शिरिष तामाङलाई १७ वर्षको भएपछि आफू आम मानिसभन्दा फरक रहेको महसुस भयो। महिलाको यौनांग लिएर जन्मिएका शिरिषले हुर्कंदै गर्दा असहज महसुस गर्न थाले। उनलाई पुरुषका व्यवहार अनि महिलाप्रतिको आकर्षण बढ्दै जान थाल्यो। त्यसपछि उनलाई लाग्यो, ‘अब आफ्नै मन अनुसारको पहिचान बनाउनु पर्छ।’
त्यसपछि उनले कपाल काटेर छोटो बनाए। दौडिँदै आफ्नो कोठामा पसे। ऐना अगाडि उभिएर आफूलाई नियाले। ‘त्यो दिन वर्षौंदेखि मनमा गुम्सिएर बसेको भार मनबाट गएजस्तो भयो। आफूले जे चाहेको थिएँ, त्यही हुन पाएँ भन्ने लाग्यो,’ शिरिषले सुनाए।
शिरिष त्यो बेला ८ कक्षामा पढ्थे। केटाहरुले झैँ उनले पनि लुकेर केटीहरुलाई हेरे। केटाहरुप्रति आफ्नो कुनै आकर्षण नै नभएको थाहा पाएका थिए।
‘त्यो समय मलाई अचम्म लाग्थ्यो। मेरो मन किन यस्तो भैरहेको छ भन्ने हुन्थ्यो,’ शिरिषले सुनाए। त्यसपछि शिरिषले इन्टरनेटमा आफूमा आएका भावनाको बारेमा खोज्न थाले। युट्युबमा यौनिक तथा लैङ्गिक समुदायका मानिसहरुका कथा हेर्न थाले। दिदीहरु हरेक पटक प्रश्न गर्थे, ‘त सधैँ किन यस्ताको भिडिओ हेरिबस्छस्? तलाईं केटा भएर हिँड्न मन लाग्छ?’
शिरिष भन्थे, ‘हो मलाई यस्तै भएर हिँड्न मन लाग्छ। तपाईहरुलाई केही समस्या छ?’
दिदीहरु एक–स्वरमा भन्थे, ‘जे मन लाग्यो त्यही बोल्छ।’
शिरिष आफैँले आफूलाई राम्रोसँग बुझिसकेका थिएनन्। उनलाई लाग्थ्यो, ‘साँच्चै दिदीहरुले भनेको जस्तो उल्टो सोचिरहेको त छैन मैले!’
११ कक्षा भर्ना भएसँगै शिरिष रेस्टुँरामा काम गर्न थाले। त्यहीँ उनको भेट मितिनी नेपालका सञ्चालक लक्ष्मी घलानसँग भयो। लक्ष्मीको भेटले शिरिषलाई आफूलाई बुझ्न सहज भयो। लक्ष्मीसँगको भेटले उनलाई बलियो बनायो। शिरिषले आफ्नो मनको द्वन्द्व जिते। आफ्नै यौनिकता अनुसार बाँच्ने अठोट गरे। त्यसपछि उनले समाजसँग युद्ध गर्नु पर्यो। एकातिर पहिचानको युद्ध, अर्कोतिर जीवनका लागि संघर्ष। घरबाटै शिरिषको संघर्ष सुरु भयो।
‘तँ पागल भइस्। तँलाई पाटनमा लैजानु पर्छ भनेर दिदीहरुले पिट्नु भयो,’ शिरिषले सुनाए।
शिरिषको सपना थियो कम्प्युटर इन्जिनियर बन्ने। उनकै उमेरमा साथीहरु परदेशको सपना देखिरहँदा उनी भने देशमै केही गर्ने सोचिबस्थे। कम्प्युटर साइन्समा ‘प्लस टु’सम्मको अध्ययन पूरा गरे। तर, खुल्दै जाँदा बढ्दै गएको सामाजिक तिरस्कारसँगको संघर्षले देशमै केही गर्ने शिरिषको सपना टुटाइदियो। त्यसपछि उनले परदेश जाने र जिन्दगी गुजार्ने नयाँ सपना बनाए। सपनासँगै पासपोर्ट पनि।
शिरिष अहिले २२ वर्षका भए। उनले पासपोर्ट निकालेको १ वर्ष भउा्र यो एक वर्षको दौरानमा शिरिष १७÷१८ वटा अन्र्तवार्तामा सामेल भए। वैदेशिक रोजगारीमा जाने आश बोकेर अन्र्तवार्ता दिन पसेका शिरिष हरेक पटक निराश हुँदै निस्किए।
‘लैङ्गिक अल्पसंख्यकहरुलाई आफ्नो पहिचान सहित विदेश जान पनि सजिलो रहेनछ,’ शिरिषले सुनाए।
आफ्नै यौनिकता अनुसार बाँच्ने धोकोले शिरिषलाई एक्लै बनायो। बुबाको निधन हुँदा शिरिष ७ वर्षका मात्रै थिए।
उनी भन्छन्, ‘मलाई बुबाको अनुहार पनि याद छैन।’ १६ वर्षको उमेरमा उनकी आमाको पनि मृत्यु भयो। शिरिषलाई लाग्छ, ‘आमा हुनुभएको भए म जे हुँ त्यो भन्दा मलाई परित्याग गर्नुहुन्नथ्यो होला।’
तर उनकी आमा त शिरिषले छोरी भएर बाँच्दाको अन्तरद्वन्द्व थाहै नपाई बितिन्। दुई दिदीले शिरिषको भावना स्वीकार गर्न सकेनन्। शिरिष एक्ला भए। भन्छन्, ‘म खुलेको दिन हलुका भएको थिएँ। तर म खुलेको दिन मेरो ममी अगाडि हुनुहुन्नथ्यो। ममी हुनुभएको भए कति खुसी हुनुहुन्थ्यो होला!’
शिरिषको नागरिकता छोरीको नाममा छ। नागरिकता अनुसारकै पासपोर्ट। तर उनको रुपाकृति छोराको। शिरिष आफ्नो लैङ्गिक पहिचान अनुसार नै विदेश जान चाहन्छन्। त्यही अनुसारको काम गर्न चाहन्छन्। तर, पासपोर्ट र उनको अनुहार हेरेर कयौँ फाराम अस्वीकृत भए। कति ठाउँमा अन्र्तवार्तापछि अयोग्य भनेर फर्काइयो। शिरिषले कुवेत, दुबई लगायतका देशमा जान आवेदन दिए। तर, उनले यौनिक पहिचानका कारण जान पाएनन्।
‘कयौँ पटक त म किन यस्तो भएर जन्मिएछु नि भनेर रुन मन लाग्छ,’ शिरिषले सुनाए। उनी चाहन्छन्, ‘हामी सधैँ तिम्रो साथ छौँ भनिदिने कोही होस्। यो तिमी आफैँले चाहेर भएको होइन भनेर सँगै हिँडिदिने आफ्ना भैदिऊन।’ तर शिरिषले चाहेजस्तो समाज बनिसकेको छैन।
हिजोआज शिरिष पठाओ चलाउँछन्। यहाँ पनि उनले अनेक हण्डर खाने गरेका छन्। उनको बोली छोरी मान्छेको जस्तै सुनिन्छ। शिरिषले पठाओ दर्ता आफ्नो यौनिकता अनुसार नै गरेका छन्। सेवाग्राही शिरिषको बोली सुनेर अनुहारमा अनौठो तरिकाले हेर्छन्। शिरिषलाई नमज्जा लाग्छ। ‘मन अमिलो भएर दुख्नु भन्दा ठूलो दुखाइ अर्को नहुँदो रहेछ,’ शिरिष सुस्केरा फाल्छन्।
एक्लिएका शिरिष ऋण गरेर भएपनि पढ्न चाहन्छन्। राम्रो देश जान चाहान्छ। तिररस्कारको नजरले हेर्ने समाजभन्दा बाहिर गएर बाँच्न चाहन्छन्।
शिरिषलाई थाहा छ, धेरै मानिसहरु श्रमका लागि पहिचान लुकाएर अन्य मुलुक पुगेका छन्। परदेशमा पनि मन बाँधेर काम गर्न नसकेपछि कति फर्किए। कतिले उतै आत्महत्या गरेका छन्। तर, यसको तथ्यांक न सरकारसँग छ, न त यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका मानिसको हितका लागि खोलएका संस्थासँगै छ। पहिचान लुकाएर परदेशिन चाहनेहरु आज पनि मेनपावरमा लामबद्ध भेटिन्छन्। कुनैदिन शिरिष आफैं पनि त्यही लाइनमा घण्टौँ उभिए। अब शिरिषले बुझिसके, ती गन्तव्य आफ्ना लागि सहज छैनन्।
वैदेशिक रोजगार ऐन २०६४ को दफा ८ र ९ मा रोजगारीका लागि लैङ्गिक विभेद नगरिने उल्लेख गरिए पनि पुरुष र महिलाबाहेकको लैङ्गिक अवस्थाबारे उल्लेख गरिएको छैन््। पहिचान खुलाएकै कारण रोजगारी नपाउने स्थितिले शिरिषजस्ता थुप्रै लैङ्गिक अल्पसंख्यकहरु मानसिक समस्याको समेत सिकार समेत भएका मायाको घर सञ्चालन गर्दै आएकी सुनिता लामा बताउँछिन्।
भन्छिन्, ‘अब हाम्रो यौनिकता फरक भयो त्यो मेरो दोष होइन नि त। मानिसहरुले दिएका शब्दहरुले एकदमै दुख्छ। मनसिक रुपमा विक्षिप्त बनाउँछ। हाम्रो समुदायका कति व्यक्तिले समाजको अपहेलना सहन नसकेर ज्यान दिनुभएको छ।’ लैङ्गिक अल्पसंख्यकहरुको क्षेत्रमा काम गर्ने संस्थाहरुका पदाधिकारीहरु यो समुदायका मानिसहरुले अझै नागरिकको व्यवहार पाउन नसकेको बताउँछन्।
‘हामी देशको नागरिकता बोकेर पनि अनागरिक जीवन बाँचिरहेछौँ,’ छुट्दै गर्दा शिरिषले सुनाए।
Shares
प्रतिक्रिया