ad ad

राजनीति


महाधिवेशन नजिकिँदा कांग्रेसनिकट कानुन व्यवसायी संगठन डीएलएमा विवाद

महाधिवेशन नजिकिँदा कांग्रेसनिकट कानुन व्यवसायी संगठन डीएलएमा विवाद

नेपालखबर
जेठ १४, २०८० आइतबार १७:१५, काठमाडौँ

नेपाली कांग्रेसनिकट कानुन व्यवसायीहरुको संगठन डेमोक्रेटिक लयर्स एसोसिएसन (डीएलए)को महाधिवेशन नजिकिँदै गर्दा विवाद देखिएको छ। 

चितवनको टाँडीमा हुने भनिएको महाधिवेशनका लागि तयारी भइरहेका बेला कार्यसमिति र कार्यसमिति बाहिर रहेका कानुन व्यवसायीहरूबीच विवाद देखिएको हो। 

तीन वर्षीय कार्यकाल २०७८ साउनमा समाप्त भएको योगेन्द्रबहादुर अधिकारी नेतृत्वको कार्य समितिले जेठ २६ र २७ मा महाधिवेशनको मिति घोषणा गरेको छ।

तर, अघिल्लो महाधिवेशनमा पराजित अध्यक्षका उम्मेदवार र अध्यक्षका आकांक्षीहरुले हालको नेतृत्वबाट विधानविपरितका गतिविधि भइरहेको आरोप लगाइरहेका छन्। 

अध्यक्ष योगेन्द्रबहादुर अधिकारी र महासचिव लक्ष्मी दाहाल (रावल)ले विधानविपरीत महाधिवेशन प्रतिनिधि थपेर ल्याएको आरोप लगाउँदै असन्तुष्ट खेमाले छानबिनको माग गरिरहेको छ। विधानतः झण्डै १२ सय महाधिवेशन प्रतिनिधि हुनुपर्नेमा १५ सय बढीको सूची तयार गरिएको उनीहरुको दाबी छ। 

महाधिवेशनको मिति आउन १२ दिनमात्र बाँकी नरहँदा पनि मतदाता सूची निर्वाचन समितिलाई नबुझाइएको असन्तुष्ट समूहको भनाइ छ। डीएलएको विधानअनुसार ३५ दिनअघि निर्वाचन समितिलाई मतदाता सूची बुझाउनुपर्ने प्रावधान रहेको छ।

‘अध्यक्ष र महासचिवले संगठन कब्जा गर्ने रणनीतिका साथ महाधिवेशन प्रतिनिधिमा मनोमानी गरेका छन्,’ अध्यक्षका आकांक्षी एक कानुन व्यवसायीले भने, ‘विधि र विधानको पालना गर्ने गराउने संगठनमै यस खालको अराजकताले लज्जित बनाएको छ।’ 

तर, महासचिव दाहालले भने महाधिवेशन प्रतिनिधिमा कुनै मनोमानी नभएको दाबी गरिन्। ‘महाधिवेशन प्रतिनिधिमा कुनै गलत इन्टेन्सन राखिएको छैन। निष्पक्ष रूपमा नामावली टुंगोमा पुर्याइएको छ,’ उनले भनिन्, ‘इकाईहरुले विधानबमोजिम पठाएको नामावली हो।’ 

अध्यक्षका आकांक्षी मध्येका अर्का कानुन व्यवसायी तेजबहादुर रावलले पनि कानुन र विधि–विधानको पालना गर्ने संस्था भए पनि डीएलएको नेतृत्वले विधानसम्मत प्रतिनिधि चयन नगरेको दाबी गरे।    

‘डीएलए नेपालको ऐतिहासिक र लोकतान्त्रिक पार्टी नेपाली कांग्रेसको शुभेच्छुक संस्था हो। यो अन्य भातृ संघसंस्थाभन्दा कानुन, विधि–विधानको पालना गर्ने संस्था पनि हो,’ उनले भने, ‘यही संस्थाले विधानसम्मत प्रतिनिधि चयन गरेको छैन। कार्यकाल अवधि समाप्त भएर पनि पटकपटक म्याद थप गर्दै आएको छ।’

यद्यपि, डीएलए महासचिव दाहाल विधानसम्मत महाधिवेशन नहुनुमा मातृ पार्टीको कोरोना महामारी र १४ औँ महाधिवेशन कारण भएको बताउँछिन्। 

छहामीले समयमै महाधिवेशन गर्न खोजेका हौँ। सुरुमा कोरोना महामारीका कारण सम्भव भएन,’ उनले भनिन्, ‘अर्को पटक पार्टीको महाधिवेशनमा डीएलएकै साथीहरू खटिनु पर्ने भएकाले गर्न नसकिएको हो।’ 

यसअघि २०७५ साउन १३ गते डीएलएको महाधिवेशन भएको थियो। उक्त महाधिवेशनमा योगेन्द्रबहादुर अधिकारी अध्यक्षमा विजयी भएका थिए। 

अध्यक्षका लागि अधिकारीसँगै रामकुमार श्रेष्ठ, केदार कार्की र सीताराम केसीले अध्यक्ष पदमा प्रतिस्पर्धा गरेका थिए। 

को–को छन् अध्यक्षका आकांक्षी?
डीएलएको आशन्न महाधिवेशनमा चार जना अध्यक्षका आकांक्षी देखिएका छन्। अध्यक्षका लागि अघिल्लो महाधिवेशनमा उम्मेदवार रहेका सीताराम केसी र केदार कार्की, तेजबहादुर रावल, कलमबहादुर खत्री र महासचिव लक्ष्मी दाहाल (रावल)ले आकांक्षा राखेका छन्। 

कांग्रेसमा देखिँदै आएको समूहअनुसार केसी कांग्रेसका तत्कालीन वरिष्ठ नेता (हाल राष्ट्रपति) रामचन्द्र पौडेलनिकट, रावल, कार्की र खत्री संस्थापन निकट र महासचिव दाहाल नेता प्रकाशमान सिंहनिकट मानिन्छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .