ad ad

समाज


मुकेश अम्बानीको घरनजिक छाडिएको गाडीभित्र जब जिलेटिन र ‘तिम्रो परिवारै उडाइदिन्छु’ भन्ने पत्र भेटिए...

मुकेश अम्बानीको घरनजिक छाडिएको गाडीभित्र जब जिलेटिन र ‘तिम्रो परिवारै उडाइदिन्छु’ भन्ने पत्र भेटिए...

नेपालखबर
फागुन १५, २०७७ शनिबार २:१५,

रिलायन्स इन्डस्ट्रिजका प्रमुख मुकेश अम्बानीको घरनजिकै बिहीबार शंकास्पद अवस्थामा स्कार्पियो जिप फेला परेपछि भारतमा यतिबेला सनसनी फैलिएको छ।

मुम्बई अपराध शाखाको स्रोतका अनुसार स्कार्पियोमा जिलेटिनका साथै एउटा पत्र पनि फेला पारेको छ। जसमा लेखिएको छ– ‘मुकेश दाइ तथा नीता भाउजू ! यो त झलक मात्रै हो। अर्काेपटक यो सामान पूर्ण रूपमा जडान गरिनेछ। ओरिजिनल गाडीमा आउनेछ। तपाईंको सबै परिवार उडाउने योजना छ। सचेत रहनुस्।’

जिपमा एउटा ब्याग पनि फेला परेको छ। जसमा मुम्बई इन्डियन्स लेखिएको छ।

महराष्ट्र सरकारले घटना अनुसन्धानको जिम्मा मुम्बई अपराध शाखालाई दिएको छ। शाखाले घटना अनुसन्धानका लागि १० टोली बनाएको छ। अपराध शाखाले घटनााबारे ठूलो सूचना प्राप्त गरेको बताइएको छ। शुक्रबारदेखि एनआईएको टोलीले पनि अनुसन्धान गरिरहेको छ।

शाखाका प्रमुख मिलिन्द भारम्बेले शुक्रबार दिएको जानकारीअनुसार स्कार्पियो जिपको पछाडि इनोभा गाडी पनि केही मिनेट रोकिएको थियो। जुन गाडी राति १ बजेर २० मिनेटमा ठाणेबाट प्रस्थान गरेको पाइएको छ। बाटोमा पर्ने प्रियदर्शिनी चोकनजिकबाट त्यो संदिग्ध स्कार्पियो जिप पनि साथै आएको अनुसन्धानबाट पत्ता लागेको छ।

दुवै गाडी राति २ बजेर १८ मिनेट जाँदा मुकेश अम्बानीको घर नजिक रोकिए। स्कार्पियो त्यहीँ छाडियो भने त्यसका चालक ३–४ मिनेट पछि इनोभा गाडी लिएर त्यहाँबाट गए। इनोभा गाडीको नम्बरसमेत नक्कली पाइएको छ। 

स्कार्पियोका मालिक ठाणे निवासी व्यक्ति भएको पत्ता लागेको छ। घटना विवरणअनुसार उनी यही फेब्रुअरी १७ राति परिवारका साथ आफ्नो गाडीमा चढेर कुनै कार्यक्रममा जाँदै थिए। तर बीचमै गाडी बिग्रियो। त्यसपछि उनी गाडी त्यहीँ छाडेर अर्को ट्याक्सी चढेर गए। उनी जब फर्किएर आए तब उनको गाडी चोरी भइसकेको थियो। उनले प्रहरीमा उजुरी दिए। त्यस क्रममा चोरले उनको गाडीको नम्बर प्लेट नम्बर परिवर्तन गरिदए। इन्जिन र चेसिस नम्बरसमेत फेरे।

फेरिएको नम्बर प्लेट मुकेश अम्बानीको प्रमुख गाडीसँग मिल्यो। अझ अचम्मको कुरा- चोरी गरिएको त्यो गाडीमा आधा दर्जन अवैधानिक नम्बर प्लेट पनि फेला परेका छन्। ती सबै अम्बानीकै कम्पनीका गाडीका नम्बरसँग मिलेका छन्।

मुम्बई प्रहरीका अनुसार त्यस स्कार्पियो गाडीमा २१ थान जिलेटिन पनि फेला परेका हुन्। अपराध शाखाको स्रोतका अनुसार बरामद जिलेटिन १२५ ग्राम थियो। जुन विस्फोटमा प्रयोग गरिन्छ। त्यो पड्किएको भए गाडी नै ध्वस्त हुन्थ्यो। मुम्बई अपराध शाखाका प्रमुख मिलिन्द भारम्बेका अनुसार विस्फोटको प्रभाव ३० वर्ग फिटसम्म पर्छ। 

घटनाको अनुसन्धान जारी छ। नवभारत टाइम्सबाट

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .