शुक्रबार साँझ अदालतले आदेश सुनाउँदा सबैभन्दा भावुक थिए, सचिव टेकनारायण पाण्डे। न्यायाधीश प्रेमप्रसाद न्यौपानेले इजलासबाट थुनामा पठाउने आदेश सुनाउँदा उनले आँसु रोक्न सकेनन्।
नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका १८ मध्ये १६ जनालाई थुनामा पठाउने आदेश भयो।
आदेश सुनेर पाण्डेले बरर आँसु झारे। रातोपिरो भएको अनुहार एकछिन हातले छोपे। अनि, आँसु पुछे। न्यायाधीशले इजलासबाट सुनाएका थिए, ‘लक्ष्मी महर्जनलाई ५ लाख र टंक गुरुङलाई १० लाख धरौटी खोलिदिएको छु। बाँकी सबै पुर्पक्षमा..., तपाईंहरुलाई उच्च जानेबाटो खुला भएको छ।’
त्यसपछि केहीबेर इजलास सुनसान भयो। पूर्वमहान्यायाधिवक्ता खम्मबहादुर खाती आफ्ना नेता पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई सम्झाउन थाले। तर छेउमै रहेका टेकनारायण भने सुँकसुँकाइरहे।
त्यसपछि इजलासमा रहेका वकिल र पत्रकार आदेशको प्रति खोज्न थाले। धरौटीमा छाड्न आदेश दिइएका सहप्रतिवादी टंक गुरुङ इजलासबाहिर निस्किएर आफन्तलाई फोन गर्न थाले। ११ महिनाको छोरो च्यापेर अगाडि बसिरहेकी लक्ष्मी महर्जन धरौटीमा छुटेर पनि रुन थालिन्। उनी छुटे पनि उनका श्रीमान् हरिभक्त जेल जाँदै थिए।
बाहिर निस्किएका टंकले कागजमा टिपेको नम्बरमा फोन गर्न लगाएर आफन्तलाई धरौटी रकम लिएर भित्र आउन भने। झण्डै एक घण्टापछि उनीहरु सबैलाई पालैपालो इजलासको अगाडि बोलाएर आदेशमा सहीछाप गर्न लगाइयो।
१८ जनाले नै सहीछाप गरेपछि धरौटीमा छुट्ने दुई जनालाई त्यहीँ छाडियो। बाँकी १६ जनालाई कारागारका लागि बाटो लगाइयो। इजलासबाट प्रहरीको घेरामा १६ जना नै झरे। मुख्य गेटअगाडि प्रहरीको थुनुवा बोक्ने ठूलो गाडी तयार थियो। गाडीको पछाडिको ढोकाबाट पालैपालो उनीहरु भित्र पसे।
बालकृष्ण खाँण लगायत केहीले अदालतबाहिरको भीड र आफूलाई ताकिरहेका क्यामेरातिर नजर लाए। कोही उँधोमुन्टो लगाएर सरासर गाडीमा पसे। पाण्डे र पूर्वमन्त्रीहरुलाई हतकडी लगाइएको थिएन। तर अरुलाई २÷२ जनाका दरले हतकडी लगाइएको थियो।
सबै गाडीमा पस्नासाथ सिंहदरबारको गेट अगाडिबाट पूर्वउपप्रधानमन्त्री र पूर्वगृह एवम् पूर्व रक्षामन्त्री समेतलाई लिएर गाडी सुन्धारातिर हुइँकियो।
आदेशमा उनीहरु सबैलाई केन्द्रीय कारागार सुन्धारामा राख्न भनिएको थियो। यसअघि नेताहरु प्रायः डिल्लीबजार कारागारमा लगिन्थे। तर त्यहाँ ६ सयदेखि साढे ६ सय मात्रै अटाउने र यो मुद्दामा प्रतिवादी धेरै भएकाले केन्द्रीय कारागार पठाउने आदेश भयो। केन्द्रीय कारागारका तीन वटा ब्लकमा ३ हजार ४ सय २ जना कैदीबन्दी छन्।
यीमध्ये कैदी १ हजार ७ सय ४४ जना छन्। टेकनारायण पाण्डेजस्तै मुद्दा फैसलाको प्रतिक्षामा रहेका बन्दी १ हजार ६ सय ५८ जना छन्।
कारागारमा पुर्याएपछि १६ जनालाई पनि छुटाइयो। ८ जनालाई भद्र बन्दीगृहमा राखियो। ८ जना केन्द्र बन्दी गृहमा। पाण्डेलाई राखिएको केन्द्र बन्दी गृहमा सबैभन्दा धेरै १ हजार ८ सय ५० जना कैदीबन्दी छन्।
श्रीमती हत्याका अभियुक्त पूर्व डीआईजी रञ्जन कोइराला, निर्माण व्यवसायी शरदकुमार गौचन हत्याका मुख्य अभियुक्त समीरमानसिंह बस्नेत र ३३ किलो सुन तस्करी तथा सोनाम शाक्य हत्याका अभियुक्त चुडामणि उप्रेती गोरे पनि यही कारागारको गोलघरमा छन्।
गोरे गोलघरबाट बाहिर आउन पाउँदैनन्। तर कैदीबन्दीसँग भने पाण्डेको भेटघाट हुन्छ। बरु यही प्रकरणमा थुनामा पठाइएका ८ जनासँग पाण्डेको भेटघाट हुँदैन। उनीहरुलाई अर्कै गृहमा राखिएको छ।
पाण्डे रहेको केन्द्र बन्दीगृहमा टेकनाथ रिजाल, इन्द्रजित राई, सानु भण्डारी, केशव दुलाल, सन्देश शर्मा, सागर राई र हरिभक्त महर्जन छन्।
नेपाल सरकारका सचिव पाण्डेले कारागार पुगेसँगै अरु कैदीबन्दीले झैँ दैनिक ८० रुपैयाँ र ७ सय ग्राम चामल पाउँछन्। सरकारले दिने यही सुविधाले उनीहरुले खान पुर्याउनु पर्छ। यही खर्चले सबै पुर्याउँछु भन्नेहरुका लागि खाने छुट्टै मेस छ। जसलाई कारागारभित्र सरकारी मेस भनिन्छ।
यहाँ खाना खानेले ६० रुपैयाँ र चामल मेसमा बुझाउनुपर्छ। त्यही रकमले नुन, तेल तरकारी किनेर उनीहरुलाई खान दिन्छन्। २० रुपैयाँ पकेटमनी भनेर छुट्याइन्छ। त्यो रकमबाट उनीहरुले आफ्नो खर्च टार्नुपर्छ। जेलभित्रबाट टेलिफोन गर्दा पनि शुल्क लाग्छ। व्यक्तिगत रुपमा खर्च जुटाउन नसक्नेहरु यही २० रुपैयाँ जम्मा गरेर पुर्याउँछन्।
जेलभित्र पनि आर्थिक हैसियत अनुसारका भान्सा छन्। पैसा थप्नेहरुका लागि स्तरस्तरका भान्सा छन्। यो चामल नलिएर उनीहरु बासमती चामल किनेर पनि खान्छन्।
तर राज्यले दिने सुविधामा भने विभेद छैन। राज्यले खाद्य संस्थानको चामल दिने हो। जसको मूल्य हाल प्रतिकिलो ५२ रुपैयाँ पर्छ।
टेकनारायण शुक्रबार साँझ मात्रै कारागार पुगेका हुन्। कारागारमा उनले अहिले पैसा थपेर खाना खाइरहेका छन्। बाहिरबाट खाना लैजान पाइँदैन। तर भित्रै किनेर खान्छु भन्नेका लागि थरीथरीका खानेकुरा पाइन्छ। भित्रै छन्, मःमः चाउमिन किनेर खाने ठाउँ। ती पनि कैदीले नै चलाएका हुन्।
तर पाण्डे अहिले कारागारभित्र विरक्तिएका छन्। घरिघरि रोइरहन्छन्। कारागार प्रशासनको टोलीले उनलाई आइतबार भेट्यो र सोध्यो। कर्मचारीहरुसँग पनि उनी खुलेनन्।
श्रीमतीलाई कारागारबाट टेलिफोन गरे। तर, बोलेनन्, रोइरहे। कारागारको आन्तरिक प्रशासनका कर्मचारीले (कैदी कर्मचारी) टेकनारायण बेलाबेला रोइरहने गरेको सुनाएका छन्।
कारागार प्रशासनले पाण्डेसँग पुगेका सबैलाई पुरानै ओढ्ने ओछ्याउने दिएको छ। कैदीबन्दीले हरेक वर्ष ५ किलोको सिरक र ५ किलोको डस्ना पाउँछन्। वर्षमा एक पटक मात्रै वितरण गरिने भएकाले बीचमा जानेले पुरानै प्रयोग गर्नुपर्छ।
कारागारमा आफूले प्रयोग गरेका लुगा आफैँ धुनुपर्छ। आफू नधुनेहरुले पैसा दिएर अरु कैदीलाई धुवाउँछन्। पाण्डे नयाँ छन्। उनले केकसो गर्छन् भन्ने धेरै कुरा प्रष्ट भइसकेको छैन।
तर यो चाहिँ प्रष्ट छ कि अब उनीहरुले उच्च अदालतमा थुनाबाहिर राखेर मुद्दाको पुर्पक्ष गर्न माग गर्दै निवेदन दिनेछन्। उच्चले थुनाबाहिर राख्ने आदेश नगरेसम्म भने उनीहरुको दैनिकी यस्तै हुनेछ। उच्चले नछाडे सर्वोच्चको आदेश पर्खिनुपर्छ। सर्वोच्चले थुनामा राख्ने वा थुनाबाहिर राखेरै मुद्दाको पुर्पक्ष गर्ने भन्ने अन्तिम आदेश हुनेछ।
त्यसपछि फैसला के आउँछ, त्यही हुनेछ। कैद तोकिएमा त्यो भुक्तान गरुन्जेल कारागारमै बस्नुपर्नेछ।
के छ पाण्डेविरुद्धको आदेशमा?
पक्राउ पर्दा टेकनारायण पाण्डे उपराष्ट्रपति कार्यालयका सचिव थिए। लगत्तै उनलाई सरकारले प्रधानमन्त्री कार्यालयमा सार्यो र निलम्बन पनि गर्यो। तर नक्कली शरणार्थी प्रकरणमा जोडिनुको कारण भने उनी गृह मन्त्रालयमा हुँदाका गतिविधि हो।
बालकृष्ण खाँण गृहमन्त्री हुँदा २०७८ साउनमा उनी गृहसचिव भएर गए। शरणार्थीहरुको दर्ता प्रक्रिया र पुनर्स्थापना गराउने कार्य ३१ डिसेम्बर २०१६ मै बन्द भएको थियो। तर यस विषयमा गृहमन्त्री रामबहादुर थापा बादल र सचिव प्रेमकुमार राई हुँदा गठन गरेको बालकृष्ण पन्थी नेतृत्वको कार्यदलले प्रतिवेदन बुझाइसकेको थियो। यूएनएचसीआरले प्रमाणीकरण गरेका ४२९ जनाको नाम नै विवादित देखिएको अदालतको आदेशमा उल्लेख छ। यस्तो अवस्थामा सचिव पाण्डेले सचिवस्तरीय निर्णयबाट पुनः छुट शरणार्थीको विवरण पेस गर्न कार्यदल गठन गरेको र म्याद थप भएपछि थप कार्यादेश दिएको आदेशमा उल्लेख छ।
यस्तै मन्त्रिपरिषदबाट प्राप्त भएको प्रतिवेदनसँग मिल्ने अर्कै नक्कली समानान्तर प्रतिवेदन उनी सचिव भएको अवस्थामा बनाइएको आदेशमा उल्लेख छ।
‘प्रतिवेदनका सन्दर्भमा निजको अस्वाभाविक चासो रही निजले ४÷५ दिनसम्म प्रतिवेदन राखेको भन्ने तत्कालीन सम्बन्धित फाँटमा कार्यरत कर्मचारीले कागज गरेको र प्रतिवेदनमा तत्कालीन गृहसचिवको अस्वाभाविक चासो रहेको भन्ने गृह मन्त्रालयका तत्कालीन सहसचिव फणिन्द्रमणि पोखरेल र सागरमणि पाठकको कागजबाट देखियो,’ आदेमा भनिएको छ।
जाहेरवाला प्रेमराज पन्थीले केशव दुलालले टेकनारायण पाण्डेलाई फोन गरेर सुनाउँदा पनि पाण्डेले जसरी पनि काम गरिदिन्छु भनेको उल्लेख गरेका थिए।
यस्तै केशव दुलालसँग पाण्डेले गरेका संवादबाट पनि उनको कसुरमा संलग्नता रहेको भन्ने देखिएको न्यायाधीशको ठहर छ। यिनै आधारमा पाण्डेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश न्यायाधीशले गरेका हुन्।
यो आदेश बदर नभएसम्म वा दोषी ठहर भए कैद भुक्तान नगरेसम्म उनको बास कारागारमै हुनेछ।
Shares
प्रतिक्रिया