दसैँको अवधिभर कर्णाली प्रदेशमा साना–ठूला गरी २१ सवारी दुर्घटना भएका छन् । प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार ती दुर्घटनामा परी ३७ जनाले ज्यान गुमाएका छन्।
यस अवधिमा सबैभन्दा ठूलो दुर्घटना असोज २६ गते मुगुमा भएको छ । नेपालगञ्जबाट मुगु सदरमुकामतर्फ जाँदै गरेको बस छायाँनाथ रारा नगरपालिकाको पिनातपने खोलामा दुर्घटना हुँदा ३२ जनाको मृत्यु हुनुका साथै १३ जना घाइते भएका थिए। यो दुर्घटनामा मृत्यु हुनेमध्ये छायाँनाथ रारा नगरपालिकाकामात्रै २९ जना थिए । सो दुर्घटनाले सो नगरपालिका पूरै शोक डुब्यो।
प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक जीवन लामिछानेका अनुसार सुर्खेतमा भएका नौ दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन्।
त्यसैगरी रुकुम पश्चिम र जुम्लामा दुई जनाको मृत्यु, दैलेखमा भएका चार दुर्घटनामा सात घाइते, सल्यानमा दुई दुर्घटनामा १६ घाइते भएका छन्। मुुगुमा दुई, जाजरकोट, रुकुम पश्चिम, जुम्ला र कालीकोटमा भएका एक–एक सवारी दुर्घटना भए।
प्रदेशमा दसैँ अवधिभर ११ जनाले आत्महत्या गरेका प्रदेश प्रहरीले जनाएको छ। रासस
Shares
प्रतिक्रिया