असोज दोस्रो साता नेपालगन्जबाट काठमाडौं आउँदै गर्दा भारती मानन्धर अन्योलमा थिइन्। न उनलाई काठमाडौंका ठाउँहरूबारे जानकारी थियो, न खाने र बस्ने ठेगान। उनलाई एउटै कुरा थाहा थियो, ‘म यो सरकारविरुद्ध लड्छु।’
लडाइँ सजिलो हुनेछैन भन्ने उनलाई थाहा थियो।
‘कठिन मात्रै थिएन, कसरी न्याय मागौँ भन्ने कुनै खाकासमेत थिएन,’ न्याय पाएपछिको भेटमा भारतीले सुनाइन्।
सरकारले संविधान दिवसको अवसर पारेर उनका श्रीमानको हत्यामा जन्मकैदको सजाय बिताइरहेका योगराज ढकाल (रिगल) लाई माफी दियो। यसविरुद्ध भारतीले सडक संघर्ष गरिन्। अदालतले सरकारको निर्णय उल्टाइदियो। रिगल पुनः कारागार चलान भए। भारतीले न्याय पाइन्।
सर्वोच्चले भन्यो– जन्मकैदको सजायमा मिनाहा पाइँदैन, स्वेच्छाचारी निर्णय नगर (आदेशसहित)
शनिबार साँझ भेटिएकी भारती नेपालगन्ज फर्किने चटारोमा थिइन्। हतारमा उनले भनिन्, ‘योगराजप्रति मेरो कुनै गुनासो होइन। न ऊप्रति कुनै मन दुखाइ नै छ। ऊ आफ्नो अपराध स्वीकार गरेर आत्मसमर्पण गरेको मान्छे हो। मेरो मन दुखेको मेरो देशका प्रधानमन्त्री, राष्ट्रपति र सरकारमा सामेल रहेकाहरूसँग हो। लडाइँ पनि उनीहरूसँगकै थियो। उनीहरूप्रति मरेको मेरो मन कहिल्यै फर्किंदैन।’
जब भारतीले न्यायका लागि माइतीघर मण्डलालाई आफ्नो गन्तव्य बनाइन्, त्यसपछिका दिन झनै कहालीलाग्दा भए। माइतीघरमा टाँगिएका ब्यानर, ब्यानरमा लेखिएका माग, सरकारविरोधी नारा, न्याय माग्दामाग्दै आस मारेर बसेकाहरूका सुस्केरा, सबै–सबै कुराले भारतीलाई कयौँपटक बिथोल्न खोज्यो। त्यसमाथि नजिकै अनसन बसिरहेकाहरू आउँथे र भन्थे, ‘नानी यो देशमा न्याय पाउने पहुँचवालाले हो। हामी न्याय माग्दामाग्दै गलिसकेका छौँ। तिमी पनि एक दिन गलेर फर्किनेछौ।’
भारतीलाई चिच्याउन मन लाग्थ्यो, तर मौन बस्थिन्। साँच्चै भन्ने हो भने उनलाई न्याय पाइँदैन भन्नेमा ९९ प्रतिशत ढुक्क थिइन्।
थुप्रै मानिसहरू अनसनस्थलमा आएर उनलाई हतोत्साही बनाउन खोज्थे। भन्थे, ‘तिम्रो पनि हत्या हुन्छ बहिनी, तिमीलाई न्याय मिल्दैन।’ हौसला दिने मानिस निकै कम थिए। भारती भन्छिन्, ‘म तिनै थोरै मानिसले दिएको आत्मविश्वासले निरन्तर लडिरहेँ।’
त्यहीबेला रिगलले एक टेलिभिजनमा गएर अन्तर्वार्ता दिए। रिगलले त्यस क्रममा दिएका प्रतिक्रियाले भारतीलाई झन् धेरै कमजोर बनायो। त्यसपछि चेतन मानन्धरको मृत्युपछि उनले जोडेको घरबारलाई लिएर मान्छेहरूले गरेको टिप्पणीप्रति पनि चित्त दुखाइन्।
‘मलाई सबैभन्दा कमजोर महसुस त्यतिबेला भएको थियो। कतिजनाले अर्को मानिससँग जोडिएर पनि पहिलाको श्रीमानका लागि कसरी आँसु झारेकी होला पनि भने,’ उनले भनिन्, ‘तर उनीहरू कसैले बुझेनन्, चेतन मेरो पहिलो प्रेम र शृंगार थियो। उसको प्रेममा परेर १४ वर्षको कलिलो उमेरमा जन्म दिने बुवाआमा छोडेर हिँडेकी थिएँ। ऊसँग मेरो हृदय गाँसिएको छ। ऊ नभएपछि जीवनयापनको सहज बाटो खोज्दै जाँदा म कहाँ पुगेँ, मसँग को ठोक्किन आइपुग्यो भन्ने कुराले ऊप्रतिको मेरो साइनो मेट्न सक्छ र?’
‘यो प्रश्न बाहिर आएपछि मलाई वकिलहरूले पनि साथ दिनुभयो। उहाँहरूले कानुनका बारेमा बुझाउनुभयो। यो संघर्षमा मेरो जीवनसँग गाँसिएका अन्य कुराले केही असर गर्दैन भनेर सम्झाउनुभयो,’ भारती सम्झन्छिन्।
बेलाबेला उनी सामाजिक सञ्जालमा आएका कमेन्ट हेर्थिन्। अपराध गर्नेका पक्षमा भइरहेका बहस र वकालत हेर्थिन्। भारतीको मन अशान्त हुन्थ्यो। कतिपय अवस्थामा डाँको छाडेर रुन्थिन्। सञ्जालमा क्रिया–प्रतिक्रिया धेरै हुन थालेपछि उनले मोबाइल नै बोक्न छोडिन्। अहिले पनि मोबाइल बोकेकी छैनन्।
‘न्याय त पाएँ, मन शान्त हुन अझै समय लाग्ला। त्यसपछि बल्ल मोबाइल बोक्छु,’ उनी सुनाउँछिन्।
भारती अनशनमा बसेकै बेला दसैँ सुरु भयो। दसैँअघि अदालतले फैसला सुनाउन सकेन। लामो समय अदालत बन्द हुने भयो। वकिलहरूले भने, ‘तिमीले आफ्नो स्वास्थ्यको ख्याल गर्नू। दसैँ राम्रोसँग मनाउनू।’
भारती नेपालगन्ज फर्किइन्। तर, उनले आफू नेपालगन्ज गएको कुरा कसैलाई भन्न सकिनन्। भन्छिन्, ‘म नेपालगन्ज फर्किएको छु भन्ने थाहा पाएको भए जसले जे पनि त गर्न सक्थे। म एक्लै लडिरहेको मान्छे, मसँग को थियो र? २ जना भाइहरू थिए। यहाँ आएर अनसन सुरु गरेपछि केही साथीहरू जोडिए। तर, मेरो विरुद्ध सिंगो सरकार थियो। सरकारी संयन्त्र नै अपराधीको साथमा थियो।’
भारतीको स्वास्थ्य अवस्था नाजुक भएको थियो। भोकभोकै बसेका कारण ग्यास्ट्रिकले सतायो। भन्छिन्, ‘कमजोर शरीर लिएर लड्न पनि गाह्रो थियो। तर, यो संघर्ष बीचमै छाडेर हिँड्ने छूट मलाई थिएन।’
अनसनस्थलमा सबैभन्दा ठूलो समस्या थियो, शौचालयको। सवारी र मानिसको ठूलो चाप भइरहने स्थान, लामो समयदेखि अनसनमा बसिरहेका मानिसका समर्थक र मिडियाकर्मीको आउजाउ, यो भीडमा भारती पिसाब च्यापेर बस्थिन्।
केही दिनदेखि माइतीघरमै होटल चलाएर बसेका एक युवकले उनलाई हेरिरहेका थिए। एकदिन उनले भने, ‘तपाईंलाई शौचालय प्रयोग गर्नुपर्यो भने मेरो होटलमा छ।’
भारती आँखाभरि आँसु पार्दै भन्छिन्, ‘म आउँदा एक्लो आएको थिएँ, फर्किंदा थुप्रैको माया लिएर फर्किंदै छु।’
भारतीले न्यायको प्रत्याभूति त गरेकी छन्। तर, फेरि अन्यायमा परिन्छ कि भन्ने सन्त्रास बाँकी नै छ।
भन्छिन्, ‘यो राज्यविरुद्ध लडेकी मैले यही राज्यमा आफूलाई बचाउनुपर्नेछ। थाहा छैन, अबको मेरो जीवन कति सहज हुन्छ, कति असहज हुन्छ। तर जे हुन्छ, जति बाँच्छु, मजस्तै अन्यायमा परेका दिदीबहिनीका न्यायिक लडाइँमा साथ दिन्छु।’
Shares
प्रतिक्रिया