ad ad

राजनीति


माओवादी केन्द्रको शोक वक्तव्य- उहाँ भावी पुस्ताका लागि प्रेरणाको स्रोत रहनुहुनेछ

माओवादी केन्द्रको शोक वक्तव्य- उहाँ भावी पुस्ताका लागि प्रेरणाको स्रोत रहनुहुनेछ

नेपालखबर
असार २७, २०८० बुधबार १०:३३, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधनले नेकपा माओवादी केन्द्र स्तब्ध भएको छ। 

आफ्ना अध्यक्ष प्रचण्डकी जीवनसंगिनी सीताको निधनबाट पार्टीलाई अपूरणीय क्षति पुगेको माओवादी केन्द्रले उल्लेख गरेको छ। सीता माओवादी केन्द्रकी केन्द्रीय सल्लाहकार थिइन्। उनको उपचारका क्रममा आज बिहान साढे ८ बजे थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो। 

‘सम्माननीय प्रधानमन्त्री तथा हाम्रो गौरवशाली पार्टी नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष कमरेड पुष्पकमल दाहाल ‘प्रचण्ड’की जीवनसंगिनी तथा पार्टी केन्द्रीय सल्लाहकार कमरेड सीता दाहालको आज बिहान ८ः३३ बजे नर्भिक अस्पताल, काठमाडौँमा दुखःद निधन भएकोमा हाम्रो सिंगो पार्टी स्तब्ध भएको छ’, शोक वक्तव्य जारी गर्दै माओवादी केन्द्रले भनेको छ, ‘कमरेड सीता दाहालको निधनबाट पार्टी, जनता र राष्ट्रका लागि अपुरणीय क्षति भएको छ।’

२०११ असार २१ गते कास्की को हेम्जामा जन्मिएकी सीता र माओवादी अध्यक्ष प्रचण्डबीच २०२६ सालमा विवाह भएको थियो। २०२८ सालदेखि नै कम्युनिस्ट आन्दोलनमा आबद्ध उनी जिल्ला, क्षेत्र र केन्द्रका विभिन्न जिम्मेवारीमा रहँदै पछिल्लो समय नेकपा माओवादी केन्द्रकी केन्द्रीय सल्लाहकार थिइन्।

सीता दाहाल जनयुद्ध सुरु भएपछि २०५२ सालदेखि भूमिगत राजनीतिमा सक्रिय थिइन्। उनले जनयुद्धका आँधीमय वर्षहरूमा सिंगो पार्टीको अभिभावकका रूपमा पार्टीभित्रका चुनौती, संकट, विवाद समाधानका निम्ति समन्वयकारी भूमिका निर्वाह गरेको माओवादी केन्द्रले उल्लेख गरेको छ।  

‘उहाँले नेपालको कम्युनिस्ट आन्दोलनमा अत्यन्त महत्त्वपूर्ण र अविस्मरणीय योगदान पुर्‍याउनुभएको छ। सिद्धान्तप्रतिको निष्ठा, उन्नत राजनीतिक चेतना, पार्टी, जनता र राष्ट्रप्रतिको निःस्वार्थ एवम् असिमित समपर्ण उहाँका विशेषता हुन्’, माओवादी केन्द्रले भनेको छ, ‘उहाँ आफ्ना योगदानमार्फत चीरकालसम्म स्मरणीय र भावी पुस्ताका लागि प्रेरणाको स्रोत रहनुहुनेछ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .