पछिल्लो समय महोत्तरीको बर्दिबास मधेस प्रदेशकै उदीयमान सहरका रूपमा स्थापित हुँदै छ। पूर्वपश्चिम राजमार्गसँगै जोडिएको बर्दिबास बीपी राजमार्गको प्रवेश नाका पनि हो। जहाँबाट १९० किलोमिटर दूरी पार गरेपछि सिन्धुली, धुलिखेल हुँदै काठमाडौं पुगिन्छ।
डेढ दशकयता यो सहरसँगै जोडिएर आउने नाम हो– गिरिराजमणि पोखरेल। जो यहाँ (महोत्तरी–१) बाट तीनपटक लगातार प्रतिनिधिसभामा विजयी भइसकेका छन्। यसपटक उनी यही क्षेत्रबाट संघीय संसदमा चौथो जितको खोजीमा छन्। जसका लागि दिनरात नभनी उनी मतदातालाई भेटिरहेका छन्।
बर्दिबास बजारबाट पक्की र कच्ची करिब दुई किमि पार गरेपछि बर्दिबास ३ गौरीडाँडाको ‘आधारशीला ’ पुगिन्छ। ‘कम्युन’का रूपमा स्थापित आधारशीला मा १२ वर्षदेखि माओवादी केन्द्रका उपमहासचिव पोखरेलको नेतृत्वमा १३ परिवार बसोबास गरिरहेका छन्
स्थानीय बासिन्दा आधारशीलालाई ‘कम्युनिस्टहरू को सामूहिक घर’का रूपमा चिन्छन्। जहाँ जस्ताले छाएको एउटै छानोमुनि एक दशकभन्दा लामो समयदेखि १३ परिवारका ४२ जना मिलेर बसेका छन्।
आधारशीला ‘कम्युन’ को नेतृत्व गरिरहेका ६४ वर्षीय पोखरेल अविवाहित छन्। तर, आधारशीलाका छोराछोरी उनलाई ‘बा’ भनेर सम्बोधन गर्छन्।
जनयुद्धताका तत्कालीन माओवादीले आधारशीलाजस्ता आधा दर्जनजति ‘कम्युन’ सञ्चालन गरेको थियो। तर, यतिबेला पोखरेलले नेतृत्व गरेको आधारशीला बाहेक माओवादीले सञ्चालन गरेका सबै ‘कम्युन’ लोप भइसकेका छन्।
बुधबार सबेरै यो पंक्तिकार पुग्दा गौरीडाँडाको ‘आधारशीला ’ परिसर सुनसानजस्तै थियो। त्यो परिवारकी आमा आशा गिरी भान्सामा आगन्तुकलाई चिया, खाजा खुवाउँदै थिइन्। घरमा गिरिराजमणि देखिएनन्। हाम्रो जिज्ञासामा आशा बोलिन्, ‘दाइ त बिहान ५ बजे नै उठेर घरदैलोमा गइसक्नुभयो। अब दिउँसो खाना खान मात्रै घरमा आउनु हुन्छ।’
मोबाइल निकालेर फोन लगाएँ। पोखरेलको सचिवालयका मोहन तामाङ बोले। उनले भने, ‘हामी माइस्थानमा घरदैलो गर्दै छौँ। ९ बजे बर्दिबास आइपुग्छौँ। दाइसँग त्यहीँ भेट हुन्छ।’
बिहान ९ बजे राष्ट्रियसभाकी पूर्व उपाध्यक्ष शशिकला दाहालको बर्दिबास १ स्थित घरमा पुग्दा गठबन्धन दलका नेता/कार्यकर्ता घरदैलो कार्यक्रमको तयारी गर्दै थिए। त्यहाँ कांग्रेस, माओवादी र लोसपाका नेता कार्यकर्ताको बाक्लो जमघट थियो।
लोसपाबाट प्रदेशसभा (क) का उम्मेदवार पिताम्बर महतो पनि त्यहीँ भेटिए। माओवादी र कांग्रेसका नेता/कार्यकर्तासँग गफिँदै उनी भनिरहेका थिए, ‘माहोल हाम्रो पक्षमा आइसक्यो। अब ४ गतेसम्म यसलाई जोगाएर राख्नुपर्ने चुनौती हाम्रो अगाडि छ। सबै साथीहरू त्यसअनुसार खटिनुहोला।’
केही बेरमै गिरिराजमणि पोखरेल आइपुगे। पोखरेलसँगै थिए - कांग्रेस नेता चिरञ्जीवी हमाल। ०७० सालको निर्वाचनमा महोत्तरी १ बाट पोखरेलसँगै प्रतिस्पर्धा गरेका हमाल यो निर्वाचनमा भने पोखरेलका सारथि बनेका छन्।
हमालकै नेतृत्वमा कांग्रेसका नेता–कार्यकर्ता पोखरेलसहित गठबन्धनका उम्मेदवारलाई भोट माग्दै महोत्तरी १ का गाउँघर, सहर-बजार, चोक-चौराहा डुलिरहेका छन्।
‘घरदैलो गर्न अझै धेरैतिर बाँकी छ। तर, अब समय छैन। बिहीबारसम्म घरदैलो सक्नुपर्ने छ,’ बिहीबार (आज) राति १२ बजेदेखि मौन अवधि सुरु हुने हुँदा बिहीबार साँझसम्ममा बाँकी घरदैलो सक्नुपर्ने आफ्नो बाध्यता पोखरेल सुनाउँदै थिए।
एक महिना अघिदेखि पोखरेल महोत्तरी १ मा घरदैलो अभियान सञ्चालन गरिरहेका छन्। १५ वर्षसम्म सांसद र मन्त्री हुँदा महोत्तरीको विकासमा आफूले गरेका काम र अब गर्ने कामका योजना सुनाउँदै पोखरेल पुनः आफूलाई मतदान गर्न मतदानलाई आग्रह गरिरहेका छन्।
मतदानको दिन नजिकिँदै जाँदा आफ्नो पक्षमा माहोल बन्दै गएको गठबन्धनका नेता/कार्यकर्ताको दाबी छ।
‘यतिबेला चुनावको माहोल गठबन्धनको पक्षमा छ,’ कांग्रेस नेता हमालले नेपालखबरसँग भने, ‘यो माहोललाई जोगाइराख्न हामी सबै विशेष चनाखो बन्नुपर्छ। मैले माओवादी साथीहरूलाई त्यसप्रति सचेत गराएको छु।’
०६४ को पहिलो संविधानसभा निर्वाचनमा विजयी हुँदा एमालेका अरुण चौधरी पोखरेलका निकटतम प्रतिस्पर्धी थिए। ०७० मा कांग्रेसका चिरञ्जीवी हमाल र मधेसवादी दलबाट शरतसिंह भण्डारीले पोखरेलसँग प्रतिस्पर्धा गरेका थिए। त्यतिबेला भण्डारी पोखरेलको निकटतम प्रतिस्पर्धी थिए।
०७४ मा जसपाका लक्ष्मी महतो पोखरेलको निकटतम प्रतिस्पर्धी बने। तिनै महतो यसपटक एमाले प्रवेश गरेर पोखरेलसँग प्रतिस्पर्धा गर्दै छन्।
०६४ मा जनमोर्चा, ०७० तथा ०७४ को निर्वाचनमा माओवादीबाट विजयी भएका पोखरेललाई यो निर्वाचनमा माओवादीसँगै सत्ता गठबन्धनमा रहेका दल कांग्रेस र लोसपाको पनि साथ छ।
सत्ता गठबन्धनले महोत्तर १ लाई ‘ग्रिन जोन’ अर्थात् जित्ने सूचीमा राखेको छ।
महोत्तरी १ मा पोषण थापाले पनि स्वतन्त्र उम्मेदवारी दिएका छन्। यातायात कार्यालय बर्दिबासको प्रमुख पदबाट राजीनामा दिएर थापा चुनावमा होमिएका हुन्। यसपटक महोत्तरी १ मा मुख्य रूपमा पोखरेल, महतो र थापाबीच नै प्रतिस्पर्धा हुने अनुमान गरिएको छ।
०७४ मा वाम गठबन्धनबाट चुनाव लड्दा पोखरेलले २३ हजार ७७६ मत प्राप्त गरेका थिए। त्यतिबेला उनका निकटतम प्रतिस्पर्धी संघीय समाजवादी फोरमका लक्ष्मी महोतोले १९ हजार ४९२ मत ल्याएका थिए।
गएको स्थानीय तह निर्वाचनमा वडाध्यहरूले पाएको मत हेर्दा महोत्तरी १ मा गठबन्धनको अवस्था बलियो छ। यो क्षेत्रमा माओवादी केन्द्र सबैभन्दा बलियो शक्ति हो। महोत्तरी १ मा बर्दिबास र गौशाला नगरपालिकाका पूरै क्षेत्र पर्छन्। त्यसैगरी भंगाहा नगरपालिकाको चारवटा वडा पनि यही क्षेत्रमा समेटिएका छन्।
स्थानीय निर्वाचनमा माओवादी केन्द्रका वडाध्यक्षहरूले यो क्षेत्रमा १५ हजार ८८८ मत प्राप्त गरेका छन्। त्यसैगरी कांग्रेसका वडाध्यक्षहरूले १३ हजार १४६, एमालेले ७ हजार २३४, लोसपाले ६ हजार ८२७, राप्रपाले ४ हजार ३८७, जसपाले १ हजार ५०८, नेकपा एकीकृत समाजवादीले ४ सय ७८ मत पाएका छन्।
स्थानीय तह निर्वाचनमा वडाध्यक्षका स्वतन्त्र उम्मेदवारहरूले प्राप्त गरेको मत २१ हजार भन्दा धेरै छ। स्थानीय तह निर्वाचनमा बर्दिबास नगरपालिकाको मेयर, उपमेयरसहित केही वडामा स्वतन्त्र उम्मेदवार विजयी भएका थिए।
बर्दिबासको मेयरमा स्वतन्त्रबाट प्रह्लादकुमार क्षेत्री विजयी हुँदा माओवादीका राजु खड्का हारेका थिए। त्यतिबेला कांग्रेसबाट टिकट नपाएपछि बागी उम्मेदवार बनेका क्षेत्रीको समूहबाट अहिले अधिकांश नेता/कार्यकर्ता आआफ्ना पार्टीमा फर्किसकेका छन्। यसले पनि गठबन्धनका उम्मेदवारलाई चुनाव जित्न सहज हुने आकलन गर्न थालिएको छ।
विगतमा आफूले गरेका काम, पार्टीको बलियो सांगठानिक अवस्था र सत्ता गठबन्धनका दलको साथले यो निर्वाचनमा आफू पुनः विजयी हुने विश्वास पोखरेलले व्यक्त गरे।
‘महोत्तरी १ मा माओवादी आफैँ बलियो छ। मलाई गठबन्धनका दलको पनि साथ छ,’ पोखरेलले नेपालखबरसँग भने, ‘मैले यस क्षेत्रमा विकास निर्माणका धेरै काम गरेको छु। अझै पनि धेरै कामका योजनाहरू छन्। यसपटक पुनः चुनाव जितेर ती अधुरा काम पूरा गर्ने प्रतिबद्धता मैले मतदातासमक्ष व्यक्त गरेको छु।’
सांसद र मन्त्री हुँदा आफू सधैं महोत्तरीका जनताको साथमा रहेकाले पनि आफूलाई जनताले पुनः विजयी बनाउने विश्वास पनि उनले व्यक्त गरे।
‘महोत्तरी १ मा मात्रै होइन, जिल्लाका चारवटै क्षेत्रमा पाँच दलीय गठबन्धनका सबै उम्मेदवारलाई विजयी बनाउने गरी दलहरू बीच समन्वय र समझदारी बनेको छ। त्यसअनुसार हामी काम गरिरहेका छौँ,’ उनले भने।
माओवादी केन्द्रका नेता/कार्यकर्ता मात्रै होइन, विपक्षी दलका नेता/कार्यकर्ता पनि गिरिराजमणिले महोत्तरीमा भौतिक पूर्वाधारको क्षेत्रमा धेरै काम गरेको स्वीकार्छन्।
‘गिरिराजमणि पोखरेलकै कारण मेरो मुसा कुद्ने घरको कोठा अहिले मासिक तीन हजार भाडामा लाग्ने भएको छ। तर, मेरो पार्टी अफिस र संगठनमा भने उहाँले मुसा कुदाइदिनु भएको छ,’ कांग्रेस निकट मानिने बर्दिबासका माधव पौडेलले केही दिन अघि सामाजिक सञ्जालमा लेखेका छन्।
Shares
प्रतिक्रिया