यस वर्षको मनसुनबाट ४८ जिल्ला प्रभावित भएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बताएको छ।
प्राधिकरणका प्रवक्ता विश्वप्रकाश अर्यालले यस वर्षको मनसुनबाट ४८ जिल्ला प्रभावित भएको बताए। उनले यस वर्षको मनसुनबाट ६३ जनाको मृत्यु भएको, ३५ जना अझै बेपत्ता रहेको र ६३ जना घाइते भएको जानकारी दिए।
त्यस्तै ५ सय ६५ निजी आवास पूर्णरुपमा क्षति भएको, १ सय ५५ घर आंशिक रुपमा क्षति भएको तथा ३७ सरकारी भवन र १२ वटा सामुदायिक भवन तथा विद्यालय क्षति भएको पनि उनले बताए। त्यसैगरी निर्माणाधिन र निर्माण सम्पन्न भइसकेका २५ जलविद्युत आयोजना, ७ वटा काठेपुलसहित २६ वटा मोटरेवल पुल र २५ वटा झोलुङ्गे पुलमा क्षति भएको पनि उनले जानकारी दिए।
गत वर्षको मनसुनबाट क्षति भएका २२ जिल्लाका ४ हजार ९ सय ३७ लाभग्राहीको लागि २९ करोड ९९ लाख २६ हजार २५० रुपैयाँ रकम अवास निर्माण, पुनर्निर्माण, पुनर्स्थापना र प्रवलीकरणका लागि निकासा गरिएको पनि उनले बताए।
यस आर्थिक वर्षमा भने विभिन्न ८ जिल्लाका ५ सय ७३ लाभग्राहीका लागि २ करोड ८६ लाख ५० हजार रुपैयाँ तत्कालै अस्थायी आवास निर्माणका लागि सम्बन्धित जिल्ला विपत व्यवस्थापन समितिको कोषमा रकम निकासा गरिसकिएको पनि उनले बताए।
उनले प्राधिकरणले हाल मनसुनबाट भएको क्षतिको विवरण देशभरबाट संकलन गरिरहेको पनि बताए। विपद परेका जिल्लाहरू सिन्धुपाल्चोक, मनाङ, गोरखा, बाजुरा, गुल्मी, अर्घाखाँची, धादिङ, ताप्लेजुङ र पाँचथरमा टेण्ट, त्रिपाल, कम्बल, स्लिपिङ ब्यागहरु र माग भए अनुसारका सामग्रीहरु पठाइएको पनि राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता विश्वप्रकाश अर्यालले बताए।
Shares
प्रतिक्रिया