२०७२ भदौ ७ गते कैलालीको टीकापुरमा एकजना नाबालक र सातजना सुरक्षाकर्मीसहित आठजनाको ज्यान गएको हत्याकाण्डका मुख्य दोषी रेशम चौधरीले आममाफी पाएका छन्।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकको सिफारिस अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले जिल्ला, उच्च र सर्वोच्च अदालतबाटसमेत सर्वस्वसहित जन्मकैदको सजाय पाएका रेशमलाई आममाफी दिएका हुन्।
राष्ट्रपति पौडेलले मन्त्रिपरिषद्को जेठ १२ र १४ गतेको बैठकका सिफारिसअनुसार टोपबहादुर बुढासमेत १९ जनालाई विभिन्न अदालतबाट विभिन्न मितिमा भएका फैसलाबमोजिम लागेको कैद सजाय आममाफी दिएका छन्। यिनै १९ जनामध्येमा रेशम चौधरीले पनि आममाफी पाएका हुन्।
पौडेलले संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५९ बमोजिम गणतन्त्र दिवसको उपलक्ष्यमा उनीहरुको सजाय माफी दिएका हुन्।
दफा ३७ मा ५० प्रतिशत कैद भुक्तान गरेका र चालचलनमा सुधार आएका कैदीको सजाय माफी दिन सक्ने व्यवस्था छ ।
संविधानको धारा २७६ र फौजदारी कसुुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐनको दफा ३७ तथा जेष्ठ नागरिक ऐनको दफा १२ बमोजिम उनीहरुको बाँकी कैद सजाय माफी भएको हो। त्यस्तै दफा ३७ मा ५० प्रतिशत कैद कटाएका तथा चालचलनमा सुधार भएका कैदीको सजाय माफी गर्न सक्ने उल्लेख छ।
यसैबीच रेशम चौधरीलाई सरकारले आममाफी दिने खबरसँगै लागेपछि पीडितहरु सर्वोच्च अदालत पुगेका छन्।
सर्वोच्च अदालतलेसमेत जन्म कैदको फैसला गरेका टीकापुर घटनाका दोषी चौधरीलाई आममाफी दिन आइतबारको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेसँगै पीडितहरु अदालतको ढोका ढक्ढक्याउन पुगेका हुन्।
टीकापुर घटनामा मारिएका प्रहरी निरीक्षक केशव बोहराकी श्रीमती शारदा बोहरा कडायतले आइतबार सर्वोच्च अदालतमा रिट निवेदन दिएकी छन्।
उनले दिएको उक्त रिट निवेदन दर्ता भइसकेको छैन। सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले शारदाले दिएको रिट अध्ययनका क्रममा रहेको भन्दै दर्ता भइनसकेको जानकारी दिए।
शारदाले दर्ता गराएको रिट आइतबार दर्ता भइसकेको छैन। यस्तो अवस्थामा सोमबार गणतन्त्र दिवसका अवसरमा देशभर सार्वजनिक बिदा हुनेछ।
आममाफी पाइसकेका रेशम सोमबार नै रिहा हुनेछन्। रेशमको आममाफीविरुद्ध परेको रिट मंगलबार मात्रै दर्ता हुन सक्छ।
सरकारको सिफारिसअनुसार रेशमसहितका ५० प्रतिशत सजाय कटाइसकेका कैदीहरुलाई सोमबार मनाइने गणतन्त्र दिवसका अवसरमा सजाय माफी दिइएको हो।
Shares
प्रतिक्रिया