अघिल्लो वर्ष साउन गायिका काेपिला गौतमका लागि जीवनकै नमिठो महिना बन्यो। उनी त्यो समय तीज गीत रेकर्डिङ तयारीमा थिइन्।
एक दिन उनलाई असजिलो महसुस भयो। हातगोडा सुनिए। कमजोरी महसुस भयो। ज्वरो र ज्यान दुखाइले थला पार्यो। उनले ठानिन्, ‘कोरोना भयो।’
झण्डै दुई वर्ष महामारी बनेको कोरोना अलिक मत्थर भएको थियो। त्यसबेलासम्म कोरोना लागे पनि मरिगइँदैन भन्ने मानिसमा परिसकेको थियो। काेपिलालाई पनि त्यस्तै महसुस भयो।
त्यसको केही दिनमा पेट एक्कासी बढेको महसुस भयो। त्यसपछि काेपिलालाई पाठेघरमा समस्या आयो भन्ने लाग्यो। जँचाउन अस्पताल पुगिन।
गाइनोका डाक्टरले ओभरीमा रहेको सिस्ट (ऐजेरु) निक्कै ठूलो आकारमा फैलिएको बताए। क्यान्सरको शंकासहित गाइनोका डाक्टरले अर्को अस्पतालमा रिफर गरिदिए। नभन्दै क्यान्सर पुष्टि भयो।
क्यान्सरको स्टेज थाहा थिएन। बाँचिन्छ, मरिन्छ केही सोचिनन्। आँखामा कलिला छोराछोरी आए। अस्पतालको क्यान्टिनमा बसेर एक्लै रोइन्। उनी सँगै थिए श्रीमान रमेश तुफान। उनैले सम्झाए। काेपिलालाई नसम्झिएर सुख थिएन। मन बाँधेर घर फर्किन्। घरमा आउँदा तीन छोराछोरी खेलिरहेका थिए। काेपिलाले बोलाउन सकिनन्। मन भक्कानिए गाँठो पर्यो, रुन सकिनन्। ‘रुन नसक्नुको पीडा कति भयंकर हुने रहेछ, त्यो समय महसुस गरेँ,’ भन्छिन्।
त्यसो त काेपिलालाई क्यान्सरको शंका पहिलेबाटै थियो। कारण उनकी आमालाई क्यान्सर भएको थियो। त्यसैले उनी हरेक वर्ष चेकअप गर्थिन्। ७ महिनाअघि उनको रिपोर्ट सामान्य थियो।
‘यति छोटो समयमा क्यान्सरले यसरी गाँज्ला भनेर सोचेको थिइनँ,’ उनले सुनाइन्। तीज गीतको योजना पनि थन्कियो। काेपिलालाई जीवनप्रति सकारात्मक सोच भर्न नै केही दिन लाग्यो। क्यान्सर जितेकी आमालाई सम्झिएर हिम्मत जुटाइन्।
नजिकैका आफन्तलाई बोलाइन्, आफ्नो अवस्थाबारे सुनाइन्। आफन्त रोए, यस पटक उनलाई रुन आएन। ‘मलाई जसरी पनि क्यान्सर जितेर बाँच्नु छ। यी छोराछोरी हुर्काउनु छ। उनीहरुलाई आफ्नो खुट्टामा उभिने बनाउनु छ। मरेपनि त्यसपछि मरुँला,’ उनले दृढ अठोट गरिन्।
आफन्त झन डाँको छोडेर रोए। काेपिलाले आफूलाई क्यान्सर भएको कुरा छोराछोरीलाई सुनाउन सकिनन्।
गरिरहेको कुनै काममा मन गएन। गीत-संगीतप्रतिको मोह टुट्यो। आफ्नै जीवनसँगको आशा पनि पातलो भयो। काेपिला भन्छिन्, ‘छोराछोरीप्रतिको मोह झन् बलियो बन्यो। मर्छु भन्ने पीडाले भन्दा छोराछोरीको पीरले भित्रभित्रै रोएँ।’
उपचार सुरु भएपछि पनि दिनचर्या त्यति सहज भएन। उपचारको पीडा एकातिर, आफन्तले यही बेला साथ छोडेको घाउ अर्कोतिर नमज्जासँग दुख्यो।
छुटेको सपनाको पीर
२०५६ सालमा इलामबाट काठमाडौं आउँदा काेपिलाको सपना थियो गायिका बन्ने। बुवा देवीप्रसाद गौतम लोकगीत गाउँथे। केही गीत रेकर्ड पनि गराए। बुवाका गीत सुनेर गायनको सपना देखेकी काेपिलाको यात्रा सहज भएन।
काठमाडौंमा नचिनेको बाटो, नचिनेका मान्छेबीच अवसर पाउनै गाह्रो। संघर्ष सजिलो थिएन। ललितकलामा संगीत संकायमा भर्ना भइन्। कलेजमा क्लासिकल संगीत सिकाइन्थ्यो।
काठमाडौं आएपछि लोकगीत गाउने साथी भेटिए। त्यसपछि दोहोरीमा रस बस्यो। लोकगीतप्रतिको यही मोहले दोहोरीमा पु¥यायो। उनले एक वर्ष दोहोरी साँझमा गाइन्। योबीचमा केही गीत रेकर्ड गराइन्।
त्यसपछि भेटिए साहित्य र राजनीतिमा रुची राख्ने रमेश तुफान। रमेशसँग काेपिलाको बिहे भयो। बिहेपछि श्रीमानसँगै मलेसिया गइन्।
