जताततै तिहारको झिलिमिल छ। वरपर ढकमक्क फूल फुलेका छन्। झिलिमिली बत्तीले घर सिंगारिएका छन्।
घरबाट टाढा भएकाहरु तिहारका लागि घर फर्की आएका छन्। गाउँ सहरमा हर्षोल्लास छाएको छ। तर बझाङको थलारा गाउँपालिका–९ सिरेटा टोललाई अहिलेसम्म चाडबाडले छोएको छैन। सिरेटाबासी भूकम्पको पीडाले हायलकायल छन्।
असोज १६ गते बझाङ सदरमुकाम चैनपुर आसपास केन्द्रबिन्दु बनाएर गएको भूकम्पले सयौँ परिवारलाई घरबारबिहीन बनाएको छ।
भूकम्पले घर भत्किएका पीडित परिवार महिना दिन बितिसक्दा पनि राम्रोसँग सुत्न पाएका छैनन्। तारन्तार आइरहेका परकम्पले उनीहरु त्रसित छन्। राति ओत लाग्ने घर भूकम्पले छियाछिया बनाएपछि पीडितको अहिले त्रिपालुमनि बास छ।
‘भएभरको अन्नपात, लुगाकपडा सबै घरभित्रै पुरियो। घर बस्नै नमिल्ने भताभुंग छ,’ थलारा गाउँपालिका–९ सिरेटा टोलका ७३ वर्षीय लालबहादुर सिंह भन्छन्, ‘त्रिपालमुनि बास बसेर रात काटिरहेका छौँ, खान लाउनलाई समस्या छ, कसरी चाडबाड मनाउने?’
उनको सिरेटा टोलमा १० जनाको परिवार छ। पानी परिरहेकोले कठ्याङ्रिदो जाडोमा त्रिपालमुनी रात काट्नु पर्दा गाह्रो भएको उनले बताए
‘भूकम्पले हल्लाउन छोडेको छैन, पटक पटक परकम्प आइरहेका छन्। हिजो राति मात्रै गएको परकम्पले त्यही जिर्ण घरलाई फेरि भत्काएको छ,’ स्थानीय नरबहादुर कामीले भने, ‘चिसो पनि बढ्न थालेको छ। त्रिपालमुनि कठ्याङ्रिएर रात बिताउनु परेको छ।’
भूकम्पले थलारा गाउँपालिका–७ र ८ मा बढी भौतिक क्षति गरेको थियो। थलारा–९ को मालुमेला मात्रै ७० परिवार त्रिपालमुनी आश्रय लिएर बसेका छन्।
बझाङमा भूकम्पले पु¥याएको क्षति निरीक्षण गर्न आएका प्रधानमन्त्री पुष्पकमल दाहालले तत्काल पीडितलाई राहत उपलब्ध गराउने प्रतिवद्धता जनाएका थिए। तर बझाङका भूकम्प प्रभावितले अहिलेसम्म राहत पाएका छैनन्।
‘एउटा त्रिपाल र कम्मल बाहेक सरकारले केही दिएको छैन। प्रधानमन्त्रीज्यूले घोषणा गरेको राहत कहिले पाउँने हो, ठेगान छैन,’ स्थानीय मोहनराज जोशीले भने, ‘डेढ महिना पुग्नै लाग्यो, अहिलेसम्म राहत आएको छैन।’
Shares
प्रतिक्रिया