बेइजिङका लागि जासूसीको आरोप लगाइरहेको अमेरिकी चेतावनीलाई बेवास्ता गर्दै हुवावेले नयाँ योजना अघि सारेको एएफपीले जनाएको छ।
अमेरिका–चीन व्यापार युद्धमा मुख्य सरोकारको केन्द्रमा रहेको प्रविधिकै विषयका कारण दुबै मुलुकले एकअर्काका अर्बौं डलर बराबरका सामानमा करवृद्धि गरेका छन्।
हुवावेमार्फत चीनले जासूसी गरेको आरोप लगाइरहेको अमेरिकी प्रशासनले जटिल प्रकृतिका अमेरिकी प्रविधिहरु हुवावेलाई बेच्न रोक लगाइसकेको छ। तर कम्पनीले अमेरिकी आरोपलाई लगातार अस्वीकार गरेको छ। प्रविधिका क्षेत्रमा फड्को मारेकै कारण आफूहरु अमेरिकी प्रविधि कम्पनीको कोपभाजनमा परेको हुवावेको दाबी छ।
थाइल्यान्ड र फिलिपिन्सले भने साइबर सुरक्षाको विषयलाई नजरअन्दाज गरेका छन्। उनीहरुले चिनियाँ कम्पनी हुवावेको पाँचौं पुस्ताको इन्टरनेट सेवा (फाइभ–जी) प्रयोगमा ल्याउन अनुमति दिइसकेका छन्। हुवावे चीनको सर्वाधिक ठूलो स्मार्टफोन निर्माता पनि हो।
हुवावेका उपाध्यक्ष एडवार्ड झाउले आसियान सम्मेलनका क्रममा बैंककमा भने, “चीन र अमेरिका अहिले व्यापार युद्धमा छन् र त्यहाँ प्रविधिसँग जोडिएको युद्ध पनि छ। अमेरिकाको मुख्य ध्यान हुवावेमाथि नै छ।”
दश मुलुक सहभागी आसियानका करोडौं जनतालाई उच्च गुणस्तर र तिब्रताको इन्टरनेटबाट जोड्न सकिए यस क्षेत्रकै व्यवसाय, पूर्वाधार र यातायातलाई विश्वसँग प्रतिस्पर्धात्मक बनाउन सकिने हुवावेको विश्वास छ।
थाइल्यान्डले हुवावेलाई सेवा सञ्चालनका लागि अनुमति दिइसकेको छ। केहीअघि फिलिपिन्सको ग्लोब टेलिकमले पनि हुवावेको प्रविधि प्रयोग गरी फाइभ–जी ब्रोडब्यान्ड सेवा उपलब्ध गराउने घोषणा गरेको थियो।
प्रतिक्रिया