‘मलाई हुर्काउने कोख छाडेँ। औला समातेर हिँड्न सिकाउने बलिया हातको भर छाडेँं। बा–आमासँगै मैले छोडेका अरु के–के कुरा होलान् तपाईं आफैँ कल्पना गर्नुहोस्। जिन्दगीमा सबथोक छोडेर हिँड्दा पनि छाड्न नसकेको यही कोखको बच्चा हो।’
परिसा (परिवर्तित नाम) ले उक्सिँदै गरेको आफ्नो पेटमा हात राखिन् र डाँको छोडेर रोइन्। उनी अहिले आफ्नो कोखको संरक्षण गरेर सकुशल सन्तानलाई जन्म दिन लडिरहेकी छन्। र, यो लडाइँमा उनी एक्लिएकी छन्।
उनका प्रेमीले उनी आफूभन्दा जेठी भएको भन्दै छाडेर हिँडेपछि उनी डिप्रेसनको सिकार भएकी छन्। अवस्था खराब हुँदै गएपछि उनी अस्पतालमा छिन्। परिसाको मनमा यो समाजसँग, आफ्नो प्रेमीसँग र जन्मदिने बा–आमासँग पनि थुप्रै गुनासा छन्। सबैभन्दा धेरै प्रश्न त उनका प्रेमीसँग छन्। जो देश परिवर्तनको एजेन्डा बोकेर पूर्णकालीन राजनीतिमा होमिएको छ।
प्रेमीलाई भेटेर सोध्न मन छ, ‘देश परिवर्तनको त्यो विशाल एजेन्डामा तिम्रो सोच परिवर्तन पर्छ की पर्दैन?’ परिसाको मनमा गाँठो पर्छ, फुकाउन सक्दिनन्।
हामीलाई कहिल्यै पनि पुरुष कमजोर हुन्छ भनेर सिकाइएन। तर, उनी अस्पतालको बेडमा पनि आफ्नो प्रेमीलाई कमजोर पात्रका रुपमा उभ्याइरहेकी थिइन्। भन्छिन्, ‘आफूले गरेको प्रेम उमेर अन्तरकै कारण लत्याएर हिँड्ने मान्छे कसरी बहादुर हुन्छ? आफूभन्दा १० वर्ष कान्छी केटी भोग्ने पुरुषले किन स्वीकार्न सक्दैन् आफूभन्दा जेठीको प्रेम?’
उनका प्रश्नहरुको जवाफ न त डाक्टरसँग थिए, न उनी आफैँसँग।
तीन वर्ष लामो परिसाको प्रेम केही वर्षको उमेर अन्तरले सकियो। उनको प्रेम मात्रै सकिएन, युवा पुस्तासँग गरेको समाज परिवर्तनको अपेक्षा, मुलुक परिवर्तन गर्न हिँडेको तन्नेरीको सोचमा आएको परिवर्तन हेर्ने चाहाना, प्रेमीसँग एउटी प्रेमीकाले गरेको भरोसा, कोखमा हुर्कंदै गरेको भु्रणको बाँच्न पाउने अधिकार सबैसबै सकियो।
प्रेम वियोगले डिप्रेसनमा पुगेकी उनलाई समाज र परिवारले अब काम नलाग्ने कोटीमा राखिदियो। प्रेमीले बारम्बार ‘तँ नर्मल हो अनि बसेर कुरा गरौँला’ भनेर खबर पठाइरहे। आमाबुबाले कोखको भ्रुण हत्या गरेर आफ्नो इज्जत जोगाइदिन सुझाए। कानुन पढेका उनका दाजुले पनि बुझिदिएनन्, उनको कोख उनको अधिकार हो भन्ने कुरा। परिसालाई अप्ठ्यारोमा यो समाजले बजाएका तालीको सम्झना गर्न मन छैन। मन नभएर पनि धेरै कुरा सम्झिरहेकी छिन्। सम्झनासँगै आउने चित्कारको साक्षी जो हुनु पर्थ्याे, ऊ साथमा थिएन।
पाँच वर्षदेखि चिनजानमा रहेका सुदेशसँग कोरोना कालमा प्रेम झांगिएको हो। पार्लर खोलेर बसेकी उनको कोरोना कालमा व्यापार चलेन। पूर्णकालीन राजनीतिमा होमिएका सुदेशको काम र दाम दुवै थिएन। यो समय आफूले कमाएर जम्मा गरेको सबै पैसा प्रेमीमाथि खर्चिइन्। मन र शरीर दुवै सुम्पिएकी परिसाको उमेर त्यतिबेलासम्म सुदेशका लागि समस्या बनेर देखिएन, जतिबेलासम्म परिसा सहयोग माग्ने अवस्थामा पुगिनन्।
हुन त परिसाले सुदेशसँग आर्थिक सहयोग मागेकी थिइनन्। गर्भमा उनको बच्चा बसेपछि विवाहको प्रस्ताव गरेकी थिइन्। सुरुमा राम्रैसँग गर्भपतन गर्न सुझाएका सुदेशले सम्बन्धमा तनाव थपिँदै गएपछि उमेरको कुरा निकाले। उनले परिसालाई उल्टै आफूलाई प्रयोग गरेको आरोप लगाए। गर्भको बच्चालाई लिएर आफूमाथि ‘इमोसनल ब्ल्याकमेल’ गरेको भन्दै उजुरी गर्ने धम्की दिए। जीवनको लामो कालखण्ड एक्लै संघर्ष गरेर बनाएको इज्जत दाउमा लगाएर परिसाले पनि सम्बन्धलाई जोगाउन चाहिन्। सम्बन्धभन्दा पहिलो जीवन ठानेर सुदेशसँग अलग्गिएकी उनले त्यसपछि पनि सुख पाइनन्।
सम्बन्ध टुटेपछि पनि सुदेशले गर्भपतन गराएर आफूलाई सहज बनाइदिन कहिले धम्की त कहिले आग्रह पठाइरहे। गर्भको बच्चा जोगाउने लडाइँमा उनले बा–आमाको काख र साथ दुवै गुमाइन्। औषधिको भरमा निदाइरहेकी परिसालाई आफ्नो ज्यानको पर्वाह छैन। तर गर्भमा रहेको पेटको बच्चाको चिन्ताले अस्पतालको बेडमा पुर्यायो। उनले एउटा बच्चाका लागि गरेको कष्ट सम्झिएर औषधि दिने नर्सका हात काँपिरहेका थिए। अर्धनिद्रामा रहेकी परिसाको छेउमा बसेर डा. नम्रता प्रधान भन्थिन्, ‘आमा हुनु भनेको आफ्नै सुखविरुद्ध उभिएर बच्चाको खुसीका लागि प्रयत्न गर्नु रहेछ।’
परिसालाई कानुनी लडाइँ लड्न र बच्चा तथा आफ्नो अधिकारका लागि लड्न सुझाव र साथको बचन दिने थुप्रै छन्। तर मन नभएको सम्बन्धलाई कानुनले जितेर ल्याएर पनि आफू जिन्दगीभर हार्ने बताउने उनी एक्लै बाँच्ने हिम्मत बोलिरहेकी हुन्छिन्।
परिसाले भोगिरहेको अहिलेको अवस्था एउटा प्रतिनिधि घटना मात्रै हो। समूहमा, भाषणमा र लेखाइमा परिवर्तनका लागि ठूलो क्रान्ति गर्न तयार युवा पुस्ता आफैँले परिवर्तनको एक पाइला सार्नु पर्ने अवस्थाको सिर्जना भएको खण्डमा पछि हट्ने गरेका छन्।
पुरुषप्रधान समाजमा अहिले पनि पुरुष मनोविज्ञान महिलामाथि हाबी हुन चाहने समाजशास्त्री निर्मला ढकालको तर्क छ। महिलाले पुरुषको सम्मान गर्नु पर्ने मनोविज्ञान पनि आजसम्म समाजमा हाबी रहेको उनी बताउँछिन्।
भन्छिन्, ‘समाज जतिसुकै आधुनिक हुँदै गए पनि आजसम्मै पुरुषलाई महिलाको सहाराको रुपमा नै हेर्ने गरिन्छ। लामो समयदेखि समाजले भन्दै आएको धारणा परिवर्तन हुन समय लाग्छ।’
उमेर मात्रै होइन, शिक्षामा पनि पुरुषले आफूभन्दा कम पढेलेखेको खोज्ने गर्छन्। आफूभन्दा धेरै पढेका, कमाइ भएका महिलाले पुरुषलाई हेप्छन् भन्ने मनोविज्ञानका कारण पुरुषहरुले आफूभन्दा कमजोर केटीसँग विवाह गर्न चाहन्छन्।
ढकाल भन्छिन्, ‘एउटा पुरुषले आफ्नी श्रीमतीलाई म तिमीभन्दा बढी कमाउँछु भन्दा सामान्य कुरा हुन्छ। तर त्यही कुरा महिलाले भनी भने ठूलो हुन्छ। यही कारणले पनि पुरुषहरु अहिले पनि आफूभन्दा कम उमेरका महिलासँग विवाह गर्न चाहन्छन्।’
परिसाको केसमा भने सामाजिक संरचनाले मात्रै नभएर पुरुषको बद्नियत पनि जिम्मेवार रहेको उनी बताउँछिन्।
सम्बन्धमा रहँदा उमेर अन्तरको कुरामा सधैँ हलिउड र बलिउडको उदाहरण दिने उनका प्रेमीका आफैँ उदाहरणीय बनिदेओस् भन्ने परिसाको चाहना थियो। तर, उनको जीवन झन् दुःखदायी बनेको छ।
‘कसले बनायो समाजमा यति ठूलो पर्खाल। त्यो पर्खालभित्र किन निहुरिरहनु पर्यो छोरीहरुले? यो समाजको संस्कारमा निर्माण भएको विवाह नामक संस्थाले किन खोजिरह्यो सधैँ दुलाहाभन्दा कान्छी दुलही?’ उनको प्रश्न छ, ‘अनि किन पछ्याइरहेछ मेरो पुस्ताले पनि। आफूभन्दा १० वर्ष जेठासँग किन बिनाप्रश्न बिहे गरेर भित्रिए आमाहरु? र, आज मैले आफूभन्दा कान्छालाई प्रेम गरेकै निहुँमा किन जीवन भत्काउनुपर्छ?’
डा. नम्रता परिसालाई अभिनेत्रीहरुको उदाहरण दिँदै आशावादी हुन सुझाउँथिन्। त्यसपछि पनि परिसाको आक्रोश, आँसु र प्रश्न रोकिदैनन्। उनी सोध्छिन्, ‘यो सूचीमा पढेलेखेका शिक्षक, वकिल, पत्रकार, राजनीतिज्ञ पनि त देखा्यदिनुस्। समाजमा खास परिवर्तन त उनीहरुका कारण देखिनु पर्ने होइन र? तिनै व्यापारीहरुले पनि सामान्य मानिससँग विवाह गरेको उदाहरण भन्दिनुहोस्।’
आफैँले पाएको सन्तानलाई आमाको नाम दिन नारा, जुलुस र अनशन बस्नु पर्ने समाजमा परिसाको मानवअधिकार त्यही दिन हनन् भयो, जुन दिन उनका प्रेमीले उनको कोखमा लात हाँनेर हिँडे। महिलालाई सधैँ दोस्रो दर्जाको नागरिक बनाउन उद्धत कानुनसँग कति दिन लड्नुपर्ने हो उनलाई थाहा छैन।
तर भावी जिन्दगीको हिसाबकिताब गरेर बाँच्नु छैन उनलाई। उनको चेतना परिवर्तनको उज्यालो घाम हेर्न चाहन्छ। र, उनलाई सघाउन हिजोआज उनकी आमा थपिएकी छन्। छोरीको लडाइँका लागि उनकी आमाले परिवारसँग विद्रोह गरेकी छन्। हिजोआज परिसा आमाको काँधमा आड लागेर बाहिरी संसार नियालिरहेकी हुन्छिन्।
Shares
प्रतिक्रिया