गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत माग्दै सदनलाई दुर्घटना र अस्थिरतातिर जान नदिन आफूलाई मत दिन आग्रह गरेका छन्।
उनले राजनीतिक घटनाक्रम परिवर्तन भएसँगै संघीयता मजबुत बनाउने, राजनीतिक स्थिरता हुन्छ भन्ने सन्देश दिन र जनताले दिएको मतादेश पाँच वर्षका लागि हो भन्ने प्रमाणित गर्न आफूलाई विश्वासको मत दिन अनुरोध गरे।
उनले जनादेशविरुद्ध वीचमा फेरि जनताबीच नयाँ जनादेशका लागि जानु उपयुक्त नहुने भएकाले पनि यो सरकारलाई मत दिनुपर्ने जिकिर गरेका छन्।
उनले सरकारले हतारमा ल्याएको आर्थिक वर्ष २०७८/०८९ को नीति तथा कार्यक्रम जनमुखी भएको दावी पनि गरेका छन्।
यो पनिः स्थायित्वका लागि मलाई विश्वासको मत दिनुहोस् : मुख्यमन्त्री नेपाली पोखरेल
‘यो सरकारले कोभिडविरुद्धको भ्याक्सिन उपलब्ध गराउने कार्यक्रम र कोरोना महामारी नियन्त्रण नीति तथा कार्यक्रमलाई बजेटमा पहिलो प्राथमिकता दिएको छ,’ उनले भने, ‘हाम्रा महिलाहरुले स्तन र पाठेघरको क्यान्सरको समस्या भोग्नुपरेको छ। सरकारले यो क्यान्सरको शल्यक्रिया गर्ने क्रममा लाग्ने खर्च व्यहोर्ने निर्णय गरेको छ।’
त्यसलगत्तै बोल्दै एमालेका मुख्य सचेतक मायानाथ अधिकारीले यसअघिको सरकार स्थिरताको लागि आएको र त्यही स्थिरता तोडेर बनेको गठबन्धन नै अलोकतान्त्रिक भएको बताए।
मन्त्री दीपक मनाङेले दिएका अभिव्यक्तिहरुप्रति आपत्ति जनाउँदै उनले मुख्यमन्त्रीले ती अभिव्यक्तिबारे जवाफ दिन माग गरे।
उनले प्रदेश गौरवका र क्रमागत आयोजना पूरा हुने हो कि नहुने भन्नेमा आशंका उब्जिएको बताए।
अधिकारीले बजेट नै विज्ञप्तिजस्तो आएको भन्दै त्यो अपुरो र अधुरो रहेको दाबी गरे।
नेपाली कांग्रेसका सांसद विष्णुप्रसाद लामिछानेले सरकार जसको भएपनि सहकार्यका साथ अगाडि बढ्न विपक्षीहरुसँग आग्रह गरे।
माओवादी केन्द्रका संसदीय दलका उपनेता रामजी बरालले विशेष परिस्थितिमा गठन भएको जिकिर गर्दै सरकारले ल्याएको नीति तथा कार्यक्रमको बचाउ गरे।
प्रतिक्रिया