देख्दा ठिकठाक लाग्ने बालक। कम्मरमुनिको भाग निर्वस्त्र। दाम्लोमा बाँधिएका उनी आफ्नै दिसा औँलाले चलाइरहेका थिए।
भक्तपुरको सुकुम्बासी बस्तीमा देखिएको यस दृश्यले शारीरिक अपांगता भएका व्यक्तिको क्षेत्रमा काम गरिरहेकी सविता उप्रेतीको हृदय चिराचिरा भयो।
उनी कयौँपटक ती बालकको घरमा पुगिन्। दिउँसो बस्ती सुनसान हुन्थ्यो, दाम्लोमा बाँधिएका बच्चा कहिले हाँसिरहन्थे, कहिले चिच्याएर रोइरहन्थे।
बालकका बाबु–आमा दिनभरि खोलामा गिट्टी कुट्न जान्थे, केही पैसा कमाउँथे। साँझ त्यही पैसाले चामल किन्थे, छोरालाई खुवाउँथे, आफू पनि खान्थे। नौ-दस वर्षका ती बालक र त्यस परिवारलाई भुल्न उनले थुप्रै प्रयास गरिन्। तर, सकिनन्।
सविता त्यतिबेला समाज कल्याण मन्त्रालयको राष्ट्रिय अपांग कोषमा केन्द्र व्यवस्थापन अधिकृतका रूपमा काम गर्थिन्।
विपन्न परिवारकी सविताको जागिरले उनका बुवा–आमालाई ठूलो आड दिएको थियो। भाइ–बहिनी उच्च शिक्षाको सजिलो बाटो कल्पिरहेका थिए। सविता आफै पनि एक दिन निजामती प्रशासनमा उप–सचिव, सचिव भएको सपना देख्थिन्।
तर, सुकुम्बासी बस्तीको त्यही एउटा दृश्यले सवितालाई परिवारको खुसी र आफ्नै सपनामा मात्र अडिएर बस्न दिएन।सरकारी अधिकृतबाट राजीनामा दिइन् र सुरु गरिन् अटिजम भएका बाललबालिकाको स्याहार।
१३ वर्षदेखि उनी हरदम यस्तै बालबालिकासँग हुन्छिन्। कहिलेकाहीँ सविताको अनुहार चिथोर्छन्, टोक्छन्। बदलामा उनी स्नेह दिन्छिन्। उनीहरूलाई आमाले झैं स्याहार्छिन्। सुम्सुम्याउँछिन्।
हिजोआज सवितालाई बच्चाहरूको हरेक व्यवहार प्रेम प्रदर्शनजस्तो लाग्छ। देब्रे गालामा पुरिन लागेको खत देखाउँदै सविताले भनिन्, ‘यो तिनै बच्चाहरूको प्रेम हो। उनीहरूले टोकिदिए, मेरो यो गालामा अप्रेसन नै गर्नुपर्यो। कपाल लुछ्ने, टोक्ने, चिथोर्ने उनीहरूका सबै व्यवहार सामान्य लाग्न थालिसके।’
सविता मुस्कुराइन्।
अटिजम भएका बालबालिकाका लागि खोलिएको विशेष स्कुल तथा पुनर्स्थापना केन्द्र (एसएसडीआरसी) स्थापनाको १३ वर्ष बित्यो। बितेका यी वर्षहरूमा सविताले खाएको हण्डरको आफ्नै फेहरिस्त छ। भन्नेहरूले भनिरहेका हुन्छन्, यो धनी बाउकी छोरीको संस्था हो। सविता अभावमा गुजारेको जिन्दगीको सुदूर समय सम्झिन्छिन्। थाहै नपाई उनका आँखाका कुनाबाट आँसु झरिसक्छ।
अभाव
दोलखा, वैतेश्वर गाउँपालिका–६, नाम्दुकी सविताको जीवनमा कुनै दिन उच्च शिक्षाभन्दा पर अर्को सपना थिएन। स्कुलमा सधैँ प्रथम हुने उनी जब एसएलसीपछिको पढ्ने रहर सम्झिन्थिन्, आँखाबाट आँसु भएर झरिसक्थ्यो रहर।
खान दुःख थियो, लगाउन दुःख थियो, त्यो दुःख पनि के दुःख मान्नु? सबैभन्दा धेरै दुःख त त्यहाँ थियो, जहाँ सपना देख्नेसम्म पनि औकात थिएन घरको।
उनकी आमाले छोरीको सपना आँखामा पढेकी थिइन्। एक दिन आफ्नो भदाभाइलाई भनिन्, ‘बाबु, यसले खुब पढ्न मन गरेकी छ। तिमीसँगै काठमाडौं लिएर जाऊ। ठाउँमा पुगे त यसले जसरी पनि पढ्ली भन्ने लाग्छ।’
शिव कार्की (सविताका मामाका छोरा) त्यतिबेला परिवारसहित काठमाडौंमा बस्थे। सविता तिनै दाजुको साथ लागेर काठमाडौंमा आइन्। काठमाडौं आउने बेला उनकी आमाले सहकारीबाट १० हजार ऋण काढेर हातमा राखिदिएकी थिइन्।
झण्डै एक वर्ष सविता दाइसँगै बसिन्। पशुपति क्याम्पस भर्ना भइन्। उनलाई आफ्नै सपनामा मात्रै अल्झिएर बस्ने मन थिएन। उनलाई त भाइ–बहिनीलाई पनि शिक्षाको बाटो हिँडाउनु थियो। त्यसका लागि सविताले जागिर खानुपर्थ्यो।
सुरुमा उनले सहकारीमा सदस्य बनाउने काम पाइन्। तर, यो अञ्जान सहर, बिरानो बाटो, नचिनेका मान्छे। उनले कसैलाई सदस्य बनाउन सकिनन्। त्यसपछि जोरपाटीको सरस्वती स्कुलमा पढाउन थालिन्। छुट्टै डेरा लिइन्। गाउँबाट भाइबहिनी बोलाइन्। तिनको जिम्मेवारी आफ्नै काँधमा बोकिन्।
७ वर्ष शिक्षण गरिन्। पार्ट–टाइम पत्रकारिता गरिन्। यही क्रममा हो, उनले समाज कल्याण परिषद्अन्तर्गत राष्ट्रिय अपांग कोषको शारीरिक पुनर्स्थापना केन्द्रमा व्यवस्थापन अधिकृतका रूपमा जागिर सुरु गरेको। जागिरकै क्रममा उनी भक्तपुरको सुकुम्बासी बस्ती पुगेकी थिइन्।
‘भक्तपुरको सुकुमबासी टोलमा देखिएको त्यही दृश्यले घोचिरह्यो। अधिकृतबाट राजीनामा दिएँ। यही नै मेरो जीवनको टर्निङ पोइन्ट बन्यो,’ उनले सुनाइन्।
विवाहका लागि जोहो गरेको पैसा सेवामा
सविताका बुबाआमा छोरीको विवाह गरिदिन चाहन्थे। उनीहरू ज्वाइँको खोजीमा थिए।
सविताको पनि घरजम गरेर बस्ने रहर बनिसकेको थियो। तर, अटिजम भएका बालबालिकाका लागि काम गर्ने मनसाय बनाएपछि उनले घरजमको रहर बिर्सिन्। बुबा–आमालाई भनिन्, ‘विवाह पछि गर्छु। मेरो विवाहलाई जोहो गरेको पैसा अहिले दिनुहोस्।’
उनका अभिभावकको मनमा तत्काल के बित्यो, बताएनन्। तर, जम्मा गरिराखेको ५ लाख रुपैयाँ छोरीलाई दिए। त्यही पैसाले सविताले ‘स्पेसल स्कुल फर डिसएबल्ड एन्ड रिहाबिलिटेसन सेन्टर’ सुरु गरिन्।
दुई बच्चालाई साथमा राखिन्। तीमध्ये एउटा बच्चा भक्तपुरको त्यही सुकुमबासी टोलका थिए। अर्कोचाहिँ ओखलढुंगामा मन्दिरमा अलपत्र अवस्थामा फालिएका अनाथ बालक। ०६७ सालदेखि यही संस्थामार्फत् सेवा सुरु गरिन्। अहिले उनको संस्थामा ६० जना अटिजम भएका बालबालिका छन्। अरू थुप्रै प्रतीक्षा सूचीमा छन्।
