जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सीके) राउतले शीर्ष तीन नेताहरूले मात्रै देश चलाउने कुरा तोड्नका लागि जनमत पार्टीको स्थापना भएको बताएका छन्।
शुक्रबार काठमाडौंमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिले नाम मात्रैको लोकतन्त्र रहेको बताए। उनले संसदीय व्यवस्था भनेपनि सांसदहरुले भनेका कुरा लागू नहुने गरेको बताए। उनले देश ३५ वर्ष यता तीन जना नेताहरुमै घुमिरहेकाले त्यसलाई चिर्न आफूहरू आएको बताए।
उनले जनताका गास, बास र कपास,शिक्षा, स्वास्थ्य, रोजगारी, सामाजिक सुरक्षाका अपेक्षालाई पूरा गर्नुपर्ने जिम्मेवारी आफूहरुमा रहेको बताए।
‘अहिले हाम्रोमा कस्तो देखियो भने, भन्नलाई लोकतन्त्र भन्छौँ। हिजो पनि संसदमा सुन्नुभएको होला। भन्नलाई संसदीय व्यवस्था भन्छौँ तर त्यहाँ सांसदले भनेको कुरा खासमा लागू हुँदैन। दुई तीन जना नेताले जे भन्नुहुन्छ त्यही हुन्छ। त्यो व्यवस्थालाई चिर्ने। दुई चार जना नेताले मात्रै ३०–३५ वर्ष देश चलाइरहेको छ। तिनीहरूको सेरोफेरोमा देश घुम्दै आएको छ। जनताले के चाहेको हो?,’ उनले भने, ‘गास, बास र कपास। शिक्षा, स्वास्थ्य, रोजगारी, सामाजिक सुरक्षा। जनताले चाहेको कुरालाई नै सम्बोधन गर्न जनताकै मत अनुरुप चल्ने पार्टी जनमत पार्टी हो। त्यसैले जनमत पार्टी नाम राखेका हौँ। जनमत पार्टी पहिलो प्रयासमै निर्वाचनमा भाग लिएपछि पहिलो पार्टी बन्न सफल भयो। आगामी दिनमा जनमत पार्टी यो देशकै भविष्य हो। वैकल्पिक धारको रुपमा स्थापित छ।’
अध्यक्ष राउतले जनताको भरोसालाई इमान्दारितकासाथ पूरा गर्ने जिम्मेवारी आफ्नो पार्टीलाई आएको बताए। उनले पार्टीलाई राष्ट्रव्यापी रुपमा विस्तार गर्ने बताए। उनले आफू मन्त्री बन्नकै लागि पार्टी खोलेर राजनीतिमा नआएको पनि बताए।
Shares
प्रतिक्रिया