी तिरेर थुनामुक्त भएकी थिइन्।
यसैबीच न्यायाधीश शकुन्तला कार्कीकै इजलासले सरस्वती प्रधान पक्षले रूपाविरुद्ध हालेको वैयक्तिक गोपनीयता भंग र बेइज्जती मुद्दामा पनि रुपालाई सफाइ दिएको छ।
‘त्यो वाहियात दुःख दिन रचिएको कुरा थियो। पीडितलाई थप पीडा दिने, हैरानी दिने, पछि हट्न बाध्य गराउने प्रपञ्च थियो’, सुनारले भनिन्।
Shares
प्रतिक्रिया