इलामका गंगाराम तामाङ कुनै बेला राष्ट्रभक्तिले ओतप्रोत भएर नेपाली सेनामा भर्ना भएका थिए। देशको सेवा गर्न २०६७ मा नेपाली सेनामा भर्ना भर्ना भएका उनको राष्ट्रभक्तिलाई आर्थिक समस्याले पिरोल्यो।
त्यसपपछि २०७२ सालमा उपदान लिएर उनले नेपाली सेनाको जागिरबाट विश्राम लिए, अर्थात् राष्ट्रसेवाको उनको योजना लामो समय टिकेन। २०७२ मा सेनाको जागिर छाडेका उनी २०७६ सालसम्म गाउँमै थन्किए।
चार वर्षसम्म गाउँमै बसेका उनको म लामो समय अडिएन। फौजी जीवन बिताएको चार वर्षपछि उनी वैदेशिक रोजगारीका लागि दुबईतिर लागे।
चार वर्षसम्म दुबईमै रोजगारी गरेका उनी त्यसपछि मलेसिया पुगे। जहाँबाट उनी चार दिनको पर्यटक भिसामा रसिया उडेका थिए।
घुम्न भने रसिया उडेका उनको जीवनले मस्को पुगेपछि नयाँ मोड लियो। उनी मस्को पुग्नुअघि नै रसियाले सन् २०२२ फेब्रुअरीमा युक्रेनविरुद्ध हमला गरिसकेको थियो।
गरिब र सामान्य परिवारका हरेका नेपालीको सपना विदेश गएपछि लाखभन्दा माथि कमाउने हुन्छ। पर्यटक भिसामा मस्को पुगेका गंगाराम पनि महिनामा लाखभन्दा बढी कमाउने योजनासहित रसियन सेनामा भर्ना भए। अन्य नेपालीजस्तै रसियन सेनामा भर्नामा हुँदा आफ्नो जीवन पनि भयावह हुने उनले कल्पना गरेका थिएनन्।
तर उनै गंगारामले रयिसन सेनामा भर्ना भएको ५२ दिनमै आफ्नो ज्यान विदेशी भूमिमा अपिर्न बाध्य भए। रसिया र युक्रेनबीचको युद्धमा इलामको गोलाखर्कका गंगाराम तामाङले ज्यान गुमाए।
गंगारामकी श्रीमती याङ्किला शेर्पा सम्झिन्छिन्, ‘उहाँले कहिल्यै रसिया जाने कुरा गर्नु भएन। माल्टा जाने प्रक्रिया गरिरहेको बताउनुभयो। तर, त्यो प्रक्रिया कस्तो हो, भन्नुभएन।’
श्रीमतीलाई माल्टा जान १० लाख रुपैयाँ लाग्छ भनेर पैसा जुटाइरहेका गंगाराम एकसाताको निर्णयमा रसिया पुगेका थिए।
अक्टोबर ३ मा रसिया पुगेका उनले त्यसको पर्सिपल्ट रसियन सेनामा भर्ती भएको खबर श्रीमतीलाई पठाएए। ‘म तालिमका लागि क्याम्पमा जाँदै छु’ भनेका गंगाराम १२ दिन सम्पर्कबाहिर रहे। त्यसपछि सम्पर्कमा आएका उनले भनेका थिए, ‘म एक हप्ता युद्धमा बसेर आएुँ।’
सेनामा भर्ती भएपछि रसियन सरकारले मासिक १ लाख ९५ रसियन रुबेल दिने भनेको थियो। गंगारामले ७ वर्षीय छोरालाई खुसी हुँदै भनेका थिए, ‘अब राम्रो स्कुलमा पढ्नु पर्छ है!’
गंगारामले फुर्सद हुँदा श्रीमतीलाई फोन गर्थे। शेर्पा भन्छिन्, ‘म त अनलाइन आउनु भएको छ, छैन भनेर हेरेर बस्थेँ। यहाँबाट फोन गर्न मिल्दैनथ्यो। आएको फोन उठाउने मात्रै हो। नोभेम्बर १४ मा उहाँ अनलाइन देखिनु भयो। तर कल आएन।’
त्यसको भोलिपल्ट अर्थात् नोभेम्बर १५ (कात्तिक २९) गंगारामले युद्धमैदानमा ज्यान गुमाएका थिए।
श्रीमानको फोन कुरेर बसेकी याङ्किलालाई रसियन दूतावासले पठाएको पत्र आइपुग्यो। पत्रमा उनका श्रीमानको मृत्युको पुष्टि गरिएको थियो।
श्रीमानको मृत्युको खबरसहित आएको त्यही कागज हेरेर उनी टोलाउन थालेको २६ दिन बित्न लाग्यो। तर, उनको मनले श्रीमान बितेको विश्वास गर्न सकेको छैन। लागोस् पनि कसरी कसैले अचानक आएर भनिदिन्छ, ‘तिम्रा श्रीमान अब यो संसारमा छैनन्।’
विश्वास नगर्दैमा अब उनका श्रीमान् फर्किएर आउँदैनन्। ३२ वर्षीय गंगाराम युक्रेनमा मारिएको मस्कोस्थित नेपाली दूतावासले समेत पुष्टि गरेपछि याङ्किलालाई पनि विश्वास गर्न कर लाग्यो।
रुसी सेनामा भर्ती भएको दुई महिना नपुग्दै श्रीमानको मृत्युको कहालीलाग्दो खबर आयो। अन्तिम पटक गंगारामले भनेका थिए, ‘सात दिन लडाइँ गरेर तीन घण्टाको बाटो सुरक्षित ठाउँ आएको छु। केही दिन आराम गरेपछि फेरि जानुपर्ने हुनसक्छ।’
यता याङ्किला भगवानसँग प्राथना गरिरहेकी थिइन्, ‘अब उनलाई युद्धमा जानु नपरोस्।’ तर उनको पुकार भगवानले सुनेनन्।
नेपाली सेनाको सात वर्षे जागिर छाडेर चार वैदेशिक रोजगारीमा दुबई पुगेका गंगाराम त्यसयता घर फर्किएनन्। बेला–बेला दुबईमा काम गरेर पनि जीवनमा सोचे जस्तो गर्न नसकेको गुनासो गरिरहन्थे। त्यही गुनासोले उनलाई रुसी सेनामा लगेको थियो।
पर्यटक भिसामा रसिया पुगेका गंगारामले त्यहाँ सेनामा जाने कुरा परिवारमा पनि सुनाएका थिए। परिवार उनको योजनासँग खुसी थिएन। उनले भनेका थिए, ‘रुसमा जोखिम मोल्न नजाऊ।’
उनी पटक्कै मानेजन्। जाँदै गर्दा परिवारलाई ‘कन्भिन्स’ गर्दै भनेका थिए, ‘यताबाट धेरै नेपालीलाई लाँदैछ, केही हुँदैन। राम्रो कमाइ हुने कुरा छ, जान्छु।’
माल्टा जान लगानी गरेको ६ लाख रुपैयाँ डुबेपछि उनी तनावमा थिए। युक्रेनसँग युद्धरत रुसको सैनिक बनेर जाने निधो गरेपछि पनि उनले लगभग ६ लाख रुपैयाँ खर्च गरेको याङ्किला सुनाउँछिन्।
रुसी सेनामा भर्ती भएपछि गंगारामले आफ्ना तस्बिर र सैनिक तालिमका भिडिओ क्लिप्स पनि इमोमार्फत श्रीमतीलाई पठाएका थिए। याङ्कीला हिजोआज तिनै तस्बिर र भिडिओ हेरेर दिन बिताउँछिन्।
रुसी सेनामा भर्ती भएपछि गंगारामले श्रीमती र छोराको जन्मदर्ता र नागरिकता लगायत कागजात पनि मागेका थिए। याङ्किलाले ती कागजत्रप पठाएकी थिइन्। गंगारामले भनेका थिए, ‘म जस्तै २ हजार नेपाली युवा रुसी सेनामा छन्।’
याङ्किलाले ती कसैलाई चिनेकी छैनन्। भन्छिन्, ‘उहाँले एक लाख ९५ रुबेल तलब आउँछ भन्नु भएको थियो। त्यो पैसा नेपालीमा कति हुन्थ्यो, थाहा छैन। उहाँले एक महिनाको तलब पनि पठाउन पाउनु भएको थिएन। उहाँसँगैका कसैसँग चिनजान भएको भए बुझ्न हुन्थ्यो। छोरालाई राम्रो स्कुलमा हाल्ने उहाँको सपनालाई थोरै भए पनि भरथेग गर्थ्यो।’
७० वर्षीय कृष्णबहादुर मोक्तान र ६२ वर्षीया सन्तमायाका तीनमध्ये गंगाराम कान्छा छोरा हुन्। यो दम्पतीका जेठा छोराको ८ वर्षको उमेरमै मृत्यु भयो। माइला छोरा पनि राजगारीका लागि कोरिया गएको ५ वर्ष बित्यो। अब युद्धमा गएका कान्छो छोराको पिन मृत्युको खबर आयो, तर शव देख्न पाएनन्। अब यी वृद्ध दम्पती छोराको शव आउने आशमा बाटो कुरेर बसेका छन्।
Shares
प्रतिक्रिया