हङकङ हुँदै नेपाल भित्रिएको सय किलो सुनको मालिक खोजिरहेको राजस्व अनुसन्धान विभागको रेडारमा परेका एक जना व्यापारी हुन् सञ्जय बबैया।
तर, उनको वास्तविक नाम सञ्जय नभई अरु नै भएको विभागको आशंका छ। त्यसो त उनले केही व्यापारीलाई आफू बबैया ग्रुपको सञ्चालक भनेर पनि चिनाउने गरेका छन्।
विगतदेखि नै हङकङ र यूएईबाट काठमाडौंमा सुन भित्र्याउन सञ्जय सक्रिय रहेको सूचना विभागले पाएको छ। अहिले उनीसँग कनेक्सनमा रहेका केही व्यक्तिमाथि पनि विभागले निगरानी बढाएको छ।
सञ्जयले यसरी तस्करी गरेर ल्याएको सुन काठमाडौँका नाम चलेकै सुन व्यापारीलाई बेचेको तथ्य राजस्वले फेला पारेको छ। ती व्यापारीलाई राजस्वले बोलाएर सोधपुछ गरिसकेको छ।
सञ्जय भारतीय हुन् वा छद्म नाम प्रयोग गरेर तस्करी गरिरहेका नेपाली हुन् भन्नेबारे छानबिन भइरहेको अनुसन्धान विभागका अधिकृत बताउँछन्।
यसरी नाम लुकाएर तस्करीको कारोबार गरेका व्यक्ति यसअघि पनि देखिएका थिए। रेडी ट्रेड प्रालिका नाममा भित्र्याइएको सुन तस्करीकै हो भन्ने निचोडमा राजस्व विभाग पुगिसकेको छ। यस प्रकरणमा सञ्जय बबैयाको संलग्नता पनि देखिएको छ।
सय किलो सुन तस्करी प्रकरणमा जोडिएका अर्का व्यापारी राकेश अडुकिया पनि भारतीय पासपोर्ट प्रयोग गरेर यात्रा गर्छन्। उनको भारतीय पासपोर्टमा नाम रोहन अडुकिया छ। तर तीनै व्यक्तिको राकेश अडुकिया नाममा नेपालमा विभिन्न कम्पनी दर्ता छन्।
व्यवसायी दीपक मलहोत्रा सुरुदेखि नै राजस्वको निगरानीमा छन्। राजस्वले अप्रेसन चलाउनुअघि नै उनको नाममा हङकङबाट सुन आउँदै गरेको सूचना पाएको एक अधिकारी बताउँछन्।
त्रिभुवन विमानस्थल हुँदै करिब सय किलो सुन बाहिरिएकै बेला सिनामंगलबाट विभागको टोलीले बरामद गरेको थियो।
ब्रेक सुमा प्याक गरिएको अवस्थाको सुन बरामद भएपछि विभागले विगतमा सुन तस्करीमा जोडिएका व्यापारीहरु राकेश अडुकिया, दीपक मलहोत्रा र बबैयामाथि विशेष निगरानी गरिरहेको छ।
तर, मलहोत्राले आफ्नो नाम सुन तस्करीमा जोडिनेबित्तिकै पत्रकार सम्मेलन गरेर अस्वीकार गरे।
आफ्नो नाम जोडिएपछि बिहीबार नेपालखबरसँगको सम्पर्कमा आएका राकेशले मुख्य व्यक्तिलाई जोगाउन आफ्नो नाम मुछिएको दाबी गरे। राजस्वले उनी सम्पर्क बाहिर रहेको बताएको छ। नेपालखबरसँगको कुराकानीमा पनि उनले आफू कहाँ छु भन्ने खुलाउन चाहेनन्।
तीनै जनाको प्रमाण जुटाउन लागिरहेको विभागले सञ्जय बबैयाको पनि कनेक्सन हेरिरहेको छ।
‘सञ्जय बबैयाको संलग्नताका केही बलिया प्रमाण जुटाएका छौँ,’ विभाग स्रोतले नेपालखबरसँग भन्यो, ‘उनी ठूला कारोबारी हुन्, उनले सुन ल्याउने, पास गर्ने, बजारमा लग्ने गरेको देखिन्छ।’
काठमाडौंका केही व्यापारीले उनैसँग सुन किन्ने गरेका छन्। तिनैमध्ये न्युरोडका एक सुनचाँदी व्यवसायीसँग विभागको टोली पुगिसकेको छ। उनले बबैयाबाट सुन किनेको पुष्टि भइसकेको छ।
साउन २ गते नेपाल भित्र्याइएको सय किलो सुन पनि गालेर नेपाली बजार र भारत लैजाने तयारी थियो।
तर, विभागको टोलीले बीच बाटोबाटै सुन जफत गर्यो।
अझै गहिराइमा पुग्न धेरै कोणबाट अनुसन्धान गरिरहेको विभाग स्रोतले बतायो।
राजश्व अनुसन्धान विभागले सुन बरामद गरेपछि आशंकित व्यक्तिका घर तथा कम्पनीमा समेत छापा मारेर हेरिरहेको छ। पक्राउ परेका चिनियाँ नागरिकको बालुवाटारस्थित गोदाममा सुन गाल्ने मेसिन फेला परेको छ।
प्रहरीलाई सामेल गराएपछि उनीहरुका ट्राभल हिस्ट्री, कल डिटेल रेकर्ड, सीसीटीभी फुटेज र फरेन्सिक ल्याबबाट थप तथ्य जुटाउने काम पनि भइरहेको छ।
प्रधानमन्त्री मातहतको राजस्व अनुसन्धान विभागले यो सुन तस्करी प्रकरणको अनुसन्धान गरिरहेको छ। पक्राउ पर्नेहरुमा हर्कराज राई, जिक्वाङ लिन, सरोज श्रेष्ठ, सन्तोष चन्द, यादव पराजुली र सुदर्शन गौतम छन्।
त्यस्तै, दिलीप भुजेल, रामकुमार भुजेल, राजेन्द्रकुमार राई, अशोक लामा, थुप्तेन छिरिङ, रामकुमार भुजेल, पुष्करराज भट्ट, राजनकुमार श्रेष्ठ, कृष्णकुमार श्रेष्ठ र रुक्मिना सुब्बा छन्।
Shares
प्रतिक्रिया