राष्ट्रिय सभा सदस्यका लागि यही जेठ ६ गते हुने उपचुनावमा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले गृहमन्त्री रामबहादुर थापालाई पूर्ण सहयोग गर्ने वचन दिएको दाबी थापाको सचिवालयले गरेको छ।
राष्ट्रिय सभा सदस्यका लागि बागमती प्रदेशअन्तर्गत हुने उपनिर्वाचनमा एमालेबाट उम्मेदवार बनेका गृहमन्त्री थापा आज वरिष्ठ नेता नेपालकै निवास (कोटेश्वर) पुगेर आफूलाई चुनावमा मद्दत गर्न आग्रह गरेका थिए। त्यस क्रममा आफूले सहयोग गर्न नसक्ने जवाफ दिएको भनेर माधव नेपालले बताइरहेका बेला गृहमन्त्री थापाको सचिवालयले भने यसको उल्टो दाबी गरेको हो।
भेटबारे जानकारी दिँदै गृहमन्त्री थापाका प्रेस संयोजक किरण भट्टराईले लेखेका छन्, ‘नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपाल र गृहमन्त्री रामबहादुर थापाुबादलबीच आज नेपाल निवास कोटेश्वरमा भेटवार्ता भएको छ। भेटवार्ता पार्टीको आन्तरिक विषय र यही जेठ ६ गते हुनगइरहेको राष्ट्रिय सभाको उपनिर्वाचनको विषयमा केन्द्रित रहेको थियो। भेटमा नेता नेपालले राष्ट्रिय सभाको निर्वाचनमा उम्मेदवार रहनुभएका गृहमन्त्री बादललाई आफ्नो पूर्ण सहयोग रहने बताउनुभएको गृहमन्त्री बादलले जानकारी दिनुभयो। भेट सकारात्मक रहेको उहाँको भनाइ छ।’
आफ्नो पार्टी त्यागेर एमालेमा प्रवेश गरेका गृहमन्त्री थापालाई नेकपा माओवादी केन्द्रले दल त्यागको कारबाही गरेका कारण उनको राष्ट्रिय सभा सदस्य पद गुमेको हो। रिक्त त्यही पद पूर्तिका लागि यही जेठ ६ गते उपनिर्वाचन हुँदैछ।
त्यसको उम्मेदवारी दर्ताका बेला प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच तीव्र विवाद रहेकाले दुई पक्षले अलग–अलग उम्मेदवार खडा गरेका हुन्। प्रधानमन्त्री ओलीले एमालेबाट थापालाई उम्मेदवार बनाए भने नेपाल पक्षले नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टीको विपक्षी गठबन्धनसँग मिलेर डा. खिमलाल देवकोटालाई उम्मेदवार बनाएको हो।
तर यहीबीच ओली–नेपालबीच पार्टी एकता गर्ने सहमति भएपछि राष्ट्रिय सभा सदस्यको उपचुनाव पनि प्रभावित भएको हो।
Shares
प्रतिक्रिया