नाम संगीता थापा। उनको उमेरले ५० वसन्त पार गर्यो। मकवानपुरगढी ४ मनकामना डाँडामा दोस्रो पटक पुग्नेहरूले उनलाई आलुचप आन्टी भनेर बोलाउँछन्। संगीताले यो नाम आफ्नो पौरखले बनाएकी हुन्।
उनको घरनजिकै मनकामना मन्दिर छ। यो मन्दिरलाई तीर्थालुहरूले सानो मनकामना भनेर पुकार्ने गर्छन। मन्दिरबाट केही सिँढी तल झरेपछि आउँछ संगीताको आँगन। यो आँगनमा बिहान ५ बज्दा नबज्दै आगो बलिसक्छ। लगभग हरेक दिन बिहान ११ बजेसम्म एकनासले आगो बलिरहन्छ।
संगीता हरेक दिन बिहान ४ बजे उठिसक्छिन्। ठूलो कुकरमा आलु बसाउँछिन्। प्याज, खुर्सानी, हरियो धनियाँ काट्छिन्। चनाका दाना हाल्छिन् र आलु मिच्छिन्। अनि बनाउँछिन् आलुचप। एक पटक पुगेका उनका ग्राहक बारम्बार पुग्छन् उनले पकाएको आलुचप खान।
संगीताका २ छोरी छन्। उनीहरूको विवाह भैसक्यो। एक छोरा, बुहारी र श्रीमान हरेक दिन मन्दिर आउने जानेलाई आलुचप खुवाउनमै व्यस्त हुन्छन्। संगीता भन्छिन्, शनिबार त एकैदिन १० हजारको व्यापार हुन्छ। अरुदिन पनि २ देखि ३ हजारको व्यापार हुन्छ।
३ वर्ष अघिसम्म संगीता गढी ४ कै फिर्के पाखामा बस्थिन्। पाखो बारीमा जे हुन्छ, फलाउँथिन्। गाई पालेर दूध बेच्थिन्। बाख्रा, कुखुरा पालन गर्थिन्। दुःख धेरै थियो। गाईवस्तु बिरामी पर्थे। तनाव त्यस्तै थियो। मनहरी रजैयाकी उनले १३ वर्षको उमेर गढीका रामशरण थापासँग विवाह गरेकी थिइन्। संगीताले जीविकोपार्जनकै लागि थुप्रै दुःख गरिन्। छोरी मान्छे आयआर्जनका लागि बाहिर निस्कने चलन थिएन।
‘फेरि अनपढ म बाहिर निस्किएर पनि के गर्ने थाहा थिएन। जिन्दगी गोठ, बारीमै बित्छ जस्तो लाग्थ्यो। हिलोधुलोमै दिन बित्थे। हिजोआज सहज भएको छ,’ संगीताले सुनाइन्।
४ वर्षअघि उनका ससुराको देहान्त भयो। मनकामना डाँडामा उनकी सासू एक्लै भइन्। त्यसपछि संगीताका श्रीमान फिर्के पाखो छोडेर माथि उक्लिए। श्रीमानसँगै मनकामना डाँडा पुगेकी संगीताले देखिन्, वरिवपरि सानासाना पसल थापेर आयआर्जन गरिरहेका महिला। आफ्नो हातमा पैसा हुँदा उनीहरूमा आएको आत्मविश्वास। त्यसपछि उनले पनि केही गर्ने निर्णय गरिन्। तर के गर्ने केही समय अन्यौल भयो।
उनको घरसँगै जोडिएको घरमा आलुचप पकाउँथे। मन्दिर आउने दर्शनार्थी मिठो मानेर आलुचप खान्थे। यसमा धेरै लगानी पनि जुटाउनु पर्दैनथ्यो। संगीतालाई पनि सानो लगानीबाट सुरु गर्ने व्यवसाय चाहिएको थियो। ३ वर्षअघिको एक साँझ घरको बलेसी खनिन्। ओदान गाडिन र सुरु गरिन् आलुचप बनाउन। त्यसयता उनी आलुचप बेचिरहेकी छिन्।
संगीताले आलुचप व्यवसाय सुरु गरेपछि अन्य पसलमा भन्दा उनको पसलमा ग्रहाकको भीड बढ्न थाल्यो। बिस्तारै वरपरका अन्य पसलमा दैनिक आलुचप पाक्न छोड्यो। संगीताले भने आलुचपमा थपिन् सेल र तरकारीको आइटम। लोकप्रिय भने आलुचप छ।
मनकामना डाँडाको विशेषता नै आलुचपसँग जोडिन थालेको छ। आलुचप खान ग्राकहले १ घण्टासम्म कुर्ने गरेको संगीताका श्रीमान् रामशरण सुनाउँछन्। भन्छन्, ‘शनिबार त यहाँका हरेका आँगनमा, बाटोको वारिपारि समेत आलुचप दोकान हुन्छन्।
बिहीबार बिहान मनकामना पुग्दा अन्य पसलहरू सुनसान देखिन्थे। संगीताको चुलोवरिपरि मान्छेको भीड देखिन्थ्यो। संगीताले पकाएको आलुचप खान ग्राहकहरू हातमा कागज लिएर पालो पर्खिरहेका थिए। संगीताले बहानबाट निकालिनसक्दै ग्राहक हारालुछ गर्थे। संगीता कसले कति आलुचप लगे भनेर गन्न पनि भ्याउँदिनथिन्।
‘यसरी त तपाईंलाई घाटा लाग्छ होला नि?’
