क्रिकेटर सन्दीप लामिछाने विदेश जान पाउने भएका छन्।
उनको निवदेन बमोजिम सर्वोच्च अदालतले क्रिकेट खेल्न विदेश जान दिने आदेश गरेको हो। यसअघि उच्च अदालत पाटनले थुनामा रहेको सन्दीपलाई धरौटीमा रिहा गर्न आदेश दिएपनि विदेश यात्रामा प्रतिबन्ध लगाएको थियो।
तर सन्दीपमाथिको प्रतिबन्ध सर्वोच्चले सोमबार हटाएको हो।
‘प्रतिवादीका नाममा गृह र परराष्ट्रमा रोक लगाउनु भनि लेखि पठाएको पत्र मिलेको देखिएन। यो बदर गर्ने ठहर्छ। तत्काल फुकुवा गर्न पत्र लेखी पठाउनु’, सर्वोच्चको आदेशमा भनिएको छ।
पहिले जाहेरी पर्दा पनि सन्दीप विदेशमै थिए। उनी त्यतिबेला पनि स्वदेश फर्किएर अनुसन्धानमा सहयोग गरेको सर्वोच्चको आदेशमा उल्लेख छ।
यस्तै उच्च अदालतका प्रतिबन्धात्मक आदेश पनि परिपालन गरेको सर्वोच्चको ठहर छ।
‘उनी राष्ट्रीय क्रिकेट खेलाडी भएकाले क्रिकेटमा सहभागी हुनका लागि विदेश जानु पर्ने देखिएकाले सन्दीप लामिछानेलाई अब क्रिकेट खेल्न विदेश जान दिनु, दिलाउनू। निजको राहदानी रोक्का नराख्नू, तत्काल फुकुवा गरिदिनु’, आदेशमा भनिएको छ।
उनलाई नेपाल फर्किन लाग्ने म्यादबाहेक १५ दिन भित्रमा अदालतमा उपस्थित भई स्वदेश फर्किएको जानकारी दिन भनिएको छ।
यो शर्त उल्लंघन गरेमा भने प्रतिबन्ध लगाउने समेत आदेशमा उल्लेख छ।
Shares
प्रतिक्रिया