बच्चा खोज्न जाँदा कुकुर फुकाएर लघार्थे
विवाह गर्ने उमेरमा अटिजम भएका बालबालिका स्याहारेर बसेकी सवितालाई आफ्नादेखि पराइसम्मले वचन लगाए। उनीहरू कटाक्ष गर्थे, ‘आफ्नै बच्चा स्याहारेर बस्ने बेला अरूका बच्चा हेरेर बसेकी छ।’
उनी अटिजम भएका बालबालिका खोज्न मानिसहरूका घरघरमा पुग्थिन्। मनिसहरू कुकुर लगाउँथे र उनलाई लघार्थे।
‘कुकुरले टोकेको खत पनि शरीरमा छ,’ उनले सुनाइन्।
सवितालाई लामो समय कसैले पत्याएनन्। मानिसहरूमा विश्वास भर्न ठूलो संघर्ष गर्नुपर्यो। अहिले उनको संस्थाबाट थुप्रै बालबालिका हुर्किँदै सामान्य भएर निस्किएका छन्।
बच्चाहरू बढ्दै गए। भवन थिएन। सविताले अटिजम स्कुलका लागि एक इँट अभियान सञ्चालन गरिन्। अभियान लिएर देश तथा विदेशका थुप्रै ठाउँमा गइन्। हात फैलाइन्।
धेरैले सकेको सहयोग गरे। केहीले शंका पनि गरे। उनले नमीठा वचन भुलिदिइन्। अहिले दुईवटा विशेष विद्यालय सञ्चालनमा छन्। त्यहाँ ६० बालबालिका आउँछन्।
हालै सवितालाई अटिजम भएका बालबालिकाको शिक्षामा उल्लेखनीय काम गरेवापत् यस वर्षको अन्तर्राष्ट्रिय साहसिक महिला पुरस्कार प्रदान गर्ने निर्णय भएको छ। यो पुरस्कार भारतीय मानव अधिकार परिषद्ले मानवअधिकार र शान्तिका लागि योगदान पुर्याउने विश्वभरका मानिसलाई प्रदान गर्दै आएको छ। यसअघि नेपालबाट लीली थापा र राधा पौडेलले यो पुरस्कार पाएका थिए।
उनलाई अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसर पारेर डिसेम्बर १० मा नयाँ दिल्लीमा पुरस्कार प्रदान गर्ने परिषद्ले जनाएको छ। यो पुरस्कारको घोषणा भएसँगै सविताको चर्चा चुलिएको छ। बधाईका फोन र म्यासेजले सविता पुलकित छन्। अझ उनी त्यतिबेला सबैभन्दा धेरै खुसी भइन्, जब सविताले ७ वर्षदेखि स्याहारेकी अनिशाले फोन गरेर भनिन्, ‘म्याम, तपाईं पुरस्कृत हुनुभएछ, हजुरलाई बधाई छ।’
यो खुसी सुनाउँदै गर्दा सविताका आँखा आँसुले टिलपिल भएका थिए।
विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार प्रत्येक वर्ष संसारभर बालबालिकामा अटिजम बढ्दो मात्रामा देखिएको छ।
शरीर स्वस्थ र पूर्ण भए पनि मस्तिष्कको पूर्ण विकास नभई बालबालिकाको जन्म हुने अवस्था अटिजम हो।
अटिजम लागेका बालबालिकालाई पढाउने कुनै विशेष विद्यालय, संयन्त्र र जनशक्ति नभएको समयमा २२ वर्षकी सविताले पहिलोपटक यस क्षेत्रमा काम गर्न सुरु गरेकी थिइन्। पेप्सीकोलाको एउटा कोठाबाट सुरु भएको ‘स्पेसल स्कुल फर डिसएबल्ड एन्ड रिहाबिलिटेसन सेन्टर’ अहिले नरेफाँट, ताथली र गोठाटारमा विस्तार भएका छन्।
सविता विशेष स्कुलमा ४ देखि १२ वर्षसम्मका बालबालिकाको शारीरिक, बौद्धिक एवं मानसिक विकासमा ध्यान दिन्छिन्। तिनलाई सीप सिकाएर आत्मनिर्भर बन्न सघाउँछिन्। अटिजमका बारेमा बुझाउन गाउँगाउँमा पुग्छिन्।
अब त उनले जीवनका अरू सबै सपना भुलिसकिन्। उनका बुबा–आमाले पनि छोरीले हिँड्न खोजेको बाटो बुझिसकेका छन्। सवितालाई बालबालिकाको स्याहारमा सघाउँछन्।
अटिजम भएका बालबालिकालाई अध्ययनका लागि सरकारी स्कुलमा सहज छैन। उनको संस्थामा अटिजम भएका बालबालिकालाई आवश्यकताअनुसार विशेष शिक्षा दिइन्छ। बालबालिकाको अवस्थाअनुसार फरकफरक सिकाइ हुन्छ। उनीहरूलाई स्पिच थेरापी, बिहेबिअर थेरापी, अकुपेसनल थेरापी, सेन्सरी थेरापी, फिजियोथेरापी, म्युजिक थेरापी, नृत्य थेरापी दिइन्छ। कसैलाई योग गराइन्छ। आवश्यकताअनुसार स्वास्थ्य जाँच पनि गरिन्छ।
‘उनीहरूलाई आफ्नो हेरचाह आफै गर्न सक्ने बनाउनु नै चुनौतीपूर्ण छ,’ सविता सुनाउँछिन्।
उनको स्कुलमा आउँदा अस्वाभाविक व्यवहार गर्ने बालबालिका जब स्वाभाविक बन्दै जान्छन्, सविताको मुहारमा खुसी फैलिँदै जान्छ। उनी ती बालबालिकालाई सीपमूलक तालिमसँगै स्वरोजगार पनि बनाएको बताउँछिन्।
उनीहरूलाई क्रिस्टलको गहना बनाउने, फेब्रिक पेन्टिङ र ढाका कपडा बुन्न सहयोग गर्छिन्। उनको स्कुलमा बालबालिकाको अवस्था हेरेर निःशुल्क र शुल्कसहित शिक्षाको व्यवस्था गरिएको छ। भन्छिन्, ‘हुनेसँग लिनुपर्यो, नहुनेलाई दिनुपर्यो।’
सविता अटिजम भएका बालबालिकालाई त्यहीअनुसार स्वीकार गर्छिन्। तर, शिक्षक र उनको स्कुलमा काम गर्ने कर्मचारी लामो समय टिक्दैनन्। आफैले स्याहारेका बालबालिकाले शिक्षक एवं अन्य व्यक्तिलाई चिथोर्छन्, आक्रमण गर्छन्। कयौंपटक शिक्षकलाई अस्पताल लगेर उपचारसमेत गर्नुपरेको उनको अनुभव छ।
बच्चाहरूको व्यवहारबाट आजित भएर कहिलेकाहीँ शिक्षकहरू आँखाभरि आँसु पार्छन्। सविताको मनमा तर्कना आउँछ, ‘कसैलाई स्याहार गरिरहँदा कसैलाई मेरै कारण पीडा पो भइरहेको छ कि!’
कयौँले हार मानेर उनको संस्था छाडेर गए। सविताले भने हार मानेकी छैनन्। बुबाआमा छोरीले घरजम गरिन भनेर दुःखमनाउ गरिरहन्छन्। उनलाई भने अहिले पनि अटिजम भएका बालबालिकालाई कोठामा थुनेको सुन्दा मुटु पोल्छ। सीमित स्रोतसाधनका कारण सबैलाई सेवा दिन नसकेकोमा खिन्न हुन्छिन्।
तर, उनी आफ्नो मानव जीवनलाई सार्थक बनाउन चाहन्छिन्। भन्छिन्, ‘अर्कोपल्ट मान्छे हुन पाइने हो कि होइन। मानव हुनुको अवसरलाई गुमाउन चाहन्नँ। यही काममा लागिरहन्छु।’
Shares
प्रतिक्रिया