ad ad

राजनीति


कामु प्रधानसेनापति विरुद्धको रिट सर्वोच्चमा अस्वीकार, इजलासबाट दरपीठ सदर

कामु प्रधानसेनापति विरुद्धको रिट सर्वोच्चमा अस्वीकार, इजलासबाट दरपीठ सदर

नेपालखबर
साउन १८, २०८१ शुक्रबार १६:४०, काठमाडौँ

कामु प्रधानसेनापति नियुक्त भइसकेका बलाधिकृत रथी अशोकराज सिग्देलविरुद्धको रिट दर्ता गर्न सर्वोच्चले अस्वीकार गरेको छ। यसअघि साउन १३ गते सर्वोच्च अदालतका रजिष्ट्रार भद्रकाली पोखरेलले रिट दरपीठ गरिदिएका थिए।

वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपाने र सिन्धुलीका युवराज सफल भन्ने युवराज पौडेलले सिग्देलको जन्म मितिमा कैफियत रहेको दाबी गर्दैै रिट लिएर पुगेका थिए। सर्वोच्च प्रशासनबाट दर्ता गर्न अस्वीकार गरेपछि त्यसविरुद्ध उनीहरुले इजलासमा निवेदन दिएका थिए।

उक्त निवेदनपछि न्यायाधीश शारङ्गा सुवेदीको एकल इजलासले बिहीबार दरपीठको निर्णय नै सदर गरिदिएको हो।

सर्वोच्च प्रशासनले दरपीठको निर्णयमा भनेको छ, ‘निवेदनमा उठाइएजस्तै सरकारी दस्ताबेजमा जन्म मिति कानुनविपरित फेरवदल भई कुनै कानुनी व्यवस्थाको  उल्लंघन भएमा साधिकार निकायमा कानुन बमोजिम कानुनले प्रदान गरेको उपचार खोज्न जान सकिने नै हुँदा प्रस्तुत रिट निवेदन यस अदालतको असाधारण अधिकार क्षेत्र अन्तर्गत दर्ता गर्न मिलेन।’

इजलासको लिखित आदेश भने आइसकेको छैन।

यससँगै भावि प्रधानसेनापति सिग्देलको जन्म मितिमा उठेको बिबाद टुंगिएको छ। यसअघि नेपाली सेनाले पनि उनको शैक्षिक प्रमाण पत्र र नागरिकतामा देखिएको फरक फरक जन्म मिति सैनिक ऐन विपरित नरहेको प्रश्ट्याएको थियो।

दुई नागरिकता फरक फरकमा जारी भएको दाबी गरिए पनि सेनाले सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट माग गर्दा बाहिर आएको हल्ला जस्तो नभेटिएको पनि दाबी गरेको छ।

सर्वोच्च अदालतले पनि रिटलाई अगाडी बढाउन अस्वीकार गरेसँगै केही दिनमै नेपाली सेनाको कमाण्ड बुझ्न लागेका सिग्देललाई राहत मिलेको छ। हालका प्रधानसेनापति प्रभुराम शर्माको तीन वर्षे कार्यकाल आगामी भदौ २४ गते पूरा हुँदैछ। तर उनी एक महिना पहिले नै साउन २५ गतेबाट बिदामा बस्नेछन्।

त्यसअघि साउन २४ गते उनले सिग्देललाई प्रधानसेनापतिको कमाण्ड हस्तान्तरण गर्नेछन्।

सिग्देललाई कामु प्रधानसेनापतिको जिम्मेवारी प्रदान गर्ने निर्णय सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले गरिसकेका छन्।

के हो जन्म मिति विवाद?
बलाधिकृत रथी सिग्देलले जिल्ला प्रशासन कार्यालय रूपन्देहीबाट पहिलो पटक २०४० साल साउन २९ गते नागरिकता लिएका थिए। उक्त नागरिकतामा जन्म मिति उल्लेख छैन। उमेर १७ वर्ष खुलाइएको छ।

नागरिकता लिएको ठिक एक महिनापछि एसएलसीको प्रमाण पत्र लिएको देखिएको छ। २०४० भदौ २९ गतेको मितिमा जारी भएको प्रमाण पत्रमा २०२३ साल माघ १९ गते जन्म मिति उल्लेख छ।

साउनमा नागरिकता जारी हुँदै १७ वर्ष उमेर उल्लेख गरे पनि शैक्षिक प्रमाण पत्रमा भने माघमा मात्रै १७ वर्ष पूरा भएको पुष्टि हुन्छ। तर सैनिक सेवा नियमावली २०६९ मा नागरिकता र शैक्षिक प्रमाण पत्रमा एक वर्षभन्दा कम उमेर फरक परेमा जुनमा पूरा मिति उल्लेख छ, सोहीले मान्यता पाउने उल्लेख छ।

नियमावलीको दफा ७७ मा अवकाश सम्बन्धी व्यवस्था छ। सोही दफाको ९५० मा भनिएको छ, ‘कुनै प्रमाण पत्रमा वर्ष मात्र उल्लेख भएको र अर्को प्रमाण पत्रमा पूरा जन्म मिति खुलेको रहेछ र त्यस्तो प्रमाण पत्रमा उल्लेखित जन्ममितिहरूको बीचमा एक वर्षसम्मको अन्तर देखिएमा पूरा खुलेको जन्ममितिलाई आधार मान्नु पर्नेछ।’

सिग्देलको नागरिकता जारी गरेको मिति र शैक्षिक प्रमाण पत्रमा उल्लेख जन्ममितिबीच ६ महिनाको फरक देखिएको छ।

तर सिग्देलले २०५८ साल जेठ ८ मा जाजरकोटबाट नागरिकताको प्रतिलिपि लिएका थिए। उक्त प्रतिलिपिमा उनको नागरिकता जारी मिति २०४० साउन २९ उल्लेख छ। यसअघि विभिन्न निकायमा परेको उजुरीमा भने उनको रूपन्देहीबाट जारी भएको नागरिकता २०४० असोज ९ गते जारी भएको दाबी गरिएको थियो।

उक्त कुरा झुट रहेको दाबी गर्दै सैनिक मुख्यालयले सिग्देलले भर्ना हुँदा पेश गरेका कागजातमा कुनै समस्या नदेखिएको बताएसँगै उनको जन्म मिति विवाद टुंगिएको हो। ३८ वर्षदेखि नेपाली सेनामा कार्यरत सिग्देलले अब तीन वर्ष नेपाली सेनाको नेतृत्व गर्नेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .