सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता गठबन्धनलाई कमजोर बनाउने कदम चालेको भन्दै नेकपा (एकीकृत समाजवादी) पार्टीप्रति आपत्ति जनाएका छन्।
अध्यक्ष ओलीले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री बनाउने बेलामा कांग्रेस निकट भएमात्रै नागरिक उन्मुक्ति पार्टीलाई मुख्यमन्त्रीमा सहयोग गर्न सकिने भनि माधवकुमार नेपाल नेतृत्वको नेकपा एसले चालेको कदम अराजनीतिक प्रवृत्तिको भएको भन्दै आक्रोश व्यक्त गरेका हुन्।
सोमवार पार्टी संसदीय दलको बैठकमा बोल्दै उनले कांग्रेस नजिक भएर सत्ता समिकरणलाई कमजोर बनाउने र यसलाई असफल बनाउन नेकपा एसले अराजनीतिक निर्णय लिएको आरोप समेत लगाए।
उनले सुदूरपश्चिम प्रदेशमा कांग्रेस केन्द्रित समीकरणबाट नागरिक उन्मुक्ति पार्टीलाई समर्थन गर्ने नेकपा एसको दक्षिणपन्थी अवसरवादी चरित्र धेरै नांगो ढंगबाट प्रकट भएको जिकिर पनि गरे।
‘एकीकृत समाजवादी के नामको पार्टी, त्यसले त्यस प्रकारको अराजनीतिक निर्णय लियो’ उनले भने, ‘आन्तरिक रुपमा त्यसका बोली, व्यवहार, बार्गेनिङ सबै त्यस्तै खालको थिए। तर हिजो बाहिर नै प्रकट भयो। यस समीकरणबाट नागरिक उन्मुक्ति पार्टीलाई समर्थन नगर्ने। कांग्रेस केन्द्रित समीकरणबाट नागरिक उन्मुक्तिलाई समर्थन गर्ने। एस पार्टीको दक्षिणपन्थी अवसरवादी चरित्र धेरै नांगो ढंगले प्रकट भयो।’
कांग्रेस लगायतका विपक्षहरुको आशा पलाउने तथा जनतामा आशंका, अन्योल र निराशा केही मात्रामा भएपनि पैदा हुनेगरी नेकपा एसले सो निर्णय लिएको ओलीको भनाई थियो।
उनले कम्युनिष्ट साईनबोर्ड राख्ने, नेकपा राख्ने अगाडि र काम अरुको हितमा गर्ने र समाजवादको पक्षधरहरुलाई कमजोर पार्ने खालको भुमिका नेकपा एसको देखिएपनि आफ्नो पार्टी समाजवाद प्राप्त गर्ने लक्ष्यका साथ मिसन २०८४ लाई सफल पार्न लागि रहने बताए।
अध्यक्ष ओलीले नेकपा एमालेको ध्यान आगामी निर्वाचनमा बलियो राजनीतिक शक्तिको रुपमा स्थापित हुने रहेकाले त्यसलाई सफल बनाउन लागिपर्ने बताए।
Shares
प्रतिक्रिया