आज (शनिबार) काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम यो वर्षको अहिलेसम्मकै कम भएको छ।
मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् गंगा नगरकोटीका अनुसार शनिबार बिहान साढे ६ बजे गरिएको मापनअनुसार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ०.६ डिग्री सेल्सियस देखिएको हो। यो यस वर्षको अहिलेसम्मकै कम तापक्रम भएको उनले बताइन्। यसअघि बिहीबार काठमाडौं उपत्यकाको यस वर्षको सबैभन्दा कम न्यूनतम तापक्रम ०.९ थियो।
‘हामी पुनः ८ः४५ मा अर्काे मापन गर्छाैं,’ नेपालखबरसँग मौसमविद् नगरकोटीले भनिन्, ‘अहिले नै माइनसमा जाने सम्भावना त देखिन्न, तर यो भन्दा केही घट्ने सम्भावना छ।’
अहिले काठमाडौं उपत्यकासहित देशैभर चिसो बढेको छ। अहिले देशभरका तराई क्षेत्रमा बाक्लो हुस्सु/कुहिरो लागेको उनले बताइन्। जसका कारण चिसो बढेर अहिले तराईको जनजीवन कष्टकर बनिरहेको छ।
महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै भनेकाे छ : तराईको हुस्सु/कुहिरो जारी नै रहेको हुनाले यसबाट हुने चिसोको असर, यात्रामा पर्न सक्ने जोखिमको साथै अन्य प्रभावहरुबाट बच्न सतर्कता अपनाउन अनुरोध छ।
‘पूर्व र मध्य तराईका हुस्सु अपराह्नपछि हट्ने देखिन्छ,’ मौसमविद् नगरकोटीले भनिन्, ‘पश्चिम तराईका हुस्सु/कुहिरोचाहिँ साँझसम्मै रहने देखिन्छ।’
तराईमा हुस्सु/कुहिरोबाहेक आज देशभर मौसम सामान्यतया सफा रहने मौसमविद्ले बताएका छन्।
‘तराईबाहेक आज काठमाडौं उपत्यकालगायत स्थानमा घाम लाग्ने सम्भावना देखिन्छ,’ मौसमविद् नगरकोटीले भनिन्।
अहिले नेपालमा उल्लेखनीय मौसम प्रणाली विकास नभएको उल्लेख गर्दै मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिन मौसम सामान्यतया सफा रहने जनाएको छ।
Shares
प्रतिक्रिया