त्यहीँबाट उनीहरुले ‘श्रम साप्ताहिक’ पत्रिका निकाले। उता पनि गायन यात्रा रोकिएन। त्यहीँबाट केही गीत रेकर्ड गराइन्। छोराछोरी जन्मिएपछि काेपिलाका रहर खुम्चिँदै गए। आफ्ना सपना त्यागेर छोराछोरी हुर्काउन लागिन्।
क्यान्सरको उपचार चलिरहेका बेला काेपिलालाई छुटेका सपनाले सताए। छुटेका रहर र सपनाको सम्झनामा उनले आँसु बगाइन्, कसैले नदेख्ने गरी। तर अरुले देख्दा मुस्कुराइरहेकी हुन्थिन्।
आफ्ना सपना छोराछोरीमा थोपर्नु हुँदैन भन्ने मान्यता राख्ने काेपिलालाई त्यो समय छोराछोरी संगीतमा रुची राखिदिए हुन्थ्यो भन्ने लाग्यो। ‘मान्छेको सोच पनि समय, परिस्थितिले निर्धारण गर्ने कुरा रहेछ,’ उनले सुनाइन्।
अन्ततः २०७८ साउन अन्तिममा अप्रेसन हुने भयो। यो चौथो अप्रेसन थियो। त्यसअघि अप्रेसन गरेरै तीन बच्चा जन्मिएका थिए। उनलाई क्यान्सरसँग भन्दा अप्रेसनसँग डर लाग्यो। ‘अप्रेसन थिएटरबाट ज्यूँदै फर्किन्छु भन्ने आश थिएन’, उनले सुनाइन्। तर अप्रेसन सफल भयो, काेपिला बाँचेर घर फर्किन्।
अप्रेसनपछि केमो थेरापी सुरु भयो। केमो थेरापी गरेर घर फर्किएको दिन खुट्टाले भर दिँदैनथे। हातले एक गिलास पानी समात्न सक्दैनथे।
छोराछोरीका लागि बाँच्नुपर्ने आत्मविश्वास गलेर ‘मर्छु की’ भन्ने हुन्थ्यो। यही बेला भरोसा दिनुपर्ने आफन्त टेढिए। काेपिलासँग श्रीमानको साथ र आफ्नै आँटबाहेक केही थिएन। ‘यो समय बरु परका, साथ दिनुपर्ने बाध्यता नभएका आफन्त नजिक दिए, भरोसा दिए। आफ्नाले पर्दा साथ दिँदैन रहेछन्। यो कुराले पनि मलाई पीडा दिन्थ्यो,’ उनले सुनाइन्।
थेरापीसँगै काेपिलाका शरीरका रौँ झर्न थाले। छोराछोरी आत्तिएलान् भनेर कपाल झर्न सुरु हुँदै भनिन्, ‘ममीको सबै कपाल झरेर सकिन्छ है।’ छोराछोरीले त बुझे। बुझाउन गाह्रो आफ्नै मन थियो। काेपिला मुडुलो टाउको ऐनामा हेर्दै रुन्थिन्। अहिले थेरापी सकियो। तर, केही वर्ष डाक्टरको निगरानीमा बस्नुपर्ने छ।
अनि जाग्यो रहर
भर्खर ठूलो उपचारबाट निस्किएकी काेपिलाको गीत संगीतमा खर्च गर्ने अवस्था थिएन। रहरलाई जतिसुकै विपरीत अवस्थाले पनि रोक्न सक्दैन रहेछ। उनलाई लागिरहेको थियो ‘पोहोर पनि गीत गर्न पाइन। यो वर्ष पनि गर्न पाए हुन्थ्यो।’
यही बेला संगीतकार गोविन्द मधुर आचार्यले काेपिलालाई गीत अफर गरे। तर गाउन सक्ने आत्मविश्वास पलाएन। श्रीमान् र गोविन्दले सक्नुहुन्छ भनेर ढाडस दिए। त्यसपछि मनमा लुकेको रहरको गाँठो फुक्यो। उनले ‘नाचौँ छमछम’ बोलको तीज गीत गाइन्।
गीत गाएपछि मन निक्कै हलुका भयो। भिडिओमा गीतले भनेको जस्तो छमछम नाचिन्। उनको शरीर पनि हलुका भयो। काेपिलालाई हिजोआज लाग्छ, ‘सबैभन्दा गह्रौं त आफ्नै रहरको भारी हुने रहेछ।’
क्यान्सर जितेर गायनमा फर्किएकी काेपिलाको गीत सुनेर धेरैले बधाई दिइरहेका छन्। अप्ठ्यारोमा भर छोडेका हातहरूले पनि शुभकामना पठाइरहेका छन्। काेपिला आत्मविश्वासी सुनिन्छिन्, ‘पुनः जिन्दगीको पुरानै लयमा फर्किएर छरिएका आफन्त समेट्नु छ।’
काेपिलासँग जीवनका धेरै उद्धेश्य छैनन्। गाउँदा गाउँदै छोडेको क्षेत्रमा फर्किएर पहिचान बनाउने सपना छ। ‘अब यही सपनाका लागि जिन्दगीको केही समय छुट्याउँछु’, उनले भनिन्। काेपिला हिजोआज विभिन्न स्वास्थ्य शिविरमा भेटिन्छिन्। क्यान्सरबारे सचेतना बाँड्छिन्। ‘यो सचेतना पनि गीतबाट बाँड्न पाए त्यसको आकार र प्रभाव ठूलो हुन्थ्यो’, उनले बिट मार्दै भनिन्।
काेपिलाले क्यान्सर जितेपछि गाएको गीतको भिडिओ
Shares
प्रतिक्रिया