नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओली पक्षका नेता शंकर पोखरेलले मतभेद र अन्तरसंघर्ष अस्थायी कुरा भएकाले एकदिन यसको अन्त्य हुने आशा व्यक्त गरेका छन्।
एमालेभित्र वरिष्ठ नेता माधवकुमार नेपाल र अध्यक्ष ओली पक्षबीच लगभग पार्टी नै फुट्नेगरी विवाद उत्कर्षमा पुगेका बेला लुम्बिनी प्रदेशका मुख्यमन्त्रीसमेत रहेका नेता पोखरेलले एकदिन यसको समाधान हुने भन्दै धैर्य गर्न आह्वान गरेका हुन्।
अध्यक्ष ओलीले माधव नेपाल र भीम रावलपछि सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई ६ महिनाका लागि भन्दै पार्टीको साधारण सदस्यताबाट समेत निलम्बन गरेको अवस्थामा पोखरेलको सुझावयुक्त अभिव्यक्ति आएको हो।
‘मतभेद र अन्तरसंघर्ष अस्थायी कुरा हो, निश्चित समयमा अन्त्य हुन्छ,’ नेता पोखरेलले बिहीबार राति सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘एकता र अनुशासन उद्देश्य प्राप्तिको अनिवार्य सर्त हो। धैर्य बनौं।’
प्रतिक्रिया