कैलालीको टीकापुर नगरपालिका–१, नयाँ टीकापुरका ३६ वर्षीय भरत शाह तीन वर्षअघि वैदेशिक रोजगारीका लागि दुबई हानिए।
त्यसअघि उनी नेपाल प्रहरीमा कार्यरत थिए। घरपरिवारको खर्च चलाउनै गाह्रो पर्न थाल्यो भन्दै जागिर छाडेका उनले छोराछोरीको उज्ज्वल भविष्य र परिवार धान्नका लागि दुबई जाने योजना बनाए।
१० वर्षको प्रहरी सेवा त्यागेर उनी दुबई गए। त्यहाँ उनले रोयल गार्डमा रोजगारी पाए। तलब राम्रै थियो।
तर भरतले त्यो जागिर पनि छाडेर एक्कासि रुस जाने निधो गरे। साउन ३० गते दुबईबाट नै उनी रुसतिर लागे।
रुसी फौजमा भर्ती भए। युक्रेनसँग युद्ध लड्न मैदानमा खटिए।
उनै भरतको युक्रेनी सेनासँगकोे भिडन्तमा मृत्युको खबर नेपाल आइपुगेको छ, त्यो पनि परिवारबाट सम्पर्कविहीन भएको निकै दिनपछि।
सँगै रहेका साथीले भरतको मृत्युको खबर दिएको उनका दाइ नाता पर्ने बिर्खबहादुर शाह बताउँछन्।
रुस जानुअघि भरत दुबईबाट एकपटक घर फर्किएका थिए। घरपरिवारसँग भेटघाट गरेर केही महिनाअघि उनी फेरि दुबई गए। त्यहाँ गएको एक महिनापछि साउन ३० गते रुस गएका थिए।
सुरुवातमा भरतको रुसबाट परिवारसँग कुराकानी हुन्थ्यो। उनी रुसी सेनामा भर्ती भएको जानकारी पनि थियो। कार्तिक २६ गते लक्ष्मीपूजाको दिनपछि भरतको परिवारसँगको सम्पर्क टुट्यो।
‘तालिम हुँदासम्म सम्पर्क हुन्थ्यो। लक्ष्मीपूजाको दिनपछि परिवारसँग सम्पर्क नै भएन,’ बिर्ख भन्छन्, ‘पछि लड्नका लागि युक्रेन पठाइहालेछ। त्यहाँ फोन नदिँदा रहेछन्।’
परिवार भरतको फोनको पर्खाइमा थियो। सम्पर्क नहुँदा परिवारमा छटपटी थियो। त्यसैबेला एक साताअघि भरतको मृत्यु भएको खबर आयो।
परिवारलाई विश्वासै लागेन।
अवस्था बुझ्न यताउता सोधखोज गरे। भरतसँगै रुसी सेनामा रहेका महेन्द्रनगरका रोशन थापाले आफ्नो घरमा युद्धको क्रममा नोभेम्बर २६ मा मृत्यु भएको सन्देश पठाए।
तीन सातापछि सँगै रहेका साथीले ह्वाट्सएपमा भ्वाइस मेसेज पठाएका थिए।
‘थापाजीको म्यासेजले भाइको मृत्युबारे थाहा पायौँ। नभए जिउँदो छ वा मरेको, केही थाहा नहुने रहेछ,’ नेपालखबरसँगको कुराकानीमा बिर्ख भन्छन्, ‘शवको आउने नआउने टुंगो नभएपछि कुशको शव बनाएर आज हिन्दू परम्पराअनुसार अन्तिम संस्कार गरेका छौँ।’
टीकापुरको दौलतपुर घाटमा आइतबार भरतको अन्तिम संस्कार गरिएको हो। परराष्ट्र मन्त्रालय र रुसी सरकारले भरतको मृत्युबारे परिवारलाई कुनै आधिकारिक जानकारी दिएको छैन।
ठूलो सपना बोकेर परदेसिएको सन्तान गुमाएपछि परिवारमा सन्नाटा छाएको छ। भरतको घरमा वृद्ध आमाबुवा छन्। भरत माइला सन्तान हुन्।
शाह परिवारका अरु दुई छोरा पनि विदेशमा छन्। जेठो छोरा उत्तम रोमानियामा छन् भने कान्छा मोहन मलेसियामा।
मृतक भरतकी श्रीमती, ४ वर्षको छोरा र डेढ महिनाकी छोरी छन्। भरत विदेशी रणमैदानमा लडेपछि शाह परिवारको आशाको त्यान्द्रो चुँडिएको छ। नाबालक दुई सन्तान टुहुरा बनेका छन्।
भरतको खबर सुनेपछि परिवार सम्हालिन सकेको छैन। विक्षिप्त बनेको परिवारलाई छरछिमेक र इष्टमित्रले सान्त्वना दिइरहेका छन्।
‘स्वदेशको रोजगारीले परिवार चलाउन मुस्किल परेपछि ऋण काढेर मजबुरीले परदेश जानुपर्यो। दुबईमा राम्रै थियो। त्यहाँ दलालको फन्दामा पर्यो कि के भयो?,’ बिर्ख भन्छन्, ‘प्रलोभनमा परेर आज विलाप भयो।’
Shares
प्रतिक्रिया