ad ad

राजनीति


उम्मेदवारी घोषणा गर्दै मिलनले भने : धेरैपटक दलले जिते, यसपटक स्वतन्त्रको पालो

उम्मेदवारी घोषणा गर्दै मिलनले भने : धेरैपटक दलले जिते, यसपटक स्वतन्त्रको पालो

तस्बिर : नेपालखबर


नेपालखबर
चैत ४, २०८० आइतबार १९:४४, काठमाडौँ

आगामी वैशाख १५ मा हुन लागेको उपनिर्वाचनमा इलाम क्षेत्र नम्बर २ बाट मिलन लिम्बूले उम्मेदवारी घोषणा गरेका छन्।

आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै लिम्बुले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका हुन्।

इलामा २ का लागि उपनिर्वाचनका लागि उम्मेदवारी घोषणा गर्ने उनी पहिलो उम्मेदवार हुन्।

नेकपा माओवादी केन्द्रनिकट रहेका उनले इलाम २ मा उपनिर्वाचन लड्का लागि उक्त पार्टी छाडेका थिए।

आदिवासी जनजाति पत्रकार संघका महासचिवसमेत रहेका उनी एमाले र कांग्रेससहितका उम्मेदवारलाई राम्रै चुनौती दिन सक्ने अनुमान गरिएको छ।

उनले उम्मेदवारी घोषणाका क्रममा नेता चुन्ने सार्वभौम जनताभन्दा जनताले छानेका नेता शक्तिशाली भएको दाबी गरे।

उनीहरू त्यससँगै शक्तिशाली मात्रै होइन, स्वेच्छाचारी र बेइमान पनि भएको उनको जिकिर छ।

‘विधि र प्रक्रियामाथि नेताको स्वार्थ हाबी भयो। तपाईं हाम्रो मतलाई नेताहरुले आफू र आफ्ना भाइ भतिजाहरूको उन्नतिका लागि दुरुपयोग गरे। तपाईं हाम्रो मतलाई उनीहरूले सत्ताको भागबन्डामा खर्चे’, मिलनले भनेका छन्। 

उनले सर्वसाधारण जनता जीवन धान्न कठिन संघर्ष गरिरहँदा नेताहरू अनेक काण्डमा मुछिएको बताएका छन्। 

‘हामी जीवन धान्न कठिन संघर्ष गरिरहँदा नेताहरू नक्कली भुटानी शरणार्थी र सुन काण्ड जस्ता अपराधमा व्यस्त भए। दल र नेता यति नाङ्गिए कि त्यसको कुनै सीमै रहेन। र, उनीहरू सुध्रिने पनि छैनन्’, उनले भनेका छन्।

उनले संविधान र संघीयता लागू भए पनि अझै केही राजनीतिक कार्यभार बाँकी रहेका बताएका छन्।

'स्थानीय सरकारलाई अधिकार सम्पन्न बनाउनु छ। प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख बनाउने गरी शासकीय प्रणालीमा परिवर्तन गर्नु छ', उनले भनेका छन्, 'सबै अस्तित्वहरूको सम्मान गर्दै पहिचानको आधारमा प्रदेशको पुनः नामकरण गर्नु छ। यी राजनीतिक कार्यभार पूरा गर्नका लागि तपाईं–हामी एकताबद्ध हुनै पर्छ।'

मिलनको अपील

आदरणीय इलामेली नागरिक
संविधान निर्माणसँगै राजनीतिक संघर्षको एक चरण पूरा भयो। त्यसपछि जनतालाई शिरमा राखेर विकास र समृद्धिको चरणमा जानुपर्ने थियो। तर, त्यसो भएन।

नेता चुन्ने सार्वभौम जनताभन्दा जनताले छानेका नेता शक्तिशाली भए। शक्तिशाली मात्रै होइन, स्वेच्छाचारी र बेइमान पनि। विधि र प्रक्रियामाथि नेताको स्वार्थ हाबी भयो। तपाईं हाम्रो मतलाई नेताहरुले आफू र आफ्ना भाइ भतिजाहरूको उन्नतिका लागि दुरुपयोग गरे। तपाईं हाम्रो मतलाई उनीहरूले सत्ताको भागबन्डामा खर्चे।

हामी जीवन धान्न कठिन संघर्ष गरिरहँदा नेताहरू नक्कली भुटानी शरणार्थी र सुन काण्ड जस्ता अपराधमा व्यस्त भए। दल र नेता यति नाङ्गिए कि त्यसको कुनै सीमै रहेन। र, उनीहरू सुध्रने पनि छैनन्।

यतिका वर्षसम्म तपाईं हामीले विश्वास गरेका दल र तीनका नेताहरूको गैरजिम्मेवारीपनले हाम्रो अवस्था फेरिएन। नेताहरू रातारात धनी हुँदै जाने, हामी भने दिनानुदिन गरिब बन्दै जाने अवस्था बन्यो।

आज पनि हामी साँझ-बिहान हातमुख जोड्नकै लागि मरिमेटिरहेका छौँ। सामान्य जीवन बाच्नका लागि पनि स्वदेशमा सम्भव नभएर विदेशी भूमिमा श्रम, पसिना र रगत बगाउनु हाम्रो नियति बनेको छ। यस्तो अवस्था बेइमान राजनीतिक नेतृत्वले बनाएका हुन्। तर, अब यसरी चल्दैन।

हाम्रो जीवनमा परिवर्तन ल्याउन हामी नै जुट्नुपर्छ। हामी जुटेपछि मात्र हाम्रो जीवनमा परिवर्तन आउँछ। यतिका वर्षसम्म अधुरा रहेका हाम्रा विकास र समृद्धिका चाहाना पूरा गर्ने गरी मैले इलाम–२ मा २०८१ वैशाख १५ गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा उम्मेदवारी दिने निर्णय गरेको छु। यो उम्मेदवारी मेरो मात्र होइन, तपाईं–हाम्रो उम्मेदवारी हो। हामी आम नागरिकको साझा उम्मेदवारी हो।

इलामबारे हाम्रो दिमागमा जस्तो चित्र बनेको छ, वास्तविकता त्यो भन्दा फरक छ। विकासको दृष्टिले इलाम–२ निकै पछाडि परेको छ। खानेपानी, सडक, बिजुली, शिक्षा, स्वास्थ्य र रोजगारी जस्ता आधारभूत सेवा सुविधा हाम्रा लागि आकाशको फल जस्तै बनेका छन्।

दुःखजिलो गरेर हामीले गरेका उत्पादनले सहज बजार पाउँदैन। उचित मूल्य पाउँदैन।अब हामीले यो नियतिको अन्त्य गर्नुपर्छ। आउनुहोस्, तपाईं हामी मिलेर विकासका यी आधारभूत आवश्यकता पूरा गर्न हातेमालो गरौँ। श्रमले इलामेली माटोलाई समृद्ध बनाऔँ। कमिसनमा रमाएको हाम्रो कथित विकासको भाष्य परिवर्तन गरौँ। श्रम गर्ने र उत्पादन गर्ने तप्का मात्रै असली विकासका पहरेदार हुन् भन्ने नयाँ भाष्य निर्माण गरौँ।

हाम्रो क्षेत्रको विकासको चाहना पूरा गर्नका लागि मलाई इलाम–२ का जनताले यो माटोको उम्मेदवारका रूपमा उभ्याएका छन्। म इलामको माटोको कसम खाएर भन्छु, अन्तिम सास रहेसम्म इलामेली जनताको पक्षमा काम गर्नेछु। राजनीतिक दलहरूले गरिरहेको संस्थागत भ्रष्टाचार र अभिमतको दुरुपयोग रोक्दै सुशासनको पक्षमा र भ्रष्टाचारविरुद्ध लडिरहनेछु। यो उपनिर्वाचनमा मात्रै नभएर म इलामका नागरिकको सेवक बनेर जीवनभर सुख–दुःखमा सँगै उभिने वाचा गर्दछु।

विकास र समृद्धिको आशामा तपाईं–हामीले राजनीतिक दलका उम्मेदवारलाई बारम्बार जिताएर पठायौँ। तर, उनीहरूले सधैँ हाम्रो मतको दुरुपयोग मात्रै होइन, हाम्रा मूल्य–मान्यताहरूलाई समेत कुल्चिए। इलामेली नागरिकलाई जल, जंगल र जमिनको मालिक बनाउने यो अभियानमा म तपाईंहरुको साथ र सहयोगका लागि अपिल गर्दछु।

संविधान र संघीयता लागू भए पनि अझै केही राजनीतिक कार्यभार बाँकी छन्। स्थानीय सरकारलाई अधिकार सम्पन्न बनाउनु छ। प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख बनाउने गरी शासकीय प्रणालीमा परिवर्तन गर्नु छ। सबै अस्तित्वहरूको सम्मान गर्दै पहिचानको आधारमा प्रदेशको पुनः नामकरण गर्नु छ। यी राजनीतिक कार्यभार पूरा गर्नका लागि तपाईं–हामी एकताबद्ध हुनै पर्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .