ad ad

राजनीति


शेखरले भने : यस पटक चाहेर पनि सबै साथीहरूलाई न्याय गर्न सकेनौँ

शेखरले भने : यस पटक चाहेर पनि सबै साथीहरूलाई न्याय गर्न सकेनौँ

फाइल तस्बिर


नेपालखबर
पुस २३, २०८० सोमबार १९:३४, काठमाडौँ

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले राष्ट्रिय सभा निर्वाचनका लागि सीमित सिटका कारण सबै नेताहरूलाई न्याय गर्न नसकिएको बताएका छन्।

माघ ११ मा हुने राष्ट्रिय सभा निर्वाचनका लागि संस्थापन पक्षले ३ सिट मात्रै दिएको सन्दर्भमा उनले यस्तो बताएका हुन्। कांग्रेसले लिएका १० सिटमध्ये ६ वटा सभापति शेरबहादुर देउवा पक्ष, ३ वटा शेखर पक्ष र १ सिट प्रकाशमान सिंह पक्षलाई भाग परेको छ। 

यस सन्दर्भमा उनले असन्तुष्टि बोकेर पनि अब पार्टीका सबै उम्मेदवारहरूलाई जिताउने जिम्मा भएको बताएका छन्।

'राष्ट्रिय सभा सदस्यको उम्मेदवार चयन प्रक्रिया सहज थिएन । कांग्रेस जस्तो लामो ईतिहास भएको संघर्षशील पार्टीमा धेरै निष्ठावान, निःस्वार्थ, योग्य र सक्षम आकांक्षी साथीहरूको सूची लामो थियो। यसर्थ सिमित सिटका कारण पार्टीका साथीहरुलाई न्याय गर्न चाहेर पनि सम्भव भएन', उनले भनेका छन्, 'तर पनि पार्टीमा अवसरको समान वितरण र सबै पक्षको हित स्थापित होस् भन्नेमा हामी निकै चनाखो थियौँ। यति हुँदा हुँदै हामी कति सफल या असफल भयौँ, पार्टीको वर्तमान ढाँचा, सोच र निणर्य प्रकियालाई प्रभावति गर्ने शक्ति के कस्ता छन् भनेर साथीहरूले मनन गर्नुभएको र गर्नुहुनेछ भन्ने विश्वास लिएको छु।

उनले अब पार्टीका सबै उम्मेदवार जिताउने दायित्व आएको पनि बताएका छन्। 'पार्टी निणर्यबाट छानिएका सबै उम्मेदवार साथीहरूलाई भारी मतले जिताउने जिम्मेवारी हामी सबैको काँधमा आएको छ। सत्ता गठबन्धनमा आवद्ध दलहरुबाट राष्ट्रिय सभामा उम्मेदवारी दर्ता गराउनु भएका सबैलाई जिताउनु पर्ने अभिभारा पनि हामीसँग छ', उनले भनेका छन्। 

उनले न्यायोचित टिकट वितरणमा पार्टी असफल भएको पनि बताएका छन्। 'न्यायोचित टिकट वितरण गर्न असमर्थ पार्टी निणर्यमा मैले गल्ती-कमजोरी गरेको रहेछु भने म त्यसलाई स्वीकार्दै साथीहरूको सल्लाह र सुझावबाट भबिष्यमा अगाडी बढ्ने प्रण गर्दछु', कोइरालाले भनेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .