राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बालुवाटार पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छन्।
सत्ता गठबन्धनले उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउने तयारी गरेका बेला रास्वपा सभापति लामिछाने प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेका हुन्।
प्रधानमन्त्री निकट स्रोतका अनुसार, मंगलबार साँझ रवि प्रधानमन्त्री निवास पुगेका हुन्। केहीबेर प्रधानमन्त्री ओलीसँग एक्लै बसेका उनले उपसभामुखको विषयमा सरकारको आधिकारिक धारणा माग गरेका हुन्।
ओलीसँग रविको भेटबारे जानकार उक्त स्रोतका अनुसार, भेटमा रविले बिहानैदेखिका घटनाक्रमको बारेमा जिज्ञासा राखेका थिए।
दिनभर पोखरामा बिताएका सभापति लामिछाने काठमाडौँ उत्रनासाथ सुरुमै ओली भेट्न बालुवाटार पुगेको ती सांसदले बताए।
आजैमात्र लामिछानेविरुद्ध पोखरामा कालो झण्डासहित सहकारीपीडितले प्रदर्शन गरेका थिए।
उनले प्रदर्शनकारीलाई अरूले उकासेका भरमा विरोध नगर्न आग्रह गरेका थिए।
छानबिनका क्रममा रहेको सहकारी प्रकरणमा रविमाथि कारबाही हुनुपर्ने भन्दै पोखरामा प्रदर्शनकारीहरूले कालो झण्डा देखाएका थिए।
यता संसद्मा भने दिनभर सत्तारुढ दलका सांसहरूले उपसभामुखको राजीनामा माग गरे। प्रतिपक्षी दल रास्वपासहित माओवादी केन्द्रले उपसभामुखको बचाउ गरेका छन्।
Shares
प्रतिक्रिया