हाम्रो जिज्ञासा मेटाउँदै संगीता बोल्छिन्, ‘मेरो व्यापार विश्वास र इमान्दारीको हो। अब कसैले छलेर दुई चार वटा खाएर हिँडे भने पनि के नै गर्न सकिन्छ र!’
सुरुमा उनी आलुचप प्रतिगोटा ५ रुपैयाँका दरले बेच्थिन्। अहिले दस रुपैयाँ पर्छ।
संगीता भन्छिन्, ‘मैले बनाएको आलुचप खान ग्राहक सम्झीसम्झी आउनुहुन्छ। एक पटक आएर खाएर जानेहरूले आउने आफन्तलाई खाएर आउनु है, मनकामनाको आलुचप मिठो छ भन्नु हुँदो रहेछ। कुनै विज्ञापन गर्नु परेको छैन। ग्राहक आफैँले विज्ञापन गरिदिनु हुन्छ। अस्ति एउटा भाइले भन्न हुन्थ्यो, तपाईंको आलुचपको त माउथ पब्लिसिटी हुँदो रहेछ। त्यो भनेको के हो कुन्नि?’
संगीतालाई व्यापारमा उनका श्रीमान र छोराले सघाउँछन्। सासू पनि कहिले आलु छोडाएर, कहिले ग्राहकलाई आलुचप दिएर बुहारीलाई सहायता गर्छिन्। संगीताको ४ जनाको परिवार आलुचपले राम्रोसँग पालेको छ।
‘परिवार नै पाल्नका लागि त न देश छोड्नु पर्दो रहेछ, न घर नै। सामान्य सपनामा रमाउन सक्यो भने परिवारसँगै बस्न पाइँदो रहेछ। अब ठुल्ठूला सपना बुनेको भए त श्रीमान खाडीमा, छोरा कहाँ पुग्थे होला। साना सपना पूरा गरेर बाँच्न यही आलुचपले दिएको छ,’ संगीताले भनिन्।
संगीताले गाउँका धेरै महिला आफ्नो हातमा पैसा नहुँदा दुःखी भएको, खुम्चिएको देखेकी छिन्। हातमा केही सीप छैन भनेर आर्थिक उपार्जनको बाटोबाट पन्छिरहेका देख्छिन्।
उनीहरूलाई संगीताको सन्देश छ, ‘हाम्रो हातमा जे सीप छ, त्यसैलाई व्यवसाय बनाउने रहेछ। मैले आलुचप बनाउन जानेँ, यसैलाई व्यवसाय बनाएँ। सुरुमा गाह्रो थियो। अरु पनि पसल थिए। अहिले दैनिक आलुचप पाक्ने मेरो चुलोमा मात्रै हो। अरुले शनिबार मात्रै पकाउँछन्,’ उनी भन्छिन्, ‘मेरो अम्दानी राम्रो छ। परिवार पालिएको छ। अरु दिदीबहिनीले पनि आफ्नो हातमा जे सीप छ, त्यसैलाई व्यवसाय बनाऊन् अनि सम्मानको जीवन बाँचून्।’
Shares
प्रतिक्रिया