साढे १३ महिनाअघि एमाले नेता गणेश प्रसाइँ सर्लाहीको हरिवन नगरपालिकाको मेयर थिए।
त्यतिबेलै हरिवन १ को चुरे क्षेत्रमा पर्ने ऐतिहासिक कैलाशपुरी मन्दिर परिसरमा सहरी विकास तथा भवन निर्माण विभागले तीन करोड ६२ लाख रुपैयाँ खर्चेर जेष्ठ नागरिक आवास भवन निर्माण पुरा गरेको थियो।
तत्कालीन प्रदेश २ सरकारको सहरी विकास तथा भवन निर्माण कार्यालय जनकपुरले भवनको साँचो मेयर गणेश प्रसाइँलाई हस्तान्तरण गर्ने भन्दै भवन प्रांगणमा ९ साउन २०७८ मा एक कार्यक्रम राख्यो। तर, मेयर प्रसाइँ र वडाध्यक्ष रामबहादुर क्याप्छाकी कार्यक्रममै उपस्थित भएनन्।
कैलाशपुरीमा जेष्ठ नागरिक आवास भवन पार्न माओवादी केन्द्रका नेताद्वय कमल बुढाथोकी र डाचाराज वाग्लेले मेहनत गरेका थिए। आफ्नो नगरपालिका क्षेत्रमा राज्यले करोडौँ खर्चिएर निर्माण गरेको भवन बुझन् अस्वीकार गरेको भन्दै त्यतिबेला मेयर प्रसाइँ र वडाध्यक्ष क्याप्छाकीको व्यापक आलोचना समेत भयो।
माओवादी नेताहरुको अगुवाइमा बनेको भवन भएकाले प्रसाइँले भवनको चाबी बुझ्न नचाहेको आरोप लाग्यो। तत्कालीन माओवादी केन्द्रका जिल्ला सचिवसमेत रहेका बुढाथोकीले भवनको साँचो मेयर प्रसाइँले बुझ्न नचाहनुमा राजनीतिक पूर्वाग्रहले काम गरेको भन्दै आलोचना गरे।
गएको स्थानीय तह निर्वाचनमा तीनै प्रसाइँ मेयरको प्रतिस्पर्धामा बुढाथोकीसँग पराजित भए। क्याप्छाकीले पनि वडाध्यक्षमा चुनाव जितेनन्।
तत्कालीन मेयर प्रसाइँले बुझन् नमानेको भवनको साँचो उनलाई पराजित गरेर मेयर बनेका बुढाथोकीले आज बुझेका छन्।
शनिबार हरिवन नगरपालिकाले भवन परिसरमा आयोजना गरेको कार्यक्रममा निर्माण कम्पनीले मेयर बुढाथोकीलाई भवनको साँचो हस्तान्तरण गरेको हो। मेयर बुढाथोकीले रिबन काट्दै भवनको उद्घाटनसमेत गरेका छन्। उनले चाँडै भवनमा असहाय, जेष्ठ नागरिकहरुलाई राख्ने व्यवस्था मिलाइने प्रतिबद्धता समेत व्यक्त गरे।
स्थानीय चुनाव प्रचारका क्रममा पनि नेता बुढाथोकीले तत्कालीन नगरको नेतृत्वले आफ्नै क्षेत्रमा बनेको भवन नबुझेर गल्ती गरेको भन्दै यसलाई आफ्नो चुनावी एजेन्डा समेत बनाएका थिए। जसले उनलाई चुनावमा विजयी हुन केही सहयोग समेत गर्यो।
कार्यक्रममा उनले कैलापुरीमा जेष्ठ नागरिक भवन पार्न आफूसहित स्वर्गीय डाचाराज वाग्लेले निकै मेहनत गरेको पनि स्मरण गरे।
कार्यक्रममा एमाले हरिवन नगर कमिटीका अध्यक्ष सीताराम पोखरेलले त्यतिबेला भवन नबुझेर गल्ती भएको बताए।
‘त्यतिबेलै नगरपालिकाले भवन बुझ्नुपर्छ भन्ने पक्षमा म थिएँ,’ पोखरेलले भने, ‘त्यतिबेला पनि मैले भवन बुझ्नुपर्छ, नत्र संरक्षण अभावमा भवन जीर्ण बन्छ भनेर आवाज उठाएको थिएँ। तर, त्यो हुन सकेन।’
कम्पाउण्डसहित निर्माण गरिएको सुविधासम्पन्न भवनमा १८ कोठा छन्। जसलाई ‘सुखी जेष्ठ नागरिक आवास’ नामाकरण गरिएको छ।
Shares
प्रतिक्रिया