ad ad

प्रविधि


सेन्ट जेभियर्सका विद्यार्थीको सिर्जना : ‘सञ्चै छौ?’ एप, बन्ला बिरामीको साथी?

सेन्ट जेभियर्सका विद्यार्थीको सिर्जना : ‘सञ्चै छौ?’ एप, बन्ला बिरामीको साथी?

सन्तोष न्यौपाने
पुस १४, २०७७ मंगलबार १७:३०,

पछिल्लो समय हरेक क्षेत्रहरु डिजिटाइज्ड अर्थात् डिजिटल रुपान्तरण भइरहेका छन्। तरकारी बजार अब ‘क्युआर कोड’बाट चल्ने भएको छ।

अझ उत्साहित हुने विषय त के छ भने यस्ता नयाँ प्रविधिमा युवाहरुको लगाव ह्वात्तै बढेको छ। यसैको उदाहरण हो– ‘सञ्चै छौ?’

सेन्ट जेभियर्स पढ्दै गरेका २० वर्षे तीन युवाले विकास गरेको ‘सञ्चै छौ?’ एप स्वास्थ्य क्षेत्रसँग सम्बन्धित छ। दैनिक जीवनमा मुखैमा झुण्डिएको ‘सञ्चै छौ?’लाई हामी अरुको हालखबर सोध्न प्रयोग गर्छौँ।

स्वास्थ्यसम्बन्धी जानकारी लिने र परामर्श समेत दिने गरी विकास गरिएको यो एपले बिरामी र डाक्टरलाई मात्र जोडेको छैन, घर–घरमा औषधि पुर्‍याउने र आफ्नो नजिकको उपचार केन्द्रहरुबारे जानकारी समेत उपलब्ध गराउँछ।

सेन्ट जेभियर्समा कम्प्युटर विज्ञान र सूचना प्रविधिमा स्नातक तहमा अध्ययनरत २० वर्षे युवाहरु गौतम फुँयाल, गाैरव चौलागाईं र कासिस मानन्धरले ‘सञ्चै छौ?’ एप ल्याएका हुन्।

यो एपले भर्खर मात्र सम्पन्न भएको आईसीटी अवार्ड समेत जित्न सफल भएको छ। केही समय परीक्षणका रुपमा प्रयोग गरिएको यो एपलाई गुगलको प्लेस्टोरमा ‘पज’ गरेर अपग्रेड गरिरहेका छन् उनीहरु।

विभिन्न फिचरहरु थपेर एक महिनाभित्र एप सार्वजनिक गर्ने तयारी उनीहरुले गरेका छन्। अझ ६ महिनाभित्र एपमार्फत औषधि बिक्री गर्ने योजना समेत बनाएका छन्।

तीन युवामध्ये गौतमले ब्याकएन डेभलपरमा काम गरिरहेका छन्। कासिसले एपको अगाडि स्क्रिनको डिजाइनिङको काम गरिरहेका छन् भने गाैरवले च्याट बटको फिचरमा काम गरिरहेका छन्।

sanchai chhau 2

‘सञ्चै छौ? भन्ने एप स्वास्थ्यसम्बन्धी हो,’ गौतमले यसबारे नेपालबरसँग भने, ‘यसले हरेक घरमा बिरामीले भोगिरहेको समस्याहरुलाई सम्बोधन गर्नेछ।’

यो एपबाट उपभोक्ताले स्वास्थ्यकर्मीसँग अन्तर्क्रिया समेत गर्न सक्नेछन्। त्यसका लागि एपमा ‘च्याट बट’ फिचर राखिएको छ। यसबाट डाक्टर र बिरामी भर्चुअल (अनलाइन) माध्यममा जोडिनेछन्।

एपमा भएको च्याटबटले उनीहरुसँग भर्चुअल मेडिकल असिस्टेन्ट (सहयोगी)का रुपमा काम गर्नेछ। सामान्य स्वास्थ्य समस्याहरु पनि एपमार्फत यही च्याटबटले नै भनिदिन्छ।

‘यो हाम्रो भविष्यको योजना हो’, गौतमले सुनाए, ‘घरमै बसेर एपमार्फत डाक्टरसँग कुरा गर्न सकिनेछ।’ त्यस्तै यसबाट औषधिसम्बन्धी विवरण पनि लिन सकिने उनले बताए।

अहिले नेपाली बजारमा एक लाखभन्दा धेरै औषधिका प्रकार छन्। ती औषधिको विस्तृत विवरण, नाम, मूल्य, औषधिको कम्पोजिसन, यसले के गर्छ, साइड इफेक्ट अर्थात् यसले गर्ने अन्य असर के हुन्छ भन्ने जानकारी लिन सकिने गौतमको भनाइ छ।

यो एपमा भएको अर्को महत्वपूर्ण फिचर भनेको औषधि खाने समय सम्झाउने अर्थात् ‘रिमाइन्डर’ पनि हो। विश्वमा तथ्यांक हेर्ने हो भने २७ प्रतिशत बिरामीले नियमित औषधि खान बिर्सिने गरेका छन् र त्यही समस्या समाधान गर्न ‘मेडिसिन रिमाइन्डर’ भनेर फिचर पनि राखेको गौतम बताउँछन्।

यसले आफ्नो घरनजिकैको क्लिनिक, अस्पताल पनि देखाइदिने उनले थपे। गुगल म्यापमा अस्पतालको जानकारी भए पनि क्लिनिक नै हेर्न भने सकिँदैन। तर एपले सजिलो र छिटो भने अवश्य हुनेछ।

अहिले उनीहरुले इमाडोल क्षेत्रका क्लिनिकको जानकारी राखेर एप सुरु गरेका छन्। ‘सुरुमा काठमाडौं उपत्यकाको अपडेट गर्ने र त्यसपछि नेपालभरको क्लिनिक र अस्पतालको अपडेट गर्ने योजना छ’, गौतमले भने।

बिरामीको हेल्थ रिपोर्टहरु कागजी रुपमा हुन्छ। त्यो हराउँदा धेरै बिरामीलाई समस्या हुन्छ। त्यसलाई सम्बोधन गर्न पनि एपमा उनीहरुले आवश्यक फिचरहरु ल्याउँदै छन्।

यसमा अझ महत्वपूर्ण फिचर एपबाट औषधि सेवा उपलब्ध गराउने छ। उनीहरुले यसमा काम गरिरहेका छन्। कसैले एपमार्फत औषधिको अर्डर (मागे) गरेमा ‘होम डेलिभरी’ (घरमै पुर्‍याइदिने) को सुविधा ल्याउने सोचमा उनीहरुको छ। ६ महिनापछि यसको सुरुवात गर्ने गौतमले बताए।

sanchai chhau 3

यो आइडिया (काम गर्ने अठोट) उनीहरुलाई कोरोना सुरु हुनुभन्दा ६ महिनाअघि नै आइसकेको थियो। साथीहरुबीच यससम्बन्धी काम गर्ने सोच तीनै युवाले बनाइसकेका थिए।

त्यही योजना बनाउँदै गर्दा कोरोना महामारी आयो र त्यसलाई नियन्त्रण गर्न लकडाउन भयो। ‘लकडाउन हाम्रो लागि वरदान नै भयो’, गौतमले भने, ‘लकडाउनले हामीलाई यस एपमा काम गर्न समय मिल्यो।’

त्यो बेला उनीहरुले आफ्नै घरका विभिन्न समस्या समाधान गर्ने सोच राखेका थिए। आफ्नै घरनजिकको स्वास्थ्य क्लिनिक, आफूले प्रयोग गर्ने औषधिको जानकारी, औषधि खान बिर्सिने बानीजस्ता समस्या समाधान गर्ने उद्देश्यले यो एप बनाउन सुरु गरिएको गौतमको भनाइ छ।

कोरोना संक्रमणको महामारीसँगै यो एपको महत्व अझै बढेको उनीहरुले बुझेका छन्। मानिसहरु कोरोना सर्ला कि भन्ने डरले अस्पताल जान पनि डराइरहेको अवस्थमा एप चलाएर घरबाटै स्वास्थ्य सल्लाह लिन सकिने उनीहरुको भनाइ छ।

एपलाई केही समय ट्रायल (परीक्षणका रुपमा)मा राखेर उनीहरुले हेरिसकेका छन्। एकै पटक धेरैले डाउनलोड गरेपछि अहिले प्लेस्टोरमा ‘पज’ गरेर राखिएको उनीहरुको भनाइ छ।

नयाँ फिचरसहित एक महिनाभित्र एपलाई सञ्चालनमा ल्याउने तयारी छ।

‘एक महिनामा यसको अपग्रेडेड भर्सन निकाल्दै छौँ’, गौतमले भने, ‘चाँडै नै अनलाइन मेडिसिन सेवा दिने गरी यसको सुरुवात गरेका छौँ।’ यसको लागि भने अझै ६ महिना कुर्नुपर्ने उनी बताउँछन्।

आफ्नो प्रोडक्ट सञ्चालनमा ल्याउने तयारी गरिरहेको बेला मुलुकको प्रतिष्ठित आईसीटी अवार्ड पाउँदा उत्साहित छन् उनीहरु।

‘आईसीटी अवार्ड जिते पनि नजिते पनि बजारमा यो प्रोडक्ट लैजाने विचार गरिरहेका थियौँ’, गौतमले भने, ‘यो अवार्डले सबैतिर चिनिने अवसर दिएको छ। हामी उत्साहित छौँ।’

अहिले विश्वमै स्वास्थ्य सबैभन्दा ठूलो विषय र समस्या पनि हो। सूचना प्रविधिको प्रयोगबाट स्वास्थ्य क्षेत्रको समस्यालाई सम्बोधन गर्न सकिने उनीहरुको विश्वास छ।

‘हामीलाई केही मिहिनेत त गर्नैपर्ला तर असम्भव छैन’, गौतमले नेपालखबरसँग भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .