राजस्व अनुसन्धान विभागले गत साउन ३ गते बरामद गरेको सुन तस्करीको अनुसन्धानका लागि सीआईबीले अनुसन्धान अधिकृतलाई भारत पठाएको छ। प्रहरी नायब उपरीक्षक (डीएसपी) धर्म भण्डारीलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बिहीबार भारत पठाएको सीआईबीका उच्च अधिकारीले नेपालखबरलाई जानकारी दिए।
डीएसपी भण्डारीले यसअघि पनि विभिन्न अपराधमा संलग्न रही भागेका अभियुक्तलाई पटक–पटक भारत पुगेर पक्राउ गरेका छन्। यसअघि बालुवाटार जग्गा प्रकरणको अनुसन्धान गरेका भण्डारीलाई उक्त अनुसन्धान सकिएसँगै ६० किलो सुन तस्करीको अनुसन्धानमा संलग्न गराइएको थियो।
अनुसन्धान टोलीमा सामेल गराएको एक सातामै उनलाई भारतमा खटाइएको हो।
सीआईबीको टोली यसअघि समेत भारत पुगेर अनुसन्धान गरिरहेको थियो। बुधबार मात्रै सुन तस्करीमा संलग्न किशोर बस्नेतलाई भारतबाट पक्राउ गरेर ल्याइएको थियो।
नेपाल र भारतमा सुन तस्करी गर्ने समूह एउटै भएको पाइएपछि थप अनुसन्धानका लागि टोली भारत पुगेको हो। दिल्लीस्थित नेपाली दूतावासमा प्रहरी कन्सुलर प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) उमाप्रसाद चतुर्वेदी कार्यरत छन्।
चतुर्वेदीलाई पनि यस अघिबाटै यो प्रकरणको अनुसन्धानमा खटाइएको छ। उनीसहितको टोलीले स्थानीय प्रहरीको सहयोगमा त्यहाँ रहेर अनुसन्धान गर्नेछ।
भारतमा समन्वय गरिदिनका लागि सीआईबीले यसअघि इन्टरपोलमार्फत आग्रह समेत गरेको थियो।
यसअघि भारतमा पनि यही समूहले हङकङबाट सुन तस्करी गरेको खुलेपछि त्यहाँबाट पनि कनेक्सन पत्ता लगाउन लागिएको हो। नेपालमा अहिले पक्राउ परेका तीन चिनियाँ यसअघि भारतमा सुन तस्करीमै संलग्न रही कारबाही भोगेर नेपाल आएको खुलेको छ।
यसअघि सीआईबीले एसएसपी दिनेशकुमार आचार्यलाई हङकङ पठाएको छ। आचार्यले स्थानीय प्रहरीको सहयोगमा त्यहाँ पनि अनुसन्धान सुरु गरेका छन्। चिनियाँ तस्करले हङकङबाट नेपाल भित्र्याएको सुन भारतसम्म पु¥याउने गरेको पाइएको छ।
सुरुमा राजस्व अनुसन्धान विभागले बरामद गरेको ६० किलो ७ सय १६ ग्राम सुन तस्करीबारे साउन २१ गतेदेखि सीआईबीले अनुसन्धान गरिरहेको छ।
राजस्वले पक्राउ गरेका १७ प्रतिवादी र संकलन गरेका प्रमाणसहित यसको अनुसन्धानको फाइल सीआईबीलाई बुझाएको थियो।
अहिले सीआईबी प्रमुख एआईजी किरण बज्राचार्यको नेतृत्वमा सुन प्रकरणको अनुसन्धान भइरहेको छ। अनुसन्धानमा विशेष ब्युरोका डीआईजी रामदत्त जोशी र इन्टरपोल शाखाका एसपी अनुपम शमशेर जबरासहितको टोलीलाई सामेल गरिएको छ।
Shares
प्रतिक्रिया