ad ad

राजनीति


गणतन्त्र पछि सबै क्षेत्रमा महिलाको सहभागिता बढ्दो छ : सञ्चारमन्त्री शर्मा

गणतन्त्र पछि सबै क्षेत्रमा महिलाको सहभागिता बढ्दो छ : सञ्चारमन्त्री शर्मा

नेपालखबर
बैशाख २५, २०८० सोमबार २१:३८, काठमाडौँ

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले गणतन्त्र पछाडि सबै क्षेत्रमा महिलाको सहभागिता बढ्दै गएको बताएकी छिन्। मिडिया एड्भोकेसी ग्रुप (म्याग)ले तयार पारेको परराष्ट्र मामिलामा रिपोर्टिङ गर्ने महिला पत्रकारहरूको अवस्थाबारे अध्ययन प्रतिवेदन सार्वजनिक कार्यक्रममा मन्त्री शर्माले यस्तो बताएकी हुन्।

‘गणतन्त्र पछाडि सबै क्षेत्रमा महिलाहरूको सहभागिता बढ्दो छ। सामाजिक बनावट, भोगाइका कारण नै पनि महिलाहरूलाई समस्या छ। यति हुँदाहुँदै पनि राज्यका सबै क्षेत्रमा महिलाहरूको सहभागिता बढ्दो छ। यो सकरात्मक पक्ष हो’, सञ्चारमन्त्री शर्माले भनिन्, ‘महिलाहरू तथा पछाडि परेको समुदायलाई मूलधारमा ल्याउन केही सहुलियत दिनुपर्छ। पुरुषको तुलनामा महिलाहरू पछि परेकै छन्, पत्रकारितामा आउने महिलालाई पेसामा टिकाउने र नेतृत्व विकास गर्नेमा ध्यान दिऔँ। पेसामा टिकिराख्न र प्रतिस्पर्धामा आउन महिलाहरूलाई समस्या छ। यी समस्या हल गर्न ध्यान दिऔँ।’ 

सरकारका प्रवक्तासमेत रहेकी सञ्चारमन्त्री शर्माले चार महिना लगाएर अध्ययन गरेर तथ्यका आधारमा छलफल चलाउने प्रयास गरेकामा म्यागलाई धन्यवाद दिँदै भोगाइका आधारमा गरिने अध्ययन पनि यथार्थतामा आधारित हुने बताइन्।

उनले छिटोभन्दा छिटो आमसञ्चार ऐन ल्याउन सकियो भने सबैका लागि महत्वपूर्ण काम हुने बताउँदै मिडिया क्षेत्रको सहयोगले सरकारलाई सहयोग पुग्ने धारणा राखिन्। 

मन्त्री शर्माले पछिल्लो समयमा नकारात्मक प्रवृत्ति र पात्रलाई स्थापित गर्ने हाबी भएको भन्दै राजनीतिभन्दा पनि पत्रकारिता क्षेत्र धेरै महत्वपूर्ण रहेको धारणा राखिन्।

यस्तै, नेपालका लागि अमेरिकी राजदूत डिआर थम्सनले पत्रकारिता धेरै जनताले विश्वास गर्न सक्ने हुनुपर्ने बताए।

‘यस्ता अध्ययन प्रतिवेदनमा कसरी अध्ययन गरिएको छ र अध्ययनका क्रममा कस्ता प्रक्रिया अपनाइएका छन् भन्ने कुराहरू महत्वपूर्ण हुन्छन्। पत्रकारिता धेरै जनताले विश्वास गर्न सक्ने हुनुपर्छ। यस्ता कार्यक्रममा निरन्तर सहयोग गर्ने प्रयास रहन्छ’, राजदूत थम्सनले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .