हङकङबाट सुन नेपाल भित्र्याउने समूहले सेटिङ मिलाउन र प्याक गरिएको ‘ब्रेक शु’ बाट सुन छुट्याउन सामाजिक सञ्जाल वीच्याट प्रयोग गरेको पाइएको छ। नेपाल भित्र्याएका ‘ब्रेक शु’ का काटनबाट सुन राखिएको र नराखिएको काटन छुट्याउन वीच्याटको बारकोड प्रयोग भएको खुलेको हो।
हङकङमै प्याक गरेर पठाइएका समानमध्ये कुनमा सुन छ र कुनमा छैन भनेर छुट्याउन वीच्याटको बारकोड प्रयोग भएको पाइएको हो। भित्र सुन राखिएका ब्रेक शु खोलेको र नराखिएका नखोलेको पाइएपछि राजश्व अनुसन्धान विभागले गरेको अनुसन्धानमा बारकोडबाट सुन भए नभएको पत्ता लगाउने गरेको खुलेको हो।
विभागको टोलीले शनिबार राति काठमाडौंको सोह्रखुट्टेस्थित गोदाममा छापा मारेर सुन झिकिसकिएको ब्रेक शु बरामद गरेको छ। सोह्रखुट्टे गोदाममा ६६ काटन बे्रक शु भेटिएको थियो, जसमा अधिकांश खोलि सकिएका थिए।
खोलिएका काटनमा सुन नै रहेको राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानाले बताए।
अनुसन्धानमा खटिएका एक अधिकृतले नेपालखबरलाई दिएको जानकारी अनुसार क्युआर कोड स्क्यान गरेर सुन भए नभएको यकीन गरेको पाइएको छ।
‘हङकङबाट ब्रेक शु नेपाल भित्र्याउन थालेदेखि नै सुन तस्करी हुन थालेको पाइयो,’ ढुंगानाले भने, ‘सबै ब्रेक शुको प्याकमा सुन नराख्ने, छानी छानी राख्ने, नेपाल ल्याएपछि सुन राखेको र नराखेको ब्रेक शु छुट्याउन बारकोड प्रयोग गर्ने गरेको देखिन्छ, थप अनुसन्धान गरिरहेका छौं।’
नेपालमा तस्करीमा यस्तो प्रयोग भएको संभवतः पहिलो पटक भेटिएको हो। यसले तस्करीमा प्रविधिको प्रयोग कसरी भइरहेको छ भन्ने देखाउँछ।
‘नेपाल आएका ब्रेक शु राखिएका हरेक प्याकेटको बाहिर बारकोडको स्टिकर टाँसिएको पाइएको छ,’ ढुंगाना भन्छन्, ‘वीच्याट खोलेर त्यो बारकोड स्क्यान गरेपछि भित्र सुन छ भने गोल्ड भनेर देखाउने रहेछ।’
त्यस्तै सुन कारोबारमा संलग्न अधिकांश मानिसहरूले यस कार्यमा वीच्याट प्रयोग गरेको पाइएको छ, जसबाट यसमा चिनियाँ नागरिकहरूको संलग्नता झल्किन्छ।
‘यति सम्म कि सुन व्यवस्थापन गर्न खटाइएका मानिसहरूलाई वीच्याट चलाउन मोबाइल समेत तस्करले नै किनिदिँदा रहेछन्। अनि वीच्याटको सबै नियन्त्रण आफैँ गर्दा रहेछन्,’ ढुंगानाले थपे, ‘तस्करी कार्यमा संलग्न व्यक्ति पक्राउ परेपनि सबै सूचना बाहिर ल्याउन जटिल हुनुको कारण यही हो।’
दुई महिनायता हङकङबाट ल्याइएका ब्रेक शुमा राखेर सात सय पचास किलोभन्दा बढी सुन भित्रिसकेको आशंका रहेको ढुंगानाले बताए।
हङकङबाट ब्रेक शुमा प्याक गरेर नेपाल ल्याएपछि त्रिभुवन विमानस्थल र त्यहाँ रहेको भन्सार कार्यालयका केही कर्मचारीको सेटिङमा बाहिर पु¥याउने गरेको देखिएको छ।
विमानस्थल बाहिर पु¥याएपछि उनीहरुले ठाउँ ठाउँमा गोदखाम राख्ने र विक्रि गर्ने गरेको खुलेको छ। बालुवाटारमा चिनियाँले सञ्चालन गरेको गोदाममा सुन गाल्ने मेसिन फेला परेको छ भने टोखास्थित कृषि फार्मबाट पनि यससम्बन्धि मेसिनहरु बरामद भएको छ।
बालुवाटारस्थित जिक्वाङ लिनको कारखानामा लगेर सुन गालेर निकाल्ने र त्यसपछि ब्रेक शु लगेर सोह्रखुट्टेको गोदाममा राख्ने गरिएको पाइएको छ। छुट्याइएको सुनको प्याकेट टोखास्थित कृषि फार्मभित्रको ठूलो कारखानामा लगेर प्रशोधन गर्ने अनि यहीँबाट नेपाल र भारतको बजारसम्म पु¥याउने गरेको राजश्वको अनुमान छ।
तीनवटै गोदाममा पुगेका अनुसन्धान अधिकृत भन्छन्, ‘यसबाट सुन तस्करीमा ठूलै समूह संलग्न छ र, जसले लामो समयदेखि यसमा काम गरेको अनुमान लगाउन सकिन्छ। मुख्य कुरा लगानीको हो, जुन जो कसैले गर्न सक्दैन।’
निशानामा कार्गो र कृषि फार्म
नेपालमा पछिल्लो दिन कार्गाे र कृषि फार्मको नाममा उपत्यका आसपास खुलेका कम्पनीहरूभित्र सुनको कारोबार हुने गरेको नयाँ तथ्य भेटिएपछि राजस्व अनुसन्धान विभागले अनुसन्धानको दायरा बढाउँदै लगेको छ।
‘आवरणमा कार्गाे, कृषि फार्म देखाएर कम्पनी खोल्दै भित्र सुन तस्करी हुने रहेछ,’ अर्का अनुसन्धान अधिकारी भन्छन्, ‘रेडी ट्रेड जस्ता धेरै कम्पनी यसरी दर्ता भएका छन्, जो यस्तै उद्देश्यले खोलिने रहेछन्।’
तस्करले सहकारीजस्ता केही वित्तिय संस्था समेत प्रयोग गरेर सुनको तस्करी गरिरहेको पाइएको ती अधिकारी बताउँछन्। यस्ता सहकारीमाथी राजश्वले थप अनुसन्धान गरिरहेको छ। केही सहकारीले तस्करलाई प्राविधिक सहयोग समेत गरेको भेटिएको राजश्वको भनाई छ।
साउन २ मा सिनामंगलबाट करिब सय किलो सुन समातेको राजस्व अनुसन्धान विभाग यसको मालिक खोज्दै जाँदा कृषि फर्ममा सञ्चालित सुन प्रशोधन स्थानसम्म पुगेको छ।
राजेश अडुकिया, दीपक मलहोत्रा र सञ्जय बबैयामाथि अनुसन्धान केन्द्रित गरेको राजश्वको टोलीले शनिबार तिब्बती मूलका बेल्जियम नागरिक दावा छिरिङलाई नियन्त्रणमा लिएको छ।
यस्तै, शुक्रबार दिउँसो एक चिनियाँ व्यक्तिको एनएमबी बैंकमा रहेको ६ करोड रकम शंकास्पद देखिएपछि खाता रोक्का गरेको छ।
चिनियाँको गोलचक्करले तनाव
नेपालीले चिनियाँ र भारतीयसँग मिलेर सुन तस्करी गरिरहेका छन् भन्ने सूचना राजस्व अनुसन्धान विभागलाई छ। हङकङ बस्ने केही नेपाली, नेपालमै रहेका केही व्यापारी र सुनको काम गर्ने केही कम्पनीले तस्करी गरेर सुन भित्र्याउँदै आएका छन्।
अहिलेसम्म पक्राउ परेका १८ जना सुन मालिक नभएर सुन ल्याउने भरियामात्र हुन्। करिब सय किलो सुनको मालिक यकिन भइसकेको छैन। तर, अहिलेसम्म हरेक लेयरमा चिनियाँको कनेक्सन भने छुटेको छैन।
विभागले शनिबारसम्म सय किलो सुन प्रकरणमा मुछिएका १८ जना पक्राउ गर्दा २ जना चिनियाँ छन्। एक जना तिब्बती मूलको बेल्जियमका नागरिक दावा छिरिङ र एकजना भारतीय छन्।
नेपाल हुँदै भारत जाने सुन तस्करीमा चिनियाँ पनि पक्राउ परेका हुन्। जबकि उनीहरु बास्तविक लगानीकर्ता होइनन् भन्ने विभागलाई थाहा छ। नेपाली लगानीकर्ताले सुन भित्र्याउन चिनियाँलाई प्रयोग गरेको विभागको अनुमान छ।
पक्राउ परेका चिनियाँले सुन ओसारपसारमा आफ्नो भूमिका अस्वीकार गरिरहेका छन्। तिनीहरुले केही थाहा नभएको, भाषा नबुझ्ने भन्दै बोल्न नमानेको विभागका कर्मचारी बताउँछन्।
Shares
प्रतिक्रिया