पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई ३० लाख रुपैयाँ धरौटीमा रिहा गर्न उच्च अदालत पाटनले आदेश दिएको छ। यसअघि संयुक्त इजलासमा दुई न्यायाधीशको राय बाझिएपछि बिहीबार तेस्रो न्यायाधीशको इजलासमा पेस गरिएको थियो।
मंसिर १५ गतेको इजलासमा न्यायाधीश जनक पाण्डेले खाणलाई ३० लाख रुपैयाँ धरौटीमा रिहा गर्नुपर्ने राय दिएका थिए। तर उक्त रायमा अर्का न्यायाधीश प्रकाश खरेलले सहमति जनाएनन्।
खाँणबारे दुई न्यायाधीशका के–के छन् फरक तर्क? अब के होला?
खरेलले खाणलाई थुनामा राख्ने जिल्ला अदालतको आदेश सदर गर्नुपर्ने राय दिएपछि बाँकी सबै प्रतिवादीको आदेश आउँदा खाणको बारेमा भने निर्णय हुन सकेको थिएन।
बिहीबार न्यायाधीश कृष्णराम कोइरालाको इजलासमा खाणको निवेदन पेस गरिएको थियो। न्यायाधीश कोइरालाले यसअघि ३० लाख धरौटीमा छाड्ने न्यायाधीश जनक पाण्डेको रायमा सहमति कायम गरे।
यदि दुवै न्यायाधीशको रायमा कोइराला सहमत नभएको भए सर्वोच्च अदालतबाट मात्रै निर्णय हुने थियो। न्यायाधीश पाण्डेले खाणलाई ३० लाख धरौटीमा छाड्नुपर्ने रायमा ८ वटा आधार प्रस्तुत गरेका छन्। जुन आधारमा बिहीबार सुनुवाइ गरेका न्यायाधीश कोइरालाले पनि सहमति जनाए।
न्यायाधीश कोइरालाले लिएका मुख्य ८ वटा आधार यस्ता छन्-
-
जाहेरवाला तथा घटना विवरण कागज गर्ने पीडितहरूले बालकृष्ण खाणले ठगी गरेको वा रकम लिएको भनी नाम उल्लेख गरेका छैनन्।
-
बालकृष्ण खाणले अधिकारप्राप्त अधिकारी तथा अदालतसमक्ष बयान गर्दा अभियोग पूर्णत इन्कार रही बयान गरेको देखिन्छ।
-
गृह मन्त्रालयमा कार्यरत स्थानीय प्रशासन तथा प्रदेश समन्वय शाखाका प्रमुख शाखा अधिकृत सन्तोष प्रधानले बालकृष्ण पन्थीको कार्यदलले तयार पारेको प्रतिवेदन मन्त्रिपरिषदबाट फिर्ता आई आफ्नो जिम्मेवारीमा रहेको, विभिन्न समयमा उक्त प्रनिवेदन शाखा प्रमुख सागरमणि पाठक, उपसचिव शेखर पौडेल, महाशाखा प्रमुख फणिन्द्रमणि पोखरेल तथा सचिव टेकनारायण पाण्डेले माग्ने गरेका थिए। के कसरी उक्त प्रतिवेदनको समानान्तर अर्को प्रतिवेदन तयार भयो आफूलाई थाहा नभएको कागज गरेको। र, बालकृष्ण खाणले प्रतिवेदन मागेको अथवा प्रतिवेदनमा कुनै चासो राखेको देखिँदैन।
-
टेकनारायण पाण्डे र केशव दुलालबीच भएको टेलिफोन संवादमा उल्लेख भएको गिफ्ट भनेको रकम हो र उक्त रकम केशव दुलालबाट खाणले लिएको भन्ने नदेखिएको र केशव दुलालले बयानका क्रममा इन्कार गरेको, खाणलाई नभेटेको तथा कुनै रकम नदिएको भनी उल्लेख भएको।
-
टेकनारायण पाण्डेले नरेन्द्र केसी (खाणका स्वकीय सचिव) लाई सम्बोधन गरी लेखेको चिटमा बालकृष्ण खाणको नाम उल्लेख नभएको।
-
खाणविरुद्ध किटानी जाहेरी नपरेको।
-
सहअभियुक्तहरूले बयानका क्रममा खाणलाई नपोलेको ।
- जाहेरवाला प्रेमराज पन्थीको जाहेरीको पेटबोलीमा यी प्रतिवादीको नाम उल्लेख भएकाले तत्काललाई ३० लाख नगदै धरौटी वा बैंक ग्यारेन्टी राखी रिहा गर्न न्यायाधीश कोइरालाको इजलासले भनेको छ।।
Shares
प्रतिक्रिया