ad ad

समाज


६० किलो सुन तस्करीको अन्तर्राष्ट्रिय गिरोह खोज्न सीआईबीले माग्यो इन्टरपोलको सहयोग

६० किलो सुन तस्करीको अन्तर्राष्ट्रिय गिरोह खोज्न सीआईबीले माग्यो इन्टरपोलको सहयोग

नेपालखबर
भदौ ८, २०८० शुक्रबार २२:४५, काठमाडौँ

राजस्व अनुसन्धान विभागले बरामद गरेको ६० किलो सुन तस्करी प्रकरणको अनुसन्धानमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले इन्टरपोलको सहयोग मागेको छ। हङकङबाट तस्करले भित्र्याएको सुन तस्करीमा चिनियाँ र भारतीय नागरिक पनि जोडिएपछि सीआईबीले इन्टरपोलको सहयोग खोजेको हो। 

यस्तै यी देशका प्रहरीसँग पनि समन्वय गरिरहेको प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ। 

‘हङकङमा समन्वय गरिरहेका छौँ। भारतमा पनि छुट्टै हिसाबले समन्वय भइरहेको छ। तर यसमा अन्तरदेशीय गिरोहको संलग्नता देखिएकाले इन्टरपोलको पनि सहयोग मागेका छौं,’ प्रहरी उच्च स्रोतले भन्यो। 

यस्तै नेपालमा सुन तस्करीमा संलग्न केही चिनियाँ देश फर्किसकेको पाइएपछि त्यहाँको पनि सहयोग लिन इन्टरपोल शाखा मार्फत सीआईबीले इन्टरपोललाई पत्राचार गरेको छ। 

गत साउन ३ गते राजस्व अनुसन्धान विभागले बरामद गरेको करिब ६० किलो सुन हङकङबाट ब्रेक प्याडमा भित्रिएको थियो। भन्सार जाँच पास भइसकेको अवस्थामा राजस्वले बरामद गरेर गिरोहका केही सदस्यलाई तत्काल पक्राउ गरेको थियो। 

यो प्रकरणमा भन्सारका कर्मचारी, भन्सार एजेन्ट, केही नेपाली गिरोह र चिनियाँ गिरोहका ७ जना पक्राउ परेका छन्। सुन तस्करीमा संलग्न रहेको आरोपमा अहिलेसम्म २३ जना पक्राउ परिसकेका छन्। यस्तै थप केही चिनियाँसहितको संलग्नता पुष्टि भए पनि उनीहरु फरार छन्। 

यस्तै चिनियाँ गिरोहका भारतीय प्रेमिकालाई पनि सीआईबीले पक्राउ गरेको छ। अहिलेसम्म उनीहरुको सुन तस्करीमा संलग्नता नखुले पनि थप अनुसन्धान भइरहेको प्रहरी उच्च स्रोतले जानकारी दिएको छ। 

यसअघि भारतमा सुन तस्करीमै पक्राउ परेर सजाय भुक्तान गरेर छुटेकाहरु पनि नेपालमा सुन तस्करीमा संलग्न रहेको पाइएपछि थप अनुसन्धानका लागि नेपाल प्रहरीले भारतीय प्रहरीसँग पनि छुट्टै समन्वय गरिरहेको छ। 

सुरुमा राजस्व अनुसन्धान विभागले नै अनुसन्धान गरिरहेको यो मुद्दा साउन २१ गते सीआईबीलाई जिम्मा दिइएको थियो। राजस्वले १७ आरोपितसहित सीआईबीलाई जिम्मा दिएको थियो। 

सीआईबीले अहिले यो प्रकरणको अनुसन्धान गरिरहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .