कोशी प्रदेशमा नयाँ सरकार निर्माणका लागि आह्वान गरिएको छ।
प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार गठनका लागि चार दिन अर्थात् आगामी असार २१ गते अपरान्ह ५ बजेसम्मको समय दिएर दलहरुलाई आह्वान गरेका हुन्।
खापुङले नेपालको संविधानको धारा १६८ को उपधारा (२) अन्तर्गत दुई वा दुईभन्दा बढी दलको नेतृत्वमा सरकार गठनको आह्वान गरेका हुन्।
कोशीमा एमाले नेता हिक्मतकुमार कार्की नेतृत्वको सरकार यही शुक्रबार विश्वासको मत नपाउँदै ढलेको थियो।
प्रदेश प्रमुखबाट सरकार गठनका लागि बोलाएसँगै कोशीमा ठूलो दल नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र लगायातबीच घम्साघम्सी सुरु भएको छ।
एमालेको सरकार ढलेपछि अहिले कांग्रेस र माओवादी राष्ट्रिय प्रजातन्त्र पार्टीलाई साथमा लिएर सरकार बनाउने योजनामा छन्।
९३ सदस्यीय कोशी प्रदेशसभामा बहुमतका लागि ४७ प्रदेशसभा सदस्यको खाँचो छ। कार्की नेतृत्वको सरकार ४६ सांसदको मात्रै समर्थन जुट्दा ढलेको थियो।
प्रदेशसभाको सबैभन्दा ठूलो दल एमालेसँग ४० सांसद छन्। यसअघि ऊसँग सरकारमा गएको राप्रपासँग ६ जना सांसद छन्। एमाले र राप्रपा मिल्दा ४६ नै हुन्छ।
यहाँ कांग्रेसका २९, माओवादी केन्द्रका १२ (सभामुखबाहेक), एकीकृत समाजवादीका चार र जनता समाजवादी पार्टी(जसपा) का १ जना सांसद छन्। जसका कारण प्रदेशसभा विघटनको दिशामा जाने अनुमान छ।
Shares
प्रतिक्रिया