ad ad

समाज


सोलुमा आगलागी हुँदा पाँच घर जल्यो, बाक्सिलाको आगलागीबाट पाँच करोडको क्षति

सोलुमा आगलागी हुँदा पाँच घर जल्यो, बाक्सिलाको आगलागीबाट पाँच करोडको क्षति

नेपालखबर
पुस ५, २०७९ मंगलबार २०:२५, काठमाडौँ

सोलुखुम्बुमा आगोलागी हुँदा पाँच घर जलेर नष्ट भएको छ। जिल्लाको थुलुङ दुधकोशी गाउँपालिका–१ स्थित नेले बजारमा आज अपराह्न ४ बजेदेखि सुरु भएको आगोले पाँच घरमा क्षति पुर्याएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ। 

स्थानीय बुद्धिबहादुर कार्कीको घरबाट विद्युत् सर्ट भएर सुरु भएको आगोले बुद्धिबहादुरको घरसहित कल्पना बस्नेत, रमेश बस्नेत र गणेश बस्नेतको घर नष्ट भएको छ। प्रणय राईको घरमा आगो प्रवेश गरेको छ। आगो नियन्त्रणका लागि अहिले स्थानीय र प्रहरीले पहल गरिरहेका छन्। सल्लेरीबाट नगरपालिकाको दमकल झिकाएको वडाध्यक्ष घनराज सुनुवारले बताए।  

आगो नियन्त्रणका लागि जिल्लाबाट प्रहरी निरीक्षक अनिल मिश्रको नेतृत्वमा प्रहरी टोलीसहित सोलुदुधकुण्ड नगरपालिकाको दम्कल प्रस्थान गरिसकेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक रामकिशोर शाहले बताए। घटनाबारे विस्तृत विवरण आउन बाँकी छ।

बाक्सिला बजार आगलागी : पाँच घर जलेर नष्ट हुँदा पाँच करोड क्षति
यता खोटाङको केपिलासगढी गाउँपालिका–४ बाक्सिला बजारमा सोमबार साँझ भएको भीषण आगलागीमा करिब रु पाँच करोड बराबरको क्षति भएको छ । स्थानीय दीपक गुरुङको घरबाट सुरु भएको आगोले पाँच घर तथा दर्जन बढी पसल जलेर नष्ट हुँदा रु चार करोड ९९ लाख ३३ हजार बराबरको क्षति भएको हो । 

आगलागीबाट दीपक गुरुङ, रमेश परियार, शुभराज राई र डिल्लीकुमार श्रेष्ठको घर पूर्णरुपमा जलेर नष्ट भएको थियो। उक्त आगो नियन्त्रणमा लिन स्थानीय अकबर राईको घर भत्काइएको थियो। परम्परागत रुपमा एकआपसमा जोडेर ढुङ्गामाटो तथा काठ प्रयोग गरेर बनाइएको जस्तापाताको छाना भएको घरमा लागेको आगो स्थानीय बासिन्दा र प्रहरीले करिब चार घण्टा लगाएर नियन्त्रणमा लिएको थियो। 

आगलागीमा दीपकको तीनतले घर तथा घरमा भएका नगद रु एक लाख, पसललगायत सम्पूर्ण सामग्री जलेर नष्ट हुँदा रु ५४ लाख ८५ हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ। सोही घर भाडामा लिएर पसल गर्ने रत्ना गुरुङको नगद रु ७५ हजारसहित पसललगायत बन्दोबस्तीका सामग्री जलेर नष्ट हुँदा रु १३ लाख ७२ हजार क्षति भएको प्रहरीको प्रारम्भिक प्रतिवेदनमा उल्लेख छ।   

रमेशको तीनतले घर, घरमा भएको नगद रु एक लाख, टेलर्स पसललगायत सम्पूर्ण सामग्री जलेर नष्ट हुँदा रु ७१ लाख नौ हजार बराबरको क्षति भएको छ। शुभराजको तीनतले घर भाडामा लिएर गाउँपालिका प्रमुख समिर राईले सञ्चालन गरेको कपडा, किराना तथा पुस्तक पसल, नगद रु दुई लाख लगायतका सामग्री जलेर नष्ट हुँदा रु एक करोड २५ लाख क्षति भएको छ। 

सोही घरमा सञ्चालित इन्द्रा राईको होटल जलेर नष्ट हुँदा रु सात लाख ५० हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक मञ्जिल मुकारुङले जानकारी दिए। शुभराज भने घर भाडामा दिएर काठमाडौँमा बस्दै आएको स्थानीय बासिन्दाले बताएका छन्। अकबरको तीनतले घर तथा घरमा भएका सम्पूर्ण सामग्री जल्दा रु त्रीसाठी लाख क्षति भएका जनाइएको छ। सोही घरमा सञ्चालित नेपाली कांग्रेस गाउँपालिका समितिको कार्यालय जलेर नष्ट हुँदा रु दुई लाख बराबरको क्षति भएको कांग्रेसले जनाएको छ। 

डिल्लीकुमारको तीनतले घर, नगद रु ५० हजार, भाँडा तथा कपडा पसल जल्दा रु एक करोड ४१ लाख ७७ हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ। सोही घरमा डिल्लीकुमारको छोरा पवन श्रेष्ठले सञ्चालन गर्दै आएको भाँडा पसल र नगद रु ४० हजार जल्दा रु २० लाख ४० हजार बराबरको क्षति भएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .