मानिस र मेसिनबीचको मुख्य फरक के हो? केही समयअघिसम्म धेरैको उत्तर हुन्थ्यो, सिर्जना। मानिसले सिर्जना गर्छ, मेसिनले गर्दैन। तर, यो फरक अब मेटिँदै गएको छ।
साहित्य, संगीत, फोटोग्राफी वा लेखनजस्ता कलाको विधामा मेसिन पनि पारंगत बन्न थालेको छ।
यस्ता सिर्जनामा मानिसको प्रतिलिपि अधिकार हुन्थ्यो। तर, कृत्रिम बुद्धिमत्ता (आर्टिफिसियल इन्टेलिजेन्स) को सिर्जनामा?
हालै एक चिनियाँ अदालतको फैसलाअनुसार कृत्रिम बुद्धिमत्ताको सिर्जनामा पनि प्रतिलिपि अधिकार कायम हुने देखिएको छ।
चिनियाँ टेक्नोलोजी कम्पनी टेन्सेन्टको एआईले तयार गरेको वित्तीय प्रतिवेदनलाई सांघाई यिङसुन टेक्नोलोजी नामक कम्पनीले बिना अनुमति प्रकाशित गरेको थियो। जसउपर टेन्सेन्टले मुद्दा हालेको थियो।
सो मुद्दामा सुनुवाइ गर्दै दक्षिण चीनको ग्वाङदोङ प्रान्तस्थित सेनझेन सहरको एक अदालतले नक्कल गर्ने कम्पनीलाई १५ सय युआन जरिवानाको फैसला गरेको छ।
सो रिपोर्ट टेन्सेन्टले विकास गरेको ड्रिमराइटर नामक कार्यक्रमले लेखेको थियो।
यो कार्यक्रमका सुरुवात सन् २०१५ को सेप्टेम्बरमा भएको थियो। यो रोबोटले डाटा र अल्गोरिदममा आधारित भएर आर्थिक तथा खेलकुद विषयमा दैनिक २ हजार वटा समाचार लेख्न सक्छ।
नोभेम्बर २०१७ मा आयोजित टेन्सेन्ट मिडिया समिटमा सो रोबोटले एक अतिथिको भाषणको पाठ एक सेकेन्डभन्दा कम समयमा तयार गरेको थियो।
आजभोलि सिर्जनात्मक कार्यमा कृत्रिम बुद्धिमत्ताको प्रयोग नौलो होइन।
तर, यसले प्रतिलिपि अधिकारको विषयलाई अत्यन्त जटिल बनाइदिएको छ।
यदि मेसिनको सिर्जनामा पनि कपिराइट लाग्ने हो भने त्यो कोमा निहित होला? कृत्रिम बौद्धिकता, रोबोट निर्माता वा प्रयोगकर्ता? यसमा बहस भइरहेको छ।
धेरैजसोले विश्वभर रहेका कपिराइट कानुनमा परिवर्तन गर्ने बेला भइसकेको बताउँदै आएका छन्। सीजीटीएन
Shares
प्रतिक्